संसार जित्ने दाउमा सुनमाया

|

सुर्खेत : कर्णाली प्रदेशको जुम्लामा अहिले पनि बालविवाहको समस्या व्याप्त छ। २०६८ को जनगणनाअनुसार जुम्लामा ६९ प्रतिशत बालबालिकाले बालविवाह गर्ने गर्छन्। कानुन मिचेर कतै परिवारको दबाव त कतै आफूखुसी पनि बालविवाह हुने गरेको छ।

बालविवाहकै कारण सानैमा आमा बन्दा जुम्लाका सयौं किशोरीले अकालमा ज्यान गुमाएका छन् भने धेरैले पढ्दापढ्दै स्कुल छाड्ने गरेका छन्।

अहिले पनि बालविवाहका कारण जुम्लाका हजारौं किशोरी यी र यस्तै समस्याको चंगुलबाट उम्किन सकेका छैनन्। तर एक कोशोरी ! जो आफ्नै बुद्धिले सजिलै यस्ता समस्याको चंगुलबाट उम्कन सफल भइन्।...र त्यसपछि उनलाई आफ्नो मेहनतमा सधैँ सफलता नै सफलता मिलेको छ।

उनी हुन्, अल्ट्रा धाविका सुनमाया बुढा। जुम्ला जिल्लाको पातारासी गाउँपालिका–५ मा जन्मेकी २३ वर्षीया सुनमायालाई परिवारले बाल्यकालमै बिहे गरिदिने योजना बनाएका थिए।

उनी बिहेको प्रस्ताव अस्वीकार गर्दै घरबाट भागिन् तब उनको दैनिकी र कर्म मात्र फेरिएन उनलाई एकपछि अर्को चमत्कारिक सफलता पनि मिल्दै गएको छ।

अल्ट्रा धाविका बन्छु भनेर कल्पना समेत नगरेकी सुनमाया १६ वर्षको उमेर एसएलसी पास भएपछि म्याराथन क्षेत्रमा लागेकी हुन्। अल्ट्रा रेसमा संसार जित्ने सपना बुनेकी उनी विपन्न परिवारमा हुर्केकी हुन्।

सुनमायाले हालै थाइल्यान्डमा सम्पन्न ११० किलोमिटर दूरीको दौड जितिन्। राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका दर्जनौँ म्याराथन प्रतियोगितामा सफलता प्राप्त गरेकी उनले संसार जित्ने सपना देखेकी छन्।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले दुई लाख पुरस्कार घोषणा गर्दै सुनमायालाई प्रदेश सरकार र कर्णाली खेलकुद परिषद्का तर्फबाट सम्मान गरेका छन्।

बाल्यकालमा कुपोषणसँग लडाइँ

सुनमायाको बाल्यकाल निकै दुःखमय बित्यो। उनी परिवारका एक छोरा र सात छोरीमध्ये पाँचौँ सन्तान हुन् । एक वर्षको फरकमै बहिनी जन्मिएपछि उनले आमाको दूध समेत राम्रोसँग खान पाइनन्। सोही कारण उनी दुब्लाउँदै गइन् र कुपोषणको सिकार हुन पुगिन्।

जुम्ला सदरमुकामबाट चार घण्टा पैदल दूरीको पातारासीमा त्यो वेला अस्पताल र सडक विस्तार भएको थिएन।

बाआमा सामान्य कृषक भएकाले उनलाई उपचार गर्न सदरमुकाम लैजाने आँट पनि गर्न सकेनन् र आठ/नौ महिनासम्म घरेलु उपचार विधिबाट सन्चो बनाए।

कुपोषणले थला परेकी सुनमाया बाँच्छिन् भन्ने गाउँले र परिवारले कल्पनासमेत गरेका थिएनन्। बल्लतल्ल भाग्यले बाँचेकी सुनमाया अहिले परिवार र गाउँको मात्रै होइन, देशकै हीरा बनेर संसारमा चम्किरहेकी छन्।

उनी भन्छिन्, ‘म साउनको महिनामा बिरामी परेर थलिएकी रहेछु। त्यो वेला कसैले यो केटी अब मर्न थालिसकी भन्दा म साउने संक्रान्ति मनाएर मर्छु भन्थे रे। भाग्यले बाँचेर यो ठाउँसम्म पुग्नु लेखेको रहेछ।’

