सञ्चारमन्त्री कार्कीले एकोहाेराे भनिरहे : संविधानले तोकेको समयमा गर्छाैं

|

काठमाडौं : चौतर्फी दबाब भए पनि सरकारले स्थानीय तहको चुनाव बैशाखमा नगर्ने संकेत गरेको छ। मंगलबार बसेको सरकार सञ्चालन समन्वय समितिको बैठकमा समयमै चुनाव गर्न गठबन्धन दलहरू सहमत भएको भनिए पनि समय तोकिएको छैन। 

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको चुनाव गर्ने विषयमा बैठकमा छलफल भएको बताए। त्यसो भए बैशाखमै चुनाव हुन्छ त? भन्ने पत्रकारको प्रश्नमा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले स्पष्ट जवाफ दिएनन्। 

उनले भने, ‘संविधानले तोकेको समयमा हामी स्थानीय निर्वाचन सम्पन्न गरेर संघीयतालाई अझ मजबुद बनाउनेछौँ।’ 

स्थानीय निर्वाचनका विषयमा संविधान र कानुन बाझिएको छ। संविधानको धारा २२५ मा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने उल्लेख छ। तर, स्थानीय तह निर्वाचन ऐनको दफा ३ मा कार्यकाल सकिनु दुई महिनाअघि नै चुनाव गरिसक्नुपर्ने उल्लेख छ। 

निर्वाचन आयोगले कानुनमा टेकेर बैशाख १४ र २२ मा स्थानीय तहको चुनाव गर्न मिति प्रस्ताव गरिसकेको छ। तर, सरकारले भने संविधानमा जोड दिइरहेकाले चुनाव आगामी मंसिर पुग्ने सम्भावना देखिएको हो। 

आजको बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित गराउने विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.