|

काठमाडौं : तपाईंसँग विदेशिनुपर्ने आफ्नै कारण छन्। केही आवश्यकता, केही सपना छन्। पैसाको जोहो गरेर, विदेश गएको, पैसा कमाएको, सपना पूरा गरेको, परिवारमा खुशी र उल्लास छाएको कल्पना गर्दै तपाईं सहर पस्नुभएको छ। 

तपाईंलाई थाहा लाग्छ जुन डोरी समाएर तपाईं उक्लिन खोज्दै हुनुहुन्थ्यो त्यो धोका थियो, त्यसपछि सहरले पनि आफ्नो रंग देखाउँछ। पैसाको बिटो मात्र होइन मिठो सपनाको झोला पनि खोसिन्छ। त्यो अवस्थामा तपाईं कति रित्तो हुनुहुन्छ? 

शुक्रबार सार्वजनिक भएकाे 'उकाली ओराली' बोलको म्युजिक भिडियोमा यस्तै पात्रको कथा भनिएको छ। रोविन शर्माको निर्देशनमा बनेको भिडियोमा आशान्त शर्मा र चक्र बिष्ट मुख्य भूमिकामा देखिएका छन्। आशान्त र चक्र बाहेक भिडियोमा कृपा बज्राचार्य, उत्तम अधिकारी, उदय गुरुङ, टीका निरौला र विनोद राईको अभिनय रहेको छ। 

भिडियोमा चे शंकरले कास्टिङ डिरेक्टर, एसिस्टेन्ट डिरेक्टर र आर्टको काम सम्हालेका छन्। रबको छायांकन रहेको भिडियोमा सम्पादन र ड्रोन परिचालन अनमोल राना मगरले गरेका हुन्। 

मन्त्र गिटारको प्रस्तुति रहेको गीतमा शब्द, संगीत तथा स्वर सुशान्त घिमिरेको रहेको छ। जसको संगीत संयोजन मोनिष निरौलाले गरेका हुन्। 

'उकाली ओराली' गीतलाई शब्द, स्वर, संगीत तथा संयोजनको सुन्दर मिश्रण मान्न सकिन्छ। त्यस्तै भिडियोमा पनि निर्देशन, अभिनय र आर्टवर्कको सुन्दर संयोजन देख्न सकिन्छ। ​
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.