हालै थाइल्यान्ड बाई युटिएमबी जितेपछि अन्तरराष्ट्रिय चर्चा पाइरहेकी सुनमायाका लागि सुरुमा गाउँबाट जुम्ला सदरमुकाम र सुर्खेत पुग्नु नै सपना थियो।

काठमाडौँ अनि देशविदेश त उनको कल्पनामा पनि आउँदैनथ्यो। बाल्यकालमा कुपोषण जितेकी सुनमायाले दोस्रो लडाइँ कर्णालीको सामाजिक परिवेशसँग लड्नुपर्‍यो।

उनका दिदीहरूले स्कुल जाने अवसर कहिल्यै पाएनन् तर आमाबुबाले सुनमायालाई भने स्कुल पठाए। त्यही स्कुल उनका लागि कर्णालीको सामाजिक परिवेशसँग लड्ने र भविष्यको सपना देख्ने पहिलो मैदान बन्यो।

बिहेको प्रस्तावले मोडिएको गन्तव्य

उमेरले विस्तारै हुर्किदै गएकी सुनमायाले १६ वर्षमा एसएलसी पास गरिन्। एसएलसीपछि घरमा आमाबाले बिहेका लागि प्रस्ताव गर्न थाले।

सामाजिक परम्परागत धारणाअनुसार आमाबाले बिहेको प्रस्ताव गरेका हुन् तर त्यो कुरा सुनमायाका लागि स्वीकार्य थिएन। सुनमायाले आमाबाका कुरा सजिलै नकार्न पनि सकिनन् र स्विकार्न पनि सकिनन्।

त्यो वेला उनले जुम्ला बजारमा ओलम्पियन हरिबहादुर रोकायाले प्रशिक्षण दिनेबारे थाहा पाएकी थिइन्। उनले जुक्ति निकालिन्। 

‘बजार जान्छु साँझ आउँछु भनेर घरमा सबैलाई ढाँट्दै भागेर धावक रोकायालाई भेट्न गएँ। उहाँलाई समेत प्रशिक्षण लिन चाहेको तर घरमा बिहेको प्रस्ताव आएकाले भागेको पनि बताएँ’, सुनमायाले भनिन्, ‘धावक रोकायालाई मेरो कुराले छोएछ। उहाँले आफ्नै घरमा कोठा दिनुभयो र कर्णाली स्पोर्टस् क्लबमा भर्ना पनि गरिदिनुभयो। त्यसपछि नियमित प्रशिक्षण लिन थालेँ।’

गरिबीका कारण प्रशिक्षणको क्रममा सुनमायालाई पौष्टिक खाजा खाने पैसा समेत हुन्नथ्यो। 

यता छोरीले बिहे अस्वीकार गर्दै पढ्छु भनेपछि सुनमायाका बुबाको पनि मन छोयो। पछि आफैँ आएर सुनमायाका लागि आवश्यक सामान पनि किनिदिए।

गाउँबाट सदरमुकाम आएपछि सुनमाया बिहान प्लस–टु पढ्न थालिन् । दिउँसो दौड अभ्यास गर्थिन्। प्रशिक्षकले कडा अभ्यास गराउँथे।

पढ्न आएकी छोरीले दौड अभ्यास गर्छिन् भन्ने घरमा थाहा थिएन । यसै बीचमा उनी धरानमा भएको १० किलोमिटर दौडमा भाग लिएर तेस्रो पनि भइन्।

‘गाउँमा मेरो बिहेको बारे कुरा काट्दा रहेछन्- धेरै दौडेपछि बच्चा जन्मिदैन। दौडदा दौडदै बूढी भई भने कसैले बिहे गर्दैनन् भनेर घरमा सुनाउँदा रहेछन्। मैले त्यो कुरा झूटो हो, म पछि बिहे गर्छु। त्योभन्दा पहिले पैसा कमाएर घर बनाएर हजुरहरूलाई नयाँ घरमा राख्छु भनेर आमाबालाई फकाएँ।’

पहिलो खेलमै जित, पुरस्कृत हुँदा अचम्भित

सुनमाया ७ कक्षामा पढ्दा पहिलोपटक दौडमा सहभागी भइन्। विद्यालयस्तरीय यो खेलमा पहिलोपटकमै उनी जिल्ला प्रथम हुन सफल भइन्। त्यही वेला हो, उनलाई दौडेर पनि पुरस्कार पाइने रहेछ भन्ने थाहा भएको।

