काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन )बाट संक्रमित हुनेको संख्या बढेसँगै नेपालीको श्रम गन्तव्य मुलुकले स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेका छन्।
कतिपय मुलुकले मास्क, भौतिक दूरी,क्वारेन्टाइनलाई अनिवार्य गरेका छन् भने कतिपय मुलुकले कोभिडविरुद्धको खोप (बुस्टर) डोजलाई प्राथमिकता दिएका छन्।
नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मुलुक कतार, यूएई, साउदी, कुवेत, दक्षिण कोरिया, इजरायल, ओमन र बहराइन हुन्। ओमिक्रोन भाइरसको संक्रमण फैलिएसँगै मुख्य रोजगारदाता देशमा स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेका हुन्।
कुवेत
कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै कुवेत सरकारले सार्वजनिक स्थान, मल तथा होटलभित्र हुने सबै प्रकारका भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
त्यसैगरी बुस्टर डोजका लागि ५० वर्ष माथिका नागरिक र आप्रवासीका लागि सिधै खोप केन्द्रमा गएर खोप लगाउन पाउने जनाएको छ। कुवेत प्रवेश गर्नका लागि ७३ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य गरेको छ। अन्य देशबाट जाने श्रमिकको हकमा १० दिन होम क्वारेन्टाइनको व्यवस्था गरिएको छ।
कतार
कतारले संक्रमितहरूको संख्या बढ्न थालेपछि अनिवार्य रूपमा फेस मास्क लगाउनुपर्ने नियम लागू गरेको छ। फेस मास्क बिना सार्वजनिक स्थानमा हिड्न नपाइने जनाएको छ। यस्तो गरेको पाइएको जरिवानासमेत तोकेको छ। कतार रोजगारीमा जाने कामदारले कोभिड परीक्षण र १० दिन क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरेको छ।
साउदी
साउदी अरब सरकारले विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै आएको छ। अनिवार्य मास्क, भौतिक दूरी बुस्टर डोज खोप अनिवार्य गरेको छ।
साउदी रोजगारीमा जाने कामदारले बुस्टर डोज खोप अनिवार्य लगाएको हुनुपर्नेछ भने साउदी पुगेपछि १० दिन कम्पनीमा क्वारेन्टाइन बस्नुपर्ने र कोभिड परीक्षण गर्नुपर्ने नियम लागू गरेको छ।
इजरायल
इजरायलमा नेपालीहरू बुधबारदेखि वैदेशिक रोजगारीमा जान थालेका छन्। इजरायल रोजगारीमा जाने कामदारले विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोपलाई मान्यता दिएको छ।
इजरायल जाने श्रमिकले एक हप्ता क्वारेनटाइन बस्नु पर्ने छ। ओमिक्रोन भाइरस फैलिएसँगै इजरायलले अफ्रिकी देशबाट आउने नागरिकलाई रोक लगाएको छ। नेपाली कामदारका हकमा भने स्वास्थ्य मापदण्ड पालना गरेका जान पाउने भएका छन्।
त्यस्तै नेपालीको श्रम गन्तव्य मुलुक युएई,दक्षिण कोरिया लगायतका देशमा पनि खोप, क्वारेन्टाइन,मास्क र भौतिक दूरीलाई अनिवार्य गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।