|

पर्वत : आहा–रारा गोल्डकपमार्फत नेपालमा डेब्यु गरेको अमेरिकाको मिन्नासेटाको फुटबल टिक बिवाइएसी पराजित भएको छ।

आहा–रारा गोल्डकपको २०औँ संस्करणअन्तर्गत शनिबार पोखरा रंगशालामा भएको खेलमा खेलमा विभागीय टोली एपिएफले बिवाइएसीलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो। हार व्‍यहोरेसँगै बिवाइएसी भने आहा–रारा गोल्डकपको २० औँ संस्करणबाट बाहिरिएको छ।

खेलको पहिलो हाफमा दुवै समूह गोलरहित बराबरीको अवस्थामा रहेको पनि दोस्रो हाफको सुरुवाती चरण ४७औँ मिनेटमा नै बिवाइएसीको तर्फबाट मिगुअल प्यालाफक्सले पहिलो गोल गरेका थिए। त्यसपछि भने दबाबमा परेको एपिएफले ६८औँ मिनेटमा पेनाल्टीमार्फत खेललाई बराबरी अवस्थामा ल्याउन सफल भयो।

पेनाल्टीमार्फत आभास लामिछानेले गोल गरेका थिए। त्यसपछिका दुई गोल भने खेलाडी परिवर्तनको क्रममा फिल्डमा पठाइएका रवि थिङले गरे। गोलपोष्टभन्दा धेरै टाढाबाट प्रहार गरिएका उनका दुवै सटहरू गोलमा परिणत भए। उनले ८४औँ र इन्जुरी टाइम ९४ औँ मिनेटमा गोल गरेका थिए।

खेलका क्रममा बिवाइएसीका प्यालाफक्स र एपिएफका पे पे, शनि श्रेष्ठ र आभास लामिछानेले यलो कार्ड पाएका थिए।

विदेशी टोलीलाई पराजित गर्नकै लागि निर्णायक गोलहरू दिएका थिङ खेलको म्यान अफ दी म्याच भएका छन्। खेलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थिङले विदेशी खेलाडीलाई नेपालले पराजित गर्ने आफ्नो रणनीतिको सपना पूरा भएको प्रतिक्रिया दिएका छन्।

विदेशी खेलाडीहरू अग्लो भएकाले माथिबाट आएका सटभन्दा ग्रास रुट लेबलबाट नै खेल्ने आफूहरूको रणनीतिअनुसार खेल जित्न सकिएको उनको भनाइ छ।

२०औँ संस्करणको उद्घाटन खेलमा पनि एपिएफले आयोजक सहारा क्लबलाई २–० ले पराजित गरेको थियो।

सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ का अनुसार आजको विजेता एपिएफले माघ १२ गते क्वार्टर फाइनलमा भिड्नेछ। १२ गतेको क्वार्टर फाइनलको खेलमा माघ १० गते हुने मच्छिन्द्र र सङ्कटा क्लबबिचको प्रतिस्पर्धाको विजेता टोली भिड्नेछ।

यस्तै, आइतबार मनाङ मर्स्याङ्दी क्लब र पुलिस क्लबको बीचमा खेल हुनेछ। शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथबाट पाखा लगाएको पुलिसले मनाङ मर्स्याङ्दीसँग क्वार्टर फाइनलको खेल खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.