|

पर्वत : पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा अन्तिम चरणका लागि १२ नाटक छनोट भएका छन्।

महोत्सवको लागि प्राप्त २४ नाटकमध्ये पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो।

छनोट भएका १६ नाटकबाट अन्तिम चरणका लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजकसमेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।

‘नाटक छनोटका लागि पुस २६ गतेदेखि माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो,’ उनले भने, ‘यसअगाडि अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिए पनि नाटकको प्रस्तुतिका आधारमा थप दुई नाटकलाई प्रोत्साहनस्वरूप छनोट गरिएको छ।’

नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा ३ सदस्यीय निर्णायक समिति बनाइएको थियो। सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन थिए।

उनीहरूले सम्बन्धित ठाउँमा पुगेर नाटकको अवलोकन गरी उत्कृष्ट १२ छनोट गरेका हुन्। अन्तिम चरणको लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै ३ नाटक छनोटमा परेका छन्।

जसमा लीलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी आधारभूत विद्यालयको ‘हराएको खुसी’, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माविको ‘जिम्मेवार कोरु’ र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माविको ‘सक्षम छात्रा’ शीर्षकको नाटक रहेका छन्।

कास्की जिल्लाबाट २ नाटक छनोटमा परेका छन्। जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवासिय माविको ‘शान्तिको अशान्ति’ र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको ‘आरोह अवरोह’ शीर्षकका नाटक रहेका छन्।

लमजुङ जिल्लाबाट २ नाटक छनोट भएका छन्। जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको ‘धनबहादुर’ शीर्षकको नाटक र सूर्यबहादुर केसीको लेखन तथा पशुपति न्यौपानेको निर्देशनमा विद्याज्योति मावि सुन्दरबजारको ‘जिउँदा लासहरू’ शीर्षकका नाटक छन्।

तनहुँ जिल्लाबाट टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माविको ‘नाम बिनाको चिर्कटो’, गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटाको नाट्य रूपान्तरण एवं निर्देशनमा शक्ति माविको ‘एक समर्पित छोरा’ छनोट भएका छन्। 

यसैगरी म्याग्दीबाट कर्ण बस्यालको लेखन र रामचन्द्र पौड्यालको निर्देशनको बेनी सामुदायिक माविको ‘बाल विवाह, बागलुङ जिल्लाबाट कालीगण्डकी आवासीय माविको ‘विदेसिनु पर्दाको पीडा’ शीर्षकको नाटक छनोट भएको छ। उक्त नाटक जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा तयार भएको छ।

पर्वत जिल्लाबाट न्यु होराइजन आवासीय माविको ‘मेरो समाजमा नारी’ नाटक छनोटमा परेको छ। मिना रेग्मीले लेखेको नाटकलाई रेजिना मल्लले निर्देशन गरेकी छिन्।

छनोट भएका नाटक मञ्चन हुने मिति भने पछाडि सरेको छ।

यसअगाडि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने भनिएकोमा कोरोना सङ्क्रमण फेरि बढेकोले सारिएको हो।

परिस्थिति सहज हुने बित्तिकै नयाँ मिति तय हुने आयोजक पोखरा थिएटरले जनाएको छ।

‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ मूल मन्त्रसहित आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एवं नेपाल सङ्गीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाडौं र पोखरा प्रज्ञा–प्रतिष्ठान पोखराले सहकार्य गरेका छन्।

गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो।

त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सवसमेत आयोजना गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.