|

जुम्ला : जुम्लामा सञ्चालित तीनवटा सहकारीविरुद्ध उजुरी परेको छ। सहकारीले बचत उठाउने नाममा आफूहरूलाई ठगेको भन्दै ११ जना बचतकर्ता महिलाले उजुरी दिएका हुन्। उनीहरूले सहकारी सञ्चालक र कर्मचारीबाटै ठगिएको बताएका छन्।

जुम्लाको बसपार्कमा रहेको स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सोही ठाउँमा अवस्थित समाज रूपान्तरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ठाकुरज्यु सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

यी तीनवटै सहकारीमा आबद्ध ११ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको  बताए। समाज रूपान्तरणमा आबद्ध बचतकर्ता उमा खत्रीले भनिन्, ‘हामी जस्ता धेरै व्यक्ति ठगिएका छौँ। सहकारीले बचत गर्ने ब्याज दिने भन्दै बचत गर्न लगाए। कसैकसैको बचत पनि १‚ २ लाख पुगेको छ।’

बसपार्कमा अवस्थित स्वजन बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष जनक हमाल, समाज रूपान्तरण सहकारीका अध्यक्ष प्रकाश रोकाया र भोजराज न्यौपाने र ठाकुरज्यू सहकारीका अध्यक्ष तुलाराम न्यौपानेविरुद्ध उनीहरूले उजुरी दिएका हुन्।

उनीहरूले हामी सोझासाझा नागरिकलाई बचतको बहानामा सहकारीले ठगीधन्दा चलाएको भन्दै उजुरी दिएको बताएका छन्।

त्यस्तै संघीयतापछि जिल्ला सहकारी संघ खारेज भएपछि सहकारीको कार्यक्षेत्र हेरेर नियमन गर्ने निकाय तोकिएको छ। कुनै एउटा स्थानीय तहमा सञ्चालन भएको सहकारीको हकमा नियमन गर्ने निकाय स्थानीय तह हो।

जिल्लाभरि कार्यक्षेत्र भएको सहकारीको हकमा सबै स्थानीय तहले नियमन गर्ने पाउँछन्। जिल्लाभन्दा माथि कार्यक्षेत्र रहेका सहकारीको हकमा प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको नियमन गर्ने अधिकार रहेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले सहकारीविरुद्ध बचतकर्ताले उजुरी दिएको बताए।

उनले भने, ‘सञ्चालकलाइ खवर गरेका छौँ।’ प्रहरीले पहिलो चरणमा सहकारीका जिम्मेवारी व्यक्तिलाई छलफलमा बोलाउनेछ।

प्रहरी नायब उपरीक्षक चन्दले सहकारीबाट नागरिक ठगिएको बारेमा उजुरी परेकाले प्रहरीले गम्भीरतापूर्वक हेर्ने बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.