|

काठमाडौं : नेपाली हिपहप संगीत अहिलेको अवस्थामा आउनुको एउटा मुख्य कारण रअ बार्जलाई पनि मानिन्छ। जहाँबाट धेरै नयाँ कलाकारको उदय भयो। लाउरे, युनिक पोएट, साकार, बालेन यसका उदाहरण हुन्। 

आठ वर्षअघि रअ बार्जमा भएको युनिक पोएट र लाउरेको र्‍याप ब्याटल नेपाली हिपहप इतिहासकै सबैभन्दा चर्चित ब्याटल मानिन्छ। उक्त ब्याटललाई युट्युबमा १ करोड ८० लाखभन्दा बढी पटक हेरिएको छ। 

पहिलेभन्दा धेरै लगानी गरेर त्योभन्दा बढी व्यवस्थित गरेर त्यसपछि पनि र्‍याप ब्याटलका धेरै वटा कार्यक्रम सञ्चालन भए तर र्‍याप ब्याटल भनेपछि र्‍यापका श्रोताले सबैभन्दा पहिले रअ बार्जमा भएको युनिक पोएट र लाउरेको ब्याटल नै सम्झने गर्छन्। 

उक्त र्‍याप ब्याटल भएको आठ वर्षपछि पहिलोपटक त्यो स्तरको ब्याटल देखिएको छ। अल नेपाल थग फेमिली(एएनटिएफ)ले आयोजना गरेको र्‍याप ब्याटलमा भएको जि बब र माइलाको र्‍याप ब्याटल यतिवेला चर्चामा छ।

एएनटिएफको दोस्रो राउण्डमा आमनेसामने भएका जि बब र माइलाको ब्याटललाई युट्युबमा २५ लाखभन्दा बढी पटक हेरिएको छ। साथै फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालमा पनि उक्त ब्याटल यतिवेला भाइरल छ।

हिपहप संगीतका पारखीहरूले उक्त ब्याटललाई ऐतिहासिक ब्याटल मानेका छन्। सोही ब्याटलका कारण एनटिएफका अन्य ब्याटलमा पनि दर्शक आकर्षित भएका छन्। साथै जि बब र माइलालाई नेपाली हिपहप संगीतका उदीयमान नक्षत्रको रूपमा पनि हेरिएको छ।

तीन राउण्डमा खेलाइने ब्याटलमा विजेता चुन्न गाह्रो भएपछि निर्णायकले अर्को एउटा राउण्ड थपेका थिए। जसबाट जि बबलाई विजेता घोषित गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.