|
फाइल फोटो

काठमाडौं : सत्तारूढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन्।

नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारे। शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावनाविपरीत कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए।

उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोहीअनुसार हुनुपर्ने दाबीसमेत गरे।

 पूर्व-उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘मैले सुरुदेखि नै भन्दै आएको छु। हामीले जाने भनेको त संविधानको भावना र मर्मबमोजिम नै सबै कामहरु हुनुपर्‍यो। स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो। कार्यअवधि भन्दा स्थानीय निर्वाचन ऐनले २ महिनाअगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ। तर, कार्यकाल सकिएको ६ महिनाभित्र नै गर्नुपर्छ भन्ने संविधानको कुरा छ। त्यहीअनुसार चुनाव हुनुपर्छ भन्ने मेरो भनाइ हो।’

त्यस अवसरमा कांग्रेस नेता सिंहले डा. मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको चर्चा गरिएको बताए।

उनले सो पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जोकोही उपयोगी हुने विश्वाससमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.