|

विराटनगर :  मोरङको बलियामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। इटहरीबाट बहिनीको घर जाने क्रममा बेलबारी नगरपालिका- ४ की ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएकाे प्रहरीले जनाएको छ।

सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर शुक्रबार राति महिलामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

घटनापछि पीडित महिलालाई उपचारका लागि बिराटनगरस्थित कोसी अस्पताल लिएर आएका होटल सञ्चालक अर्जुन श्रेष्ठलाई प्रहरीले शनिबार दिउँसो विराटनगरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मञ्जिल मुकारुङले बताए। 

‘महिला घाइते भएपछि हस्पिटल लिएर गएको रहेछ उसलाई हामीले पक्राउ गरेका छौँ,’उनले भने, ‘होटल सञ्चालक अर्जुन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ गरेर राखेका छौँ, अर्का सुरज श्रेष्ठलाई बेलबारीमा पक्राउ गरेर राखिएको छ।’ 

घटनामा संलग्नमध्ये एक जना फरार रहेको डिएसपी मुकारुङले बताए। उनले ती महिलालाई प्रदेश २-०१-००१ च २२७ नम्बरको गाडीमा राखेर उपचारका लागि कोसी अस्पताल ल्याएका थिए।

महिलालाई शुक्रबार साँझ गछिया पुलबाट त्यही गाडीमा राखेर घटनामा संलग्न रहेका रामबहादुर भन्नेले होटलसम्म लगेको पाइएको प्रहरीले जनाएको छ। अत्याधिक रक्तश्रावका कारण महिलाको अवस्था गम्भीर रहेको उनको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

 पीडित महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न सुरु गरेकी थिइन्। काम सकेपश्चात सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई घटनामा संलग्नमध्ये रामबहादुरले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछिया लगेका थिए। उक्त घटनापछि रामबहादुर फरार रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार राती भएको घटनाको बारे आफूलाई शनिबार बिहान मात्रै थाहा भएको पीडितकी बहिनीले बताइन्। घटना भएको थाहा पाएपछि घटनास्थल पुग्दा कोठा र ओछ्यान अस्तव्यस्त अवस्थामा पाइएको उनले बताइन्।

दिदीलाई उपचारका लागि लैजान हारगुहार गर्दा आफूमाथि नै दुर्व्यवहार भएको उनले गुनासो गरिन्। ‘दिदीलाई उपचारका लागि हारगुहार गर्दा ममाथि नै दुर्व्यवहार गरियो,‘उनले सुनाइन्, ‘प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै बल्ल उपचारका लागि होटल मालिक तयार भएका थिए।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.