|

काठमाडौं : ‘जीवितै छु।’ पत्रकार लालबहादुर बिश्वकर्मा (एलबी) ले एक हप्ता पहिले मात्रै आफ्नो फेसबुक वालमा यहि शब्द लेखेर पोष्ट गरेका थिए। मुसुक्क हाँसेको आफ्नै फोटोसहित पोष्ट्याएका एलबी त्यसको एक हप्तापछि अर्थात यो समाचार लेख्दासम्म उनी जीवित छैनन्।

सधैँ अरुको समाचार लेख्ने २६ वर्षीय जुझारु पत्रकार एलबी जीवित नरहेको समाचारले सञ्चारमाध्यमहरू भरिएका छन्। आफू जीवितै रहेको स्टाटस पोष्ट गरेको भोलिपल्ट एलबीले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफ्नो कोभिड अनुभव र सरकारी अस्पतालको प्रवृतिबारे लेखिएको स्टोरी ‘त्यो रात मलाई वीर अस्पतालबाट ननिकालेको भए बाँच्दिनथेँ’ लाई सेयर गर्दै लेखेका थिए, ‘मीन विश्वकर्मा दाइको वेदना मात्रै होइन्।

सरकारी अस्पतालको लापरवाहीको प्रमाण पनि हो। उनीहरु मान्छेलाई मर्ने स्थितीमा कसरी पुर्‍याउँछन् भन्ने उदाङ्गो चरित्र पनि हो, यो।’ नभन्दै एलबीले समयमै उपचार नपाएर ज्यान गुमाए। बिरामी परेपछि बुधबार राति नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याइएका एलबीले पैसाको अभाव र बेडको अभावमा त्यहाँ उपचार नपाएको उनका आफन्तको गुनासो छ।

त्यो अस्पतालले बेडको अभाव देखाउँदै अन्यत्र लैजान भनेपछि पाटन अस्पताल लगिएका एलबीको गयराति निधन भएको हो। निजामती अस्पतालले एक हजार रुपैयाँको अभावमा कोभिड परीक्षण नगरेको र अन्यत्र पठाउँदा अक्सिजनसमेत नलगाइदिएको गुनासो आफन्तको छ। यसबारेमा अस्पतालले भने कुनै प्रतिक्रिया दिएको छैन।

बिरामी भएर केही दिनदेखि कोठामै बसिरहेका टिभी टूडेमा कार्यरत एलबीले चार दिन पहिले मात्रै जनहितमा जारी सूचना भन्दै कोभिडबाट श्वास फेर्न गाह्रो भयो भने तुरुन्त अपनाउनुस् यी १६ उपाय भनेर जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका सुझावहरू पनि सेयर गरेका थिए।

सामाजिक सञ्जालबाट अरुलाई जनचेतना फैलाउने उनै एलबी आफैले स्वासप्रस्वासको समस्याकै कारणले ज्यान गुमाउनु परेको प्रारम्भिक रुपमा बुझिएको छ।

निजामती अस्पतालले कोभिडलगायत परीक्षणका लागि चार हजार दुई सय रुपैयाँ माग गरेकोमा आफूसँग तीन हजार दुई सय मात्रै भएकाले एक हजार भोलि दिन्छु भन्दा पनि अस्पतालले नमानेको एलबीका भाइ गौतमले सुनाए।

अस्पतालमा रकम अभावमा उपचार नपाएर एलबीको ज्यान गएको भन्ने विषय बाहिरिएपछि त्यसबारे नेपाल पत्रकार महासंघले छानबिन गर्ने जनाएको छ।

कोरोनाका कारण गरिएको पहिलो चरणको लकडाउनमा जनता टेलिभिजनको जागिरबाट हात धुन पुगेका एलबी त्यसपछि टिभी टूडे हुँदै इमेच च्यानलमासमेत काम गरे।

उनी केही महिनादेखि पुनः टिभी टूडेमा कार्यरत थिए। अछामको रामारोशन गाउँपालिका–५ का २६ वर्षीय एलबी दुई जना भाइहरूसँगै काठमाडौंमा बस्दै आएका थिए। उनको श्रीमती र तीन वर्षको छोरा छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.