|

पर्सा : पुस महिनाभर खासै चिसो नभएको यो हिउँदमा माघ लागेदेखि मध्य तराईको जनजीवन प्रभावित भएको छ। कोरोनाको तेस्रो भेरियन्टका रूपमा बढेको ओमिक्रोन भाइरसको चापसँगै मध्य तराईमा चिसोको चाप पनि नराम्ररी बढेको हो।

पुस महिनाको भन्दा अधिक चिसो बढेका कारण काम विशेषले घरबाहिर निस्कन पर्ने र दैनिक रोजगारी तथा ज्याला मजदुरी गरी आफू र परिवारको खर्च जुटाउने सर्वसाधारण निकै सास्ती भोगिरहेका छन्।

पुसमा स्थानीय समाजसेवी र पालिकाहरूले पनि चोक चौराहामा आगो बालिदिने र विपन्नलाई न्यानो कपडा वितरण गरिए पनि माघको अधिक चिसो र शीतलहरमा गरिब तथा विपन्न वर्गका मानिस निकै कष्ट भोग्न बाध्य छन्।  

अस्पतालमा पनि चिसोका विरामी बढे

चिसोबाट प्रभावित भएर उपचारका लागि अस्पताल आइपुग्ने विरामीको संख्या पनि ह्वात्तै बढेको नारायणी अस्पतालले जनाएको छ।

चिसोबाट खास गरी वृद्धवृद्धा, बालबच्चा र गर्भवती महिलाहरू पनि अस्पतालमा आइरहेको नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिंहले बताए।

चिसोका कारण मात्र विरामी परेर दैनिक १०–१५ जना जति विरामी आइरहेको उनको भनाइ छ। पहिले यो संख्या ३‚ ४ जना जति मात्र थियो।

‘यस्तो अवस्थामा चिसोबाट बच्न बाहिर काम नपर्नेले सकेसम्म घर बाहिर हिँडडुल नगर्ने, न्यानो कपडा लगाउने, तातो र झोलिलो खाने कुरा बढी खाने, बालबाच्चालाई पनि खुवाउने र बढी ख्याल गर्ने गर्नुपर्छ’, डा. सिंहले भने।

चिसोले खोकी लाग्ने घाँटी र छातीमा गाह्रो बनाउने हुँदा ३ दिनदेखि ५ दिनसम्म पनि निको नभए चिकित्सकको परामर्श लिन ढिलो गर्न नहुने उनको सुझाव छ। 

उस्तै लक्षणका कोभिड संक्रमित पनि दैनिक ६० प्रतिशतभन्दा बढी थपिदै
कोभिडको तेस्रो भेरियन्टको पनि लहर ह्वात्तै बढेर परीक्षण गराएका मध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित यसै क्षेत्रमा फेला परिरहेका छन्।

उस्तै लक्षणका कोभिड संक्रमित र चिसोका विरामी पनि ह्वात्तै बढ्दा केही दिनयता अवस्था निकै गाह्रो भइरहेको नारायणी अस्पतालको कोभिड संयोजक समेत रहेका डा. सिंहले बताए।

कोभिडको पनि सोमबार परिक्षण गराएका ५३ जनामध्ये ३६ जनामा संक्रमण देखिएको उनको भनाइ छ।

कोभिड संक्रमितलाई घाँटीमा समस्या

यो पटक कोभिडको लक्षण घाँटीमा क्याप्प समात्ने, दुख्ने, बोल्न र खान अप्ठ्यारो बनाउने अनि ज्वरो आउने र जिउ दुख्छ। पहिलेजस्तो निमोनियाको सिकायत चाहिँ देखिएको छैन।

नारायणी अस्पतालमा परीक्षण गराएका पछिल्लो भेरियन्टबाट संक्रमति हुने करिब २ सय बिरामीमा एकजनामा मात्र निमोनिया पाइएको कोभिड संयोजक डा. सिंहले बताए।

कोभिडको संक्रमणले भने ३ दिनदेखि ७ दिनसम्म सताइरहेको पाइएको छ। घाँटीमा अलि समस्या भए हरेकले चिकित्सकको परामर्श लिन ढिलो गर्न नहुने पनि डा. सिंहको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.