|

पर्वत : पोखरा रङ्गशालामा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपअन्तर्गत आइतबार भएको दोस्रो क्वार्टरफाइनलको खेलबाट मनाङ–मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

मनाङ–मर्स्याङ्दीले आफ्नो घरेलु मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो। 

यो संस्करणमा आइतबार पहिलो खेल खेलेको मनाङ–मर्स्याङ्दीले बलियो प्रतिद्वन्द्वी पुलिसलाई पराजित गरेको हो।

खेलको पहिलो हाफमा दुवै समूह गोलरहित बराबरीमा रहे पनि दोस्रो हाफको ६४ औँ मिनेटमा रूपेश केसीले र ८८ औँ मिनेटमा नाइजेरियाली खेलाडी ओलावