|

काठमाडौं : नेपाल राष्ट्रिय शिक्षक संगठनले राहत शिक्षकलाई शिक्षक सेवा आयोगको परीक्षामा उमेरको हद नलगाउन माग गरेको छ।

शिक्षक सेवा आयोगले शिक्षकहरुको स्थायी पदपूर्तिको लागि गरेको विज्ञापनमा वर्षौंदेखि राहत अनुदान तथा करारमा कार्यरत शिक्षकलाई उमेरको हद नलगाउन संगठनले माग गरेको हो।

मंगलबार विज्ञप्ति प्रकाशित गर्दै संगठनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ। वर्षौंदेखि राहत अनुदान तथा करारमा कार्यरत शिक्षक उमेर हदका कारणले स्थायी पदपूर्तिका लागि हुने प्रतिस्पर्धामा आवेदन गर्न नपाउने अवस्था आउन नदिन प्रभावकारी पहलका लागि मन्त्रालयको ध्यानाकर्षण गराइको संगठनले जनाएको छ।

संगठनले विगतमा शिक्षक महासंघ र नेपाल सरकारबीच भएको सहमतिमा कार्यरत सबैखाले शिक्षकलाई आयोगको परीक्षामा सामेल हुन उमेरको हद नलाग्ने भन्ने बुँदा उल्लेख भएको स्मरण गराउँदै शिक्षा ऐनमा भएको बाधक बुँदा संशोधन गरी आयोगले निर्धारण गरेको आवेदन गर्ने म्यादभित्रै सो व्यवस्था मिलाउनको लागि मन्त्रालयको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.