माँसिदै बाघको बासस्थान

|

बारा : चितवन-पर्सा कम्प्लेक्स अन्तर्गतको तेस्रो ब्लकमा बाघ गणना सुरु भएको छ। माघ ४ देखि सुरु भएको गणना माघ २२ गतेसम्म रहने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले जानकारी दिए।

गणनाका लागि क्यामरा राख्ने र खटिने प्राविधिकलाई तालिम समेत दिइसकेको प्रमुख लामिछानेले बताए। निकुञ्ज र डिभिजन वनको कर्मचारीसहित ७ देखि ८ जनाको ११ समूह सोमबारदेखि फिल्डमा खटिएका छन्। क्यामरा जडानको काम मंगलवारदेखि शुरु भएको उनले बताए।

‘चितवन—पर्सा कम्प्लेक्स अन्तर्गतको तेस्रो ब्लकमा बाघ सर्वेक्षणका लागि क्यामरा राख्ने काम मंगलबारदेखि सुरु भएको छ,’ डा. लामिछानेले भने, ‘पर्सा निकुञ्ज, मध्यवर्ती क्षेत्र, बारा, पर्सा मकवानपुर र रौतहटको राष्ट्रिय वनको भूभागमा एकैसाथ ३२१ जोडी क्यामरा जडान गरेर बाघ सर्वेक्षण काम सुरु हुन्छ। माघ २२ सम्म बाघ गणना सक्ने हाम्रो लक्ष्य छ।’

पर्सामा खटिने सर्वेक्षण टोलीले यसअघि चितवनमा बाघ गणना गरिसकेको छ। पर्सा निकुञ्जमा बाघको उपस्थिति पहिलाभन्दा राम्रो रहेको लामिछानेले बताए। यसपटक पनि क्यामरा ट्यापिङ विधिबाट बाघ गणना गरिए पनि पछिल्लो समय दिसालाई ल्याबमा परीक्षण गरेर पनि गणना गर्न सकिने लामिछानेको भनाइ छ।

सन् २००९ मा पहिलो पटक भएको राष्ट्रिय बाघ सर्वेक्षणमा चारवटा मात्रै बाघ रहेको  पर्सा निकुञ्जमा सन् २०१३ मा ७ र २०१८ मा १८ वटा पुगेको थियो। जसमध्ये ९ वटा वयस्क पोथी बाघ थिए। अगामी माघ २२ सम्म हुने सर्वेक्षणमा यो संख्या उल्लेख मात्राले बढ्ने विज्ञहरुले अनुमान गरेका छन्।

यस पटक राष्ट्रिय बाघ सर्वेक्षण मंसिर १९ गते चितवनबाट सुरु गरिएको हो। सन् २०१० मा बाघ पाइने देशका प्रमुखहरुको रुसमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा  नेपालले २०२२ सम्म बयस्क बाघको संख्या २५० पुर्‍याउने लक्ष्य राखेको थियो। यसअघिको सर्वेक्षणमा नेपालमा बाघको संख्या २३५ रहेको उल्लेख छ। उक्त संख्या नघटेकाले लक्ष्यमा पुग्ने लामिछाने बताउँछन्। अहिले पर्सा निकुञ्ज सहित बाँके, बर्दिया क्षेत्रमा बाघ गणना भइरहेको छ।

माँसिदै बाघको बासस्थान

बाघको संख्यामा उल्लेख्य वृद्धि भए पनि बासस्थान क्षेत्र भने बर्सेनि माँसिदै गएको छ। पर्सा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र राष्ट्रिय वन क्षेत्र हुँदै बगेका राप्ती, मनहरी, बालगंगा, बकैया, पसाहा, धन्सार खोलामा अवैध ढंगले सञ्चालन भएका क्रसर र बालुवा उद्योग र जथाभावी खोला उत्खनन्का कारण बाघको बासस्थान मासिँदै गएको विज्ञहरु बताउँछन्।

वन क्षेत्रभित्र निर्माण भएका धार्मिक स्थल र मानवीय अतिक्रमणका कारण वन जंगल, वन्यजन्तु सँगसँगै वनको भूभाग संरक्षण हुन नसक्दा बाघको बासस्थान मासिदँै गएको हो।

प्रमुख लामिछानेका अनुसार बाघको लागि मुख्य रुपमा सुरक्षित क्षेत्र, प्रसस्त मात्रामा आहार र सुरक्षा आवश्यक हुन्छ। निकुञ्जभित्र यी कुरा राम्रो देखिए पनि निकुञ्जबाहिरका वन क्षेत्रहरुमा आहाराको कमी र मानवीय क्रियाकलापले बाघको लागि समस्या सिर्जना गरेको उनको भनाइ छ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पछिल्लो समय बाघको संख्या बढे पनि बासस्थानको अभावले बाघ सडक र बस्तीमा निस्कने गरेको छ। गत वर्ष पथलैया—अम्लेखगञ्ज सडक खण्डमा एक बयस्क पोथी बाघ गाडीको ठक्करबाट मरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.