|

कास्की : पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ।

कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा उक्त संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। उनका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी संक्रमित छन्।

‘पछिल्लो कोरोना लहरमा स्वास्थ्यकर्मी पनि तीव्ररुपमा संक्रमित हुने क्रम बढ्दो छ,’ शर्माले भने‚ ‘कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल र म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित हुनुभएको छ।’

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवा नै रोकिने अवस्था हालसम्म नरहेको बताइन्छ।

तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बाग्लुङ ११, पर्वत १०, म्याग्दी नौ, गोरखा ६ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जनाइएको छ। हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन्। निर्देशनालयले संक्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.