‘मलाई दौडेर पनि पुरस्कार पाइन्छ भन्ने थाहा थिएन। पहिलोपटकमै प्रथम भएर नगद पुरस्कार पाउँमा म अचम्भित भएँ’‚ थाहाखबरसँग उनले भनिन्, ‘पछि विस्तारै सबै कुरा बुझियो। मेहनत पनि बढाउँदै गएँ।’

सुनमायालाई यो जितपछि क्षेत्रीय छनोट खेल्न नेपालगञ्ज जानुपर्ने भयो। उनी पहिलोपटक नेपालगञ्ज पुग्दा आत्तिइन्। नेपालगञ्जमा पनि प्रथम हुँदै उनी एकैपटक राष्ट्रिय स्तरमा छनोट भइन्।

पहिलो प्रयासमै जुनियर च्याम्पियन

राष्ट्रिय खेलमा छनोटपछि पहिलोपटक काठमाडौँ गएकी सुनमायाले सबैलाई उछिन्दै १४ वर्ष उमेर समूहमा म्याराथनमा राष्ट्रपति रनिङ सिल्ड जितिन्। पहिलो प्रयासमै जिल्ला, क्षेत्र हुँदै राष्ट्रियस्तरमा जुनियर च्याम्पियन बनेपछि गाउँभरि उनको चर्चा चुलियो।

स्कुलले पुरस्कारस्वरूप पाँच हजार रुपैयाँ दिएपछि उनको खुसीको सीमा रहेन। राष्ट्रपति रनिङ सिल्ड जितेपछि सुनमायाले नियमित रूपमा यस्ता प्रतियोगितामा भाग लिन थालिन् र जितको यात्रामा ‘ब्रेक’ लागेन।

तयारी म्याराथनको, सहभागी ट्रेल रेसमा

धावक हरिबहादुर रोकायाले सुनमायाको क्षमता पहिचान गरेपछि १० किलोमिटर हुँदै ४२ किलोमिटर म्याराथनका लागि तयारी गराउन थाले। राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरे पनि प्रतियोगिता हुन समय लाग्यो।

त्यसपछि सुनमायाको जीवनको बाटो मोडियो। उनी सन् २०१६ को सुरुवातमा ‘ट्रेल रेस’मा सहभागी हुन काठमाडौँ गइन्। गोदावरीमा भएको १२ किलोमिटरको ट्रेल रेस जित्दै उनले सबैको ध्यान तानिन् तर यति वेलासम्म उनलाई ट्रेल रेसबारे थाहै थिएन।

गाउँमा मेलापात, घाँसदाउरा, उकाली–ओराली गरेकी उनलाई ‘अफ रोड’मा हुने रेसमा दौडन गाह्रो भएन। पहिलो सहभागितामै प्रथम भइन्।

यसपछि उनलाई मनास्लु स्टेप रेस गर्ने मौका मिल्यो। सात दिनमा १७० किलोमिटर दौडिनुपर्ने उक्त रेसमा पनि उनी प्रथम भइन्।

यसपछि उनलाई हङकङ जाने मौका मिल्यो। डिसेम्बर २०१६ मा हङकङको एमएसआइजी लङटाउमा सहभागी हुने पक्का भएपछि उनमा खुसीको सीमै रहेन।

५० किलोमिटरको एमएसआइजी लङटाउमा १८ वर्षमुनिको प्रतिस्पर्धामा उनी एसियातर्फ च्याम्पियन भइन्। पहिलो प्रतिस्पर्धालाई नै उनले स्मरणीय बनाइन्।

त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन। चीन, जर्मनी, स्वीजरल्यान्डको अल्ट्रा रेसमा सहभागिता जनाउन थालिन् र उत्कृष्ट प्रदर्शन गरिन्। सन् २०१९ सम्म उनले एसिया र युरोपमा गरी दर्जनभन्दा बढी अल्ट्रा रेसमा प्रतिस्पर्धा गरिसकेकी छन्।

अन्तरराष्ट्रियस्तरमै चर्चा

दुई साताअघि थाइल्यान्डको च्याङमाईमा भएको थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा रेसमा उनी महिलातर्फ पहिलो भएपछि उनको अन्तरराष्ट्रियस्तरमै चर्चा बढेको छ।

उनले ११० किलोमिटर दौडतर्फ पुरुष खेलाडीहरूलाई समेत टक्कर दिँदै अल्ट्रातर्फकै ठूलोमध्ये एक युटिएमबी दौडमा पुरुष र महिलातर्फ समग्र नतिजामा उनी तेस्रो भइन्।

थाइल्यान्डको च्याङमाई क्षेत्रको भीरपाखा र डाँडाको ५४ सय ८० मिटर उचाइमा नर्थफेस टिमबाट दौडिएकी सुनमाया समग्रमा दोस्रो भएका फ्रान्सका सेड्रिक गोलियाभन्दा चार सेकेन्डले मात्र पछि परिन्। सुनमायाले यो दौड १४ घण्टा ५४ मिनेट १ सेकेन्डमा पार गरेकी थिइन्।

भाषा नजान्दा समस्या

जुम्लाको तीन हजार मिटर उचाइमा घाँसदाउरा र उकालो–ओरालो गर्दै हुर्केकी उनलाई अल्ट्रा र ट्रेल रेसको रुट अप्ठ्यारो लाग्दैन तर उनलाई नयाँ ठाउँमा खाना र भाषाको साह्रै समस्या पर्छ।

कहिलेकाहीँ हावापानीले साथ दिँदैन। घण्टौँ दौडिँदा बीचबीचमा आउने चेक प्वाइन्टमा कति खाने र कस्तो खाने भन्ने नजान्दा समस्यामा पर्ने गर्थिन्।

कोभिड–१९ ले सन् २०२० देखि एक वर्ष अल्ट्रा दौडलाई पनि असर गर्‍यो। उनी दौडिन पाइनन्। सन् २०२१ मार्चमा विश्वकै चर्चित ब्रान्ड ‘द नर्थ फेस एडभेन्चर टिम’ले सुनमायालाई आबद्ध गर्‍यो।

यसले उनको अल्ट्रा दौड करिअरलाई थप उचाइमा पुग्न सजिलो भयो। उनले अब हरेक रेसअघि छुट्टै प्रशिक्षक पाउँछिन्। हरेक साता अभ्यासको रिपोर्ट बुझाउनुपर्छ । त्यसको विश्लेषण गर्दै नर्थ फेसले उनका लागि रणनीति बनाउने गर्छ।

‘थाइल्यान्ड बाई युटिएमबी’ प्रतियोगिताअघि उनलाई अष्ट्रेलियाका प्रशिक्षकले अभ्यास दिएका थिए। छुट्टै रणनीति बनाएर कुद्न पठाएपछि सफल पनि भइन्।

मनको धोको र अबको लक्ष्य

सुनमाया अब फ्रान्समा हुने युटिएबी अल्ट्रा रेसमा भाग लिने तयारीमा छन्। त्यो रेस जितेर देशको नाम विश्वमै झन् उचो बनाउने उनको लक्ष्य छ।

‘परिवारले भनेको मानेर सानैमा बिहे गरेको भए यहाँसम्म पुग्दिनथेँ होला। देश–विदेश घुमेर नाम कमाउने यो अवसर मेरा लागि सौभाग्य नै हो’, उनी भन्छिन्।

तर सुनमायालाई सदरमुकाममा सानो पक्की घर बनाएर बूढा आमाबालाई सँगै राख्ने मनको धोको छ।

‘सानै उमेरमा बिहे गर्नुहुन्न। अवसर पाए छोरीले पनि राम्रो गर्न सक्छन् भनेर गाउँलेहरूलाई सिकाउन मन छ’, उनले थपिन्, ‘म कसरी दौडिएँ र सफल भएँ भन्नेबारे स्वदेश विदेशको यात्राको भिडियो बनाएर सबै गाउँलेलाई देखाउने मन छ। एउटा मात्रै छोरा जन्मियो भनेर पीर मान्ने मेरी आमालाई नयाँ घर बनाएर राख्न मन छ।’

साथै कहिल्यै जहाज नचढेका बूढा आमाबालाई जहाज चढाएर खुसी बनाउने सुनमायाको मनमा धोको अधुरै छ। अल्ट्रा रेस करिअरमा संघर्ष गरिरहेकी सुनमाया अब फ्रान्समा हुने १०१ किलोमिटरमा दौडमा प्रथम भएर संसार जित्ने दाउमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.