|

बैतडी : कोरोना संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि बैतडीमा उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ उच्च जोखिम रहेको छ।

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण बढेकाले त्यसको प्रभाव यहाँ पनि परेकाले सतर्कता अपनाइएको जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन समिति(डिसिएमसी)ले जनाएको छ।

डिसिएमसीको बैठकले यहाँ स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ र अन्य तयारी थाल्न स्थानीय तहलाई पत्राचार समेत गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

झुलाघाट नाकामा कोरोना परीक्षण जारी रहेकाले भारतबाट फर्किएर संक्रमण देखिएकाहरूका लागि आइसोलेशन र  होल्डिङ सेन्टर बनाउने निर्णय गरेको छ।

सार्वजनिक यातायातमा लामो दूरीका यात्रुको एन्टीजेन परीक्षण गर्ने, क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुले मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानीटाइजरको व्यवस्था गर्ने, चालक र सहचालकले अनिवार्य फेस सिल्ड लगाउने, सवारीसाधन दैनिक निसंक्रमण गर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने जनाइएको छ।

यस्तै यहाँ रहेका सबै एम्बुलेन्स तयारी अवस्थामा राख्ने, स्थानीय तहले क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्ने, संक्रमितको सम्पर्कमा रहेकाहरूको कन्ट्राक्ट ट्रेसिङ गरी कोरोना परीक्षणको व्यवस्था मिलाउने, संक्रमतिको उपचारका लागि व्यवस्था मिलाउने निर्णय भएको छ।

जिल्लाका सरकारी कार्यालयले खोप कार्ड हेरेर मात्रै सेवा दिने, खोपको पहुँचमा सबैलाई पुर्‍याउने, कोरोना संक्रमणको अवस्था आँकलन गर्न घुम्ती परीक्षण गर्ने, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा नहुने, जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय भएको हो।

होटेल तथा रेष्टुराँमा पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न र खोप कार्ड अनिवार्य गरिएको छ।

जिल्ला अस्पताल बैतडीले कोभिड केयर युनिट सेवा दिने जनाइएको छ। बैतडीमा संक्रमणका कारण हालसम्म १९ जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.