|

नयाँ दिल्ली : भारतीय सूचना तथा प्रसारण मन्त्रालयले आफ्नो देशविरुद्ध दुष्प्रचार र नियोजित झूटो समाचार फैलाएको आरोपमा ३५ वटा युट्युब च्यानल र दुईवटा वेबसाइट ब्लक गरेको छ।

भारतीय सूचना तथा प्रसारण सचिव अपूर्व चन्द्राले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

ती सबै वेबसाइट र युट्युब च्यानल पाकिस्तानबाट सञ्चालन भइरहेको उनले बताए। भारतीय गुप्तचर एजेन्सीहरूले त्यस्ता सामाजिक सञ्जालका अकाउन्ट र वेबसाइटमा कडा निगरानी राख्दै यस सम्बन्धमा कारबाहीका लागि मन्त्रालयलाई जानकारी गराएको उनले बताए।

अपूर्व चन्द्राले ती च्यानल र साइटमार्फत भारतको बारेमा झूटो समाचार फैलाइएको जानकारी दिए।

यी च्यानलहरूका सब्सक्राइबर १ करोड २० लाख रहेका छन्। त्यहाँ राखिएका सामग्री १ अर्ब ३० करोड पटकसम्म हेरिएका छन्। त्यस्ता थप च्यानल बन्द अवरुद्ध हुनेछन्।

३५ युट्युब च्यानल र दुई वेबसाइट ब्लक गर्नुका साथै दुईवटा ट्विटर, दुई इन्स्टाग्राम र एउटा फेसबुक एकाउन्ट पनि बन्द गरिएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सूचना प्रविधि (मध्यवर्ती दिशानिर्देशहरू र डिजिटल मिडिया आचार संहिता) नियमावली, २०२१ को नियम १६ ​​अन्तर्गत जारी पाँचवटा अलग-अलग आदेश पालना गर्दै मन्त्रालयले पाकिस्तानबाट सञ्चालन हुने गरेका यी सामाजिक सञ्जालका अकाउन्ट र वेबसाइटहरू निलम्बन गरेको छ।’

सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले अफवाह फैलाउने खालका यस्ता अकाउन्ट बन्द गर्न आदेश दिएका थिए।

ती च्यानलमा ‘विपिन रावतको मृत्युमा सरकार जिम्मेवार, विपिन रावतको छोरी इस्लाम स्वीकार गर्दै, उत्तर कोरियाली सेना कश्मीर आउँदै’ भन्ने झूटा समाचार दिइएका हुन्थे।

भारतीय गुप्तचर संस्थाले ती खातामा निरीक्षण गरिरहेका थिए। कुनै कुनै च्यानल त पाकिस्तानी टेलिभिजनका एङ्करले चलाउने गरेका थिए। ती सबै च्यानलले एक अर्काका विषय वस्तु प्रवर्धन गर्ने गरेको भारतको भनाइ छ।

सूचना तथा प्रसारण मन्त्रालयले गत डिसेम्बरमा पनि गुप्तचर संस्थाको सहयोगमा २० वटा युट्युब च्यानल र दुईवटा वेबसाइट ब्लक गरेको थियो।  

ती च्यानल र साइटले भारतमा कश्मीर, भारतीय सेना, जनरल बिपिन रावत, राम मन्दिर र अल्पसंख्यक समुदायका बारेमा अफवाह फैलाउने समाचार दिने गरेको भारत सरकारले जनाएको छ।  

-एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.