|

धनगढी : सुदूरपश्चिमका सीमा नाकामा दैनिक विभिन्न किसिमका दृश्य देखा पर्छन्। यस्तै आजभोलि पनि नाकामा सुदूरपश्चिमेली आउने र जाने क्रम जारी छ।

भारत लगायतका देशहरूबाट सीमा नाका हुँदै कोही मातृभूमि टेक्दा खुसी हुन्छन् भने कसैलाई भारत पुग्न हतारो हुन्छ। स्वदेश फर्कनेहरू भारतमा कोरोना भाइरसले भयावह रूप लिएको बताउँदै नेपालतर्फ आएको सुनाउँछन्।

यता भारत पस्नेहरू भने स्वदेशमा चुलो बाल्नै मुस्किल भएको पीडा सुनाउँछन्। जे होस्, आवतजावत गर्नेहरूको घुइँचो भने बढ्दै गएको हुन्छ। यो अवस्था पश्चिमी नाका त्रिनगर–गौरीफण्टाको हो। जहाँ परिवारको खुसी कमाउन भारत पस्नेहरू लाइन नै लागेका हुन्छन्।

‘घरमा बसेर साँझ–बिहानको छाक टार्नै मुस्किल हुन्छ’, शनिबार नाकामा भेटिएका कैलालीका देवसिंह साउदले भने, ‘त्यसैले महामारीको समयमा पनि भारत जान बाध्य भएका छौँ।’

स्वदेशमा रोजगारीका अवसर सृजना गर्न तीन तहको सरकार असफल भएको गुनासो उनको छ। उनले थपे, ‘घरमा बस्ने मन सबैको हुन्छ तर छाक टार्नुपर्ने बाध्यताका कारण भारत गइरहेका छौं।’

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण जति छ, त्यसको कैयौँ गुणा बढी जोखिम भारतमा छ तर स्वदेशमा रोजगारीका अवसर नपाएको भन्दै कोरोना महामारीमै भारत जानेको संख्या बढ्दो छ।

आर्थिक अभावकै कारण पढाइ छाडेर युवाहरू पनि भारत पस्न बाध्य छन्। स्वदेशमा काम नपाएपछि पढाइ छोडेर भारत गइरहेको कैलालीका गणेश साउदले बताए।

उनले भने, ‘पढ्ने मन थियो। घरमा खान लगाउन समस्या भएपछि भारत जाँदै छु।’ स्वदेशमा भनेको जस्तो काम नपाउँदा भारत जानुपर्ने बाध्यता रहेको उनी बताउँछन्।

स्थानीय तहको निर्वाचनमा गाउँगाउँमा सिंहदरबार पुग्ने नारा लगाइएको थियो। जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिनै लाग्दा पनि मजदुरी गर्नकै लागि भारत जानुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन।

जनप्रतिनिधिले निकटका व्यक्तिलाई सरकारी जागिर दिए पनि योग्य तर पहुँच नभएका नागरिक भने भारत पस्न बाध्य छन्।

गाउँगाउँमा सिंहदरबारको नारा लगाए पनि समय अवधि सकिनै लाग्दासम्म ठोस कदम चाल्न नसकेको अछामबाट भारत जानका लागि नाकामा पुगेका हरिश वडले बताए।

१५ वर्षदेखि भारतमा रोजगार गर्दै आएको बताउँदै उनले भने, ‘पहिले त धेरै दुःखका दिन पनि काटियो। अहिले त झन् परिवारको खुसीका लागि महामारीमा पनि भारत जान परिरहेको छ।’

अहिले कोरोना महामारीले मजदुरी छाडेर जति नेपाली स्वदेश फर्किरहेका छन्‚ सोही हाराहारीमा रोजगारीका लागि भारत पनि गइरहेका छन्।

त्रिनगर–गौरीफण्टा नाका भएर मात्रै दैनिक तीन सयभन्दा बढी सुदूरपश्चिमेली भारत गइरहेका छन्।

दैनिक एउटै नाकाबाट ३ सयभन्दा बढी नेपाली रोजगारीका लागि भारत गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्र शाहले बताए।

उनले भने, ‘आउनेको संख्या जत्तिकै रोजगारीका लागि भारत जानेको संख्या पनि छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.