|

काठमाडौं : मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसहरूमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ। यससँगै कोरोनको पछिल्लो भेरियण्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ।  आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो कि कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन्।

यसले अस्पतालमा दैनिक रूपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ। कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ।

अल्का अस्पतालकी चिकित्सक डा रक्षा गौतमसँग मौसमी रुघाखोकी, कोभिड संक्रमण र ओमिक्रोनको विषयमा केन्‍द्रित रहेर न्युज एजेन्सी नेपालले लिएको संवादको सम्पादित अंश :

अहिले अस्पतालहरूमा मौसमी रुघाखोकीको बिमारीको चाप कस्तो छ?

मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरूको चाप धेरै बढेको छ। गत दुई हप्तादेखि हाम्रो ओपिडिमा बिरामीको चाप तीन, चार गुणाले बढेको छ।

एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आइरहनु भएको छ।

लक्षणका आधारमा आम सर्वसाधारणले ओमिक्रोन र मौसमी रुघाखोकी कसरी छुट्याउने? कस्तो अवस्थामा पिसिआर गर्ने?

मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चिसोले हुने रुघाखोकी) हो, कमन कोल्डको  बेसिक लक्षण छुट्याउने  एकदम सजिलो तरिका भनेको ज्वरो हो। यो  धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरूमा ज्वरो आउँदैन।

सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफैँ ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरूलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ।

फ्लु भनेको चाँहि जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो। इन्फ्लुयन्जा र कोभिड फ्लुमा चाहिँ हामीले प्रायः ज्वरो पनि देख्छौँ। ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु पर्‍यो। फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहिँ अलिकति गाह्रो छ।

फ्लु भएकाहरूलाई, इन्फ्लुयन्जा भएकाहरूलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, जिउ दुख्ने, झाडापखाला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहिँ कोभिडमा मात्रै देखिरहेको छ। बास्ना र स्वाद पनि गएको हामीले यसपालि पाएका छौँ। र अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरूमा प्लस, माइनस, तथा घाँटी दुख्ने लक्षणहरू अलि बढी हामीले ओपिडिमा पाइरहेका छौँ।

घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ। तर, अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघामर्की लाग्दैमा स्वाद हराउँदैमा यही ओमिक्रोन हो, यही डेल्टा हो इन्फ्लुयन्जा हो भनेर हामीले छुट्याउन सकिदैनँ, पिसिआर गर्नैपर्छ।

मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने? कस्तो अवस्थामा अस्पताल जाने? घरमै बसेर उपचार गर्न सकिन्छ कि?

मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन। त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधिहरू प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरू मन तातो पानि खाने, पानीको मात्रा शरिरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिड्ने त्यो चाहीँ मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ।

ज्वरो आएपछि यो फ्लुमा जान्छ। फ्लु भन्नेबित्तिकै मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो। फ्लु भनेको भाइरसले गर्दा हुने हो। फ्लुमा चाहिँ ज्वरो पनि आउँछ।

दुई, तिन दिन ज्वरो आउँछ। प्रायः हामीले बिरामीलाई तीन दिनसम्म ज्वरो आएको पाएका छौँ। तिन दिन पछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ। सामान्य पारासिटामोल आफैँले खाइराख्नुभएको छ बिरामीहरूले।

तीन दिनभन्दा बढी ज्वरो आइरहेमा, ज्वरो १०२, १०३ भन्दा नघटेमा, सिटामोलको प्रयोग गर्दा पनि ज्वरो नघटेमा, जिउ दुखिरहेमा, छाती भारी भइराखे, खोकी बढिराखे, पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेमा, पटक्कै खाना खान मन नभएको र एकदमै विक भएको अवस्थामा तुरुन्तै ओपिडी ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु।

यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरबाही कस्तो हो? त्यसलाई कसरी व्यवस्थापन गर्ने?

हाम्रोमा दुईथरी बिरामी हुनुहुन्छ। एकथरी रुघा लाग्नेबित्तिकै आउनुहुन्छ। त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन। काउन्सिलिङ गर्दिन्छौँ। रेष्टले नै निको हुन्छ आधाभन्दा बढी यो। फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस्।

कति चाहिँ कस्तो हुन्छ भने धेरै गाह्रो भइसक्दा पनि आउनु भएको छैन उहाँहरू अस्पताल। श्वासप्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानु भएको छैन। दीर्घरोग लागेका बिरामीहरू हुनुहुन्छ। घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नुहोला।

अस्पताल आउनुस्, डाक्टरले हेर्नुहुन्छ, छातीको एक्सरे गर्नुहुन्छ। निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ। निमोनिया भएको बिरामीहरूलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु।

संक्रमणमा हाम्रो अस्पतालहरूमा कस्तो किसिमको स्वास्थ्य उपचारको व्यवस्था छ?

कोभिड आएदेखि हामीले पोजेटिभ बिरामीहरूलाई राख्ने एउटा अलग व्यवस्था गरेका छौँ। नेगेटिभ बिरामीलाई राख्ने अलग व्यवस्था छ। लक्षणहरू सबै मिल्छ कोभिडसँग तर आरटी पिसिआर गर्दा नेगेटिभ आयो भने उहाँहरूलाई अलग राख्ने व्यवस्था छ। सबै पोजेटिभ बिरामीहरूलाई भर्ना गर्ने हामीले गरेका छैनौँ।

हामीलाई शंका लागेमा बिरामीलाई भर्ना गरेर दुई, चार दिन उहाँहरूलाई क्रिटिकल केयर तथा छाती विशेषज्ञ र फिजिसियन हामी तीनजनाको टिम मिलेर क्लोज अब्जरभेसनमा राखेर उपचार गरिराखेका छौँ।

पहिला पहिलाको जस्तो महामारी जुन थियो त्यस्तो अवस्था आएको छैन। त्यतिबेलाको भन्दा अहिलेको व्यवस्थापन त्यतिबेलाको जस्तो बेग आउँछ भनेर हामीले जुन तयारी गर्‍यौँ मानसिक रुपमा, अस्पतालको व्यवस्थापनमा जुन हिसाबले तयारी भएर बस्यौँ त्यो कारणले गर्दा यसपालि व्यवस्थापनमा त्यति असहजता छैन।

अन्त्यमा, विशेषज्ञको रूपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि केकस्तो सुझाव दिनुहुन्छ?

सुझाव म के दिन चाहन्छु भने पहिले सुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनैपनि भेरियन्ट होस् हामीले पिसिआर गरेर छुट्याउन सक्दैनौँ। यो जनमानसमा गलत धारणा कि डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने छ।

हामीले बिरामीको लक्षण हेरेर तपाईहरूलाई भन्न सक्दैनौँ। पिसिआरको रिपोर्टमा जुन सिटी भ्यालु लेखेको हुन्छ, मेरो त मेरो कम छ उहाँको बढी छ मलाई अलि गाह्रो हुने हो कि, हामीलाई त्यसको आधारमा बिरामीलाई गाह्रो हुन्छ।

पिसिआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिँदैन। ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ।

ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो। रोगीहरूको प्याटर्न त्यही हो। कतिबेला निको हुन्छ, कति बेलादेखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ आउनुहोला ओपिडिमा।

पहिला पहिलाको वेभजस्तो आइसियु, बेडको अभाव, अक्सिजनको अभाव छैन। त्यसो भन्दैमा बेपर्वाह हुनुभएन। ओमिक्रोन हो केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा। ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामीहरू नराम्रो अवस्थामा गएको पनि हामीले देख्या छौँ।

त्यही भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भिडभाड नगर्न अनुरोध गर्दछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.