|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलिया विश्वकप छनोटको महत्वपूर्ण खेलमा आगामी महिना प्रतिस्पर्धा गर्दै छ। टी-२० फर्म्याटको यो प्रतिस्पर्धामा नेपाल आफूलाई दाबेदार बनाउने प्रयासमा छ।

त्यसकै लागि पुवुदु ब्याटिङ लाइन अपको सुधारमा रहेका थिए। जसअनुसार उनले शुक्रबार नेपाली टिमको घोषणा गर्दा केही नयाँ अनुहारलाई सोझै राष्ट्रिय टिममा छनोट गरे। त्यसो त प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीले पुनरागमन गर्दा नयाँ खेलाडीले समेत अन्तिम १६ मा स्थान बनाए।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्ने यी खेलाडी

घोषित टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट  प्रदर्शन गरेका युवा खेलाडी लोकेश बम तथा विवेक यादवले सोझै अन्तिम १६ मा स्थान बनाउँदा यी दुई खेलाडीले आफूलाई राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाउन सफल भए।

एपिएफको प्रतिनिधित्व गरेका बमले प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लवविरुद्ध १४ बलमानै अर्धशतक प्रहार गर्दै अविजित ६६ रन बनाएका थिए।यस्तै, बागमतीविरुद्ध २१ बलमा अर्धशतक बनाएका उनी विष्फोटक ब्याट्सम्यानको छवि बनाउन सफल भए।

उमेर समूहमा बमले राष्ट्रिय टिमका लागि खेले पनि राष्ट्रिय टिममा भने पहिलो पटक स्थान बनाउँदै छन्।

त्यसो त प्रदेश-२ बाट खेलेका विवेक यादव घरेलु क्रिकेटमा ब्याग टु ब्याग राम्रो प्रदर्शन गर्दै आएका छन्। फास्ट बलिङसँगै अलराउन्डरको छवि बनाएका यादवले प्रधानमन्त्री कपमा ४ खेलमा ८७ रन बनाएका थिए भने ५ विकेटसमेत लिए।

गत वर्ष एभरेस्ट प्रिमियर लिगमा शानदार ब्याटिङ गरेका यादवले ५ इनिङमा १ सय १६ रन बनाएका थिए।

त्यस्तै, पवन सराफ,  सुशन भारी,  विक्रम सोब,  रोहित पौडेल,  गुल्सन झा, सागर ढकालले पनि प्रधानमन्त्री कपमा आफ्नो छवि कायम राख्दा राष्ट्रिय टिममा स्थान बनाए।

जसले पुनरागमन गरे

लामो समय राष्ट्रिय टिमबाट बाहिर रहे पनि प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका एपिएफका ओपनर प्रदीप ऐरी तथा आर्मीका फास्ट बलर जितेन्द्र मुखियासँगै शरद भेषवाकरले अन्तिम १६ मा पुनरागमन गर्न सफल भए। ऐरीले प्रतियोगितामा ६ खेलमा ५४.२५ को औसतमा २ अर्धशतकसहित २ सय १३ रन बनाए। उनी सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा रहे। ऐरीले २०१९ पछि राष्ट्रिय टिममा पुनरागमन सम्भव बनाए।

जितेन्द्रले २०१५ पछि पुनरागमन गरे। उनले आर्मीको तर्फबाट  प्रतिनिधित्व गरेका मुखियाले ४ खेलमा ७ विकेट लिएका थिए। शरद भेषवाकरले ६ इनिङमा ६ विकेट लिएका थिए भने उनको ब्याटिङ भने कमजोर रहेको थियो।

उनले ४६ रन मात्र बनाएका थिए। समग्रमा उनले अलराउन्डरको अभाव पूरा गर्ने विश्वास लिएको छ।

घोषित १६ सदस्‍सीय टिम

सन्दीप लामिछाने,  कुशल भुर्तेल,  आसिफ शेख,  दिपेन्द्र सिंह ऐरी,  ज्ञानेन्द्र मल्ल,  शरद भेषवाकर,  आरिफ शेख,  कुशल मल्ल, विवेक यादव,  प्रदीप ऐरी,  लोकेश बम,  करण केसी,  अविनाश बोहरा,  कमल सिंह ऐरी,  जितेन्द्र मुखिया र शाहब आलम छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.