|

काठमाडौं : सवारी दुर्घटनासहित विभिन्न घटनामा परी १२ जनाको मृत्यु भएको छ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ।

विभिन्न स्थानमा सात जना मृत भेटिएका छन् भने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार पर्सा, गुल्मी, महोत्तरी र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका–१२ मा बा ४ ख ७३९० नम्बरको बसले ना.१४ प ८१०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका–४ बस्ने ६० वर्षीय समशुल मिँयाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रभु अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै गुल्मी, मुसीकोट नगरपालिका–९ ददलका बुकीडाँडामा लु १ च ७२९८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय ५५ वर्षीय काले कामीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ७ जनालाई उपचारको लागि पाल्पातर्फ पठाइएको छ।

महोत्तरीको मटिहानी नगरपालिका–६ बजार नजिक मटिहानीबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०२५ प ३५२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ४० वर्षीय शम्भु शर्माको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। यस्तै सर्लाहीको बागमती नगरपालिका–११ मा बा ८४ प ५९०८ नम्बरको मोटरसाइकल ना ७ ख ८३०० नम्बरको टिपरको पछाडी ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक हरिवन नगरपालिका–५ बस्ने २५ वर्षीय सुनिल बम्जनको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल चन्द्रपुर रौतहटमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

करेन्ट लागेर मृत्यु

धनुषाधाम नगरपालिका–३ तेजनगर बस्ने ५५ वर्षीया बिन्देश्वरी कापरको करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय राजकुमार यादवको घरमा बिहेको अवसरमा गीत गाउनलाई माइक समाउँदा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पतल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

मृत अवस्थामा फेला

पछिल्लो २४ घण्टामा काठमाडौं महानगरपालिका–६ बौद्धस्थित टहरामा थान्का पसल राखी बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–२ घर भएका ६८ वर्षीय जीतबहादुर दमाई पसलभित्रै मृत फेला परेका छन्।

यस्तै काठमाडौं, चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा परिचय नखुलेका ३० वर्षीय पुरुष र काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित पुलमुनि परिचय नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका छन्।

यस्तै चितवन, भरतपुर महानगरपालिका–९ स्थित टिकौली जङगलमा परिचय नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका छन्। यस्तै खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ याङसोला बस्ने ५४ वर्षीय किन्दारमान राई बारीको ढुंगाको चेपमा मृत फेला परेका छन्।

झापा, बिर्तामोड नगरपालिका–५ धिमाल चोक बस्ने पाँचथर याङबरक गाउँपालिका–५ घर भएका २९ वर्षीय सन्तोष थेवे आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।

यस्तै नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका–९ पिपरहिया स्थित बाटो छेउको नालीमा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेका छन्। प्रहरीले यी घटनाको अनुसन्धान भइरहेको जनाएकोछ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.