पाहुना आउने दिन, बिहानै उठेर घरको सरसफाइ गरें मैले
कुना कप्चेराबाट वर्षौंको धुलो निकालेर
किनेकै पानी भए पनि थोत्रो टालो पटक-पटक भिजाएर
घोटी-घोटी सस्तो कार्पेट पुछेर
जति टिलिक्क बनाए पनि
पाहुनाका आँखाले पुराना र थोत्रा सामान चिनिहाले
फ्रिज, वासिङ मेसिन र टेलिभिजन खोजिरहे
अहँ थकाइ लाग्ने भयंकर सरसफाइले मेरो गरिबी छोपिएन
श्रीमतीले खर्च माग्दा,
कहिले ठूलो नोट मात्र छ भनेर त कहिले खुजुरा पैसा मात्र छ भनेर टारेँ मैलै
छोराछोरीले चिकेन तन्दुरी र म:म खाने भन्दा,
जंक फुड र पोसिलो खानाको पाठ पढाइरहेँ मैले
पारिवारिक घुमघामका लागि गरिएका आग्रहलाई पनि
कहिले बच्चाको स्वास्थ्य त कैले आफ्नो अफिसको व्यस्तता देखाएर टार्दै गरेँ मैले
सधैँको एउटै वहाना कहाँ बिक्दो रहेछ र ? अहँ काइते वहाना र तर्कले अन्तत: पोल खुल्यो र मेरो गरिबी छोपिएन
साथीभाइका जमघट छल्न
कहिले बिरामी परिरहेँ त कहिले मिटिङमा भएँ
धेरैपटक उपत्यकाबाहिर रहेँ भने कहिले शाहाकारी र नन अल्कोहलिक पनि बनेँ
कोलेष्ट्रोल हुन्छ भनेर खसीलाई घरमा प्रवेश निषेध गरिदिएँ
विकल्पमा रहेको कुखुरालाई पनि नभएकोले बेला पनि वर्डफ्लु आको छ भन्दिएँ
म मात्रै सबै थोक जान्ने सुन्ने कहाँ थिएँ र अरूले मेरो सबै कुरा सधैँ पत्याउन?
ती सबै रेडिमेड जवाफ सबैले सधैँ मान्न छाडिसकेको थिए
त्यसैले ती जवाफहरूले पनि मेरो गरिवी छोपिएन
घरबेटीलाई भाडा तिर्ने समय आएपछि -म धेरैपटक साथीकोमा बस्दै जिल्लातिर भएँ
कतिपटक बिरामी भएँ त कतिपटक एकाउण्ट लक भयो
धेरैपटक त एटिएमले काम गरेन
आपपासका किराना पसल, डेरी र तरकारी पसलमा पनि कैयौँ दिन यीनै शुत्रहरू लगाइरहें
मोटरगाडी चढ्नुभन्दा- हिंड्दा स्वास्थ्य राम्रो हुन्छ भन्दै रहेँ
वाइक वा स्कुटर त झन दुर्घटनाको कारखाना हुन भनेर डर त्रास देखाएर होकि भन्ने पारिरहेंँ
घाँटी सुक्ने गरी टुटल र पठाओको प्रशंसा गरिरहेँ
तर यी फण्डाका पनि शायद म्याद गुज्रिसकेछन् क्यार
त्यसैले यिनीहरू पनि क्रमश: बिक्री हुन् छाडे
एकदिन त्यस्तो समय आयो
चलनचल्तीका सबै सक्रिय वहानाहरू नांगिइसकेका थिए
र अन्यमा मेरो गरिबी छोप्ने केही बाँकी रहेन
बाँकी रहे केबल,
केही थान हजार वा लाख रुपैयाँले खोसिएका मेरा खुसीहरू
रमेश ज्ञवाली @gyawaliramesh
तपाईंको ईमेल गोप्य राखिनेछ ।