मन्त्रालय भन्छ : त्यस्तो फरक नहुनुपर्ने

|
फाइल तस्वीर

काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्‍वात्तै बढ्दै गएको छ।

कोरोना संक्रमितको संख्या मंगलबार १० हजार २ सय ५८ जना थियो भने आज बुधबार ११ हजार ३ सय ५२ जना संक्रमित भए।

संक्रमित बढेसँगै केही दिनयता संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ तर सरकारले कोरोनाबाट भएको मृतकको संख्या थोरै देखाएको आशंका व्यक्त गर्न थालिएको छ। 

यसअघिको कोरोना महामारीमा पनि नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनाबाट मृत्यु भएकाको तथ्यांकमा फरक परेको थियो। 

मन्त्रालयको कोरोनासम्बन्धी विवरणमा ५ दिनमा १५ जनाको मात्र कोरोना संक्रमणबाट मृत्यु भएको उल्लेख छ।

तर यो अवधिमा पशुपतिनाथस्थित आर्यघाटमा कम्तिमा पनि १८ वटा शव जलाइएको छ। यो तथ्यांक काठमाडौं उपत्यकाको मात्र हो।

देशभरिको तथ्यांक आउने हो भने कोरोनाबाट योभन्दा निकै बढीको मृत्यु भएको आँकलन जोसुकैले गर्न सक्छ।

मन्त्रालयका अनुसार देशभर गत माघ १ गते ४ जना, २ गते ३ जना, ३ गते ३ जना, ४ गते १ जना र ५ गते ४ जनाको मृत्यु भएको छ।

पशुपति क्षेत्र विकास कोषको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा नै १ गते ३ जना, २ गते १ जना, ३ गते सबैभन्दा बढी शवको अन्तिम संस्कार भएको छ।

त्यसवेला ७ जना कोभिडबाट मृत्यु भएकाको शव जलाइएको छ। त्यस्तै ४ गते २ जना र ५ गते ५ जनाको शव जलाइएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांकमा ५ गते लमजुङमा १ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको उल्लेख छ।

संक्रमित बढेपछि मृतक संख्या पनि बढ्यो

विद्युत शवदाह गृहका कर्मचारी सुवास कार्कीले २/३ दिनयता कोभिड संक्रमितको शव आउने क्रम बढेको बताए।

‘संक्रमित पनि बढे, मृतक पनि बढिरहेका छन्। सेनाले शव ल्याउने क्रम जारी छ, किन कम देखाएको हो, त्यो चाहिँ थाहा भएन’, उनले भने।

उनका अनुसार पुस महिनामा नियमित दैनिक सरदर ३ भन्दा माथि नै पशुपतिमा शव व्यवस्थापन गर्ने गरिएको छ।

‘पुसमा २/३ दिन शव आएन होला, नत्र त दैनिक आइरहन्छ, झनै बाहिर जिल्लामा पनि मृत्यु नै भइरहेको होला’, उनले भने।

काठमाडौँ उपत्यकाभित्र सेनाले कोभिड शव व्यवस्थापनका लागि पशुपतिमा लाने गर्छ।

कोरोनाको दोस्रो चरणमा कोरोनाबाट संक्रमित धेरैको मृत्यु भएपछि पशुपतिमा शव व्यवस्थापन गर्न नै समस्या भएको थियो।

विद्युतीय शवदाह गृहले नथेगेपछि बागमती किनारमा चिता बनाएर संस्कार गरिएको थियो।

योपटक भने अहिलेसम्म विद्युतीय शवदाह गृहमै कोभिडबाट निधन भएकाको शव व्यवस्थापन गरिरहेको जानकारी कार्कीले दिए। 

यसो भन्छ मन्त्रालय

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी त्यसरी तथ्यांक फरक नहुनुपर्ने बताउँछन्।

उनले भने, ‘तथ्यांक फरक त नहुनुपर्ने हो, आजको तथ्यांक बेलुका आइहाल्छ, केहीले भोलिसम्म पठाउँछन्, १/२ जनाको रिपोर्ट नआएको होला, कहिलेकाहीँ त्यस्तो हुन्छ।’

पहिला अरू रोगको उपचार गर्दागर्दै मृत्यु भएर त्यसपछि कोरोना देखिएर पशुपतिमा शव अन्त्येष्टि गरिएकाले धेरै संख्या देखिएको हुनसक्ने उनले तर्क गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.