|

सोलुखुम्बु : चार महिनादेखि बेपत्ता एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजी गर्न प्रहरी टोली परिचालन भएको छ। प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली मंगलबारदेखि परिचालन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

दुईजना विज्ञ (आरआइटी) र दुईजना प्रहरीसहित ४ जनाको टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको बताइएको छ।

सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी असोज ८ गते बेपत्ता बनेपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए।

लघुवित्तको मासिक बैठक सञ्चालनका माप्य दूधकोशी–७ को सोलाबनबाट हाकुला झर्ने क्रममा बेपत्ता बनेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको उनको भनाइ छ।

सम्पर्कविहीन बनेको खबर पाउनासाथ प्रहरी र स्थानीयले खोजे पनि अहिलेसम्म उनको अवस्था थाहा नभएकाले विज्ञ टोली परिचालित गर्नुपरेको प्रनाउ कटवालको भनाइ छ। उक्त टोलीको रिपोर्टपछि सिआइबीको टोली परिचालन गरिने बताइएको छ।

प्रनाउ कटवालका अनुसार असोज ८ गते अपराह्न ४ः२२ मा साथीलाई सन्देश पठाएको र ४ः२५ देखि मोबाइल अफ भएको छ।

मासिक बैठक सञ्चालनका लागि माप्यदुधकोशी–६ र ७ वाकुमा दुईजना कर्मचारीसँगै गए पनि सोलाबनबाट हाकुला झर्नेेक्रममा एक अर्का छुट्टिएपछिको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ।

कसरी हराइन् मनकुमारी ?

एनएमबी लघुवित्त वित्तीय संस्थाका अनुसार हरेक महिनाको ७ गते बिहान माप्यदुधकोशी गाउँपालिका–७ हाकुलमा मासिक बैठक सञ्चालन हुन्छ।

मनकुमारी सँगै उक्त बैठक सञ्चालनका लागि वाकु गएकी कमला बस्नेतका अनुसार असोज ६ गते बुधबार उनीहरू वाकु पुगेका छन्। उनका साथमा ४ लाख १२ हजार रुपैयाँभन्दा बढी रकम रहेको बताइएको छ।

‘७ गते बिहान हाकुलामा बैठक सकेर सोलाबनमा पनि बैठक सञ्चालन गर्न दुवैजना पुग्यौँ’, कमलाले भनिन्, ‘बेलुका सोही गाउँका एकजना शेर्पा दाइकोमा वास बस्यौँ र भोलिपल्ट असोज ८ गते फेरि हाकुला फर्किदै गर्दा मनकुमारीले खास्बरी दिदीकोमा किस्ता लिन जान्छु भनेर बीच बाटोबाट तल झर्नुभयो।’

७ गते रातिदेखि आफू विरामी परेको कमलाले बताइन्।

‘म बिरामी भएकाले भीम दाइकोमा आउँदै थिए, ४ः२२ मा मनकुमारीको म्यासेज आयो भीम दाइकोमा गएर बस्दै गर्नु है भन्ने’, कमलाले भनिन्, ‘मनकुमारी तलबाट आउनुहुन्छ भन्ने लाग्यो म भीम दाइकोमा गएर बसेँ तर आउनु भएन । मलाई गाह्रो भएर घर जान बाइक भनेँ, त्यो वेला सात बज्न लागेको थियो। उहाँलाई फोन गर्दा अफ थियो।’

मनकुमारीको मोबाइल अफ भएपछि गाउँमा हल्लाखल्ला भएको कमलाको भनाइ छ। आफूलाई स्वास्थ्यमा समस्या भएकाले बाइक बोलाएर घर हिँडेको भए पनि बीच बाटोबाट प्रहरीले फर्काएको उनको भनाइ छ।

प्रहरीलाई अनुसन्धानमा चुनौती

घटनास्थलको अवस्था, मनकुमारीले प्रयोग गरेको मोबाइल नम्बर, फेसबुक म्यासेज लगायतलाई आधार मान्दा घटनाबारे आजसम्म कुनै पनि प्रमाण जुट्न नसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक कटवालका अनुसार कमला बेपत्ता भएको क्षेत्रमा कुनै विशाल जंगल, खोला र भीर समेत छैन। स्थानीय बासिन्दा भीमराज राईका अनुसार त्यस वरपर प्रहरीसहित गाउँले सबैले लगातार खोजी गरे केही पनि फेला परेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.