|

दाङ :  तुलसीपुर उपमहानगरपालिकाले राजस्व सुधार कार्ययोजना गरिएको छ। राजस्व विज्ञको परामर्शमा ४ वर्षलाई प्रक्षेपण गरेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ।

राजस्व परिचालन क्षमताका आधारमा स्रोतहरूको सम्भाव्यता, जनताको कर तिर्नसक्ने क्षमता र उपमहानगरले राजस्व प्रशासनको समष्टिगत विश्लेषण गरी सुधारका उपायहरू पहिचान गर्दै राजस्वमा अभिवृद्धि गर्ने उद्देश्यले  राजस्व सुधार कार्ययोजनाको नीति अघि सारिएको  उपमहानगरका राजस्व शाखा प्रमुख भेषराज चन्दले बताए।

उनले कार्ययोजनालाई टेकेर अघि बढेमा आर्थिक वर्ष २०८१-८२ मा २ अर्ब ६२ करोड, ३० लाख २३ हजार बढी राजस्व संकलन गर्न सकिने प्रक्षेपण गरिएकाले अत्यन्तै वैज्ञानिक र व्यावहारिकसमेत बताए। 

सुधार कार्ययोजनामा करका क्षेत्र, उपमहानगरमा राजस्व असुलीको वर्तमान अवस्था, राजस्व परिचालनका सन्दर्भमा विद्यमान नीति र संस्थागत संरचना,  जनशक्ति, विगतको राजस्व (आय) परिचालन अवस्था, उपमहानगरको राजस्वको सम्भाव्यता, वर्तमान आन्तरिक आयका आधार, दर र प्रशासकीय संरचनाको जिम्मेवारीसमेत स्पष्ट हुने गरी विश्लेषण गरिएको छ।

त्यस्तै, लक्ष्यअनुसार राजस्व सङ्कलनका लागि वडाध्यक्ष र वडा सचिवहरूको तत्परता आवश्यक हुने मेयर घनश्याम पाण्डेले बताए। उनले राजस्व चुहावट हुँदा विकास निर्माणका कामहरू प्रभावित हुने भन्दै लक्ष्य अनुसार अघि बढ्नसमेत आग्रह गरे ।

त्यसैगरी, उनले उपमहानगरको प्रयासले मात्रै सम्भव नहुने भएकाले राजस्व वृद्धिका लागि सबै घडाहरू जिम्मेवारी बोधका साथ लाग्नु पर्ने बताए।

त्यस्तै, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले कर असुली मात्रै भन्दा पनि करको दायरा फराकिलो बनाउने योजनाका साथ अघि बढ्न पर्ने भन्दै कर निर्धारण गर्दा व्यवसायीहरूसँग पनि छलफल गर्नुपर्ने बताए। उनले  विज्ञापन कर र सरसफाइ कर व्यवसायीसँग समन्वय नगरेर ल्याएको भन्दै यसलाई  पुनर्विचार गर्न माग गरे।

 उपमहानगरले चालु आर्थिक ०७८-०७९ मा ६० करोड राजस्व सङ्कलनको लक्ष्य लिएको पुस मसान्तसम्म ११ करोड मात्र संकलन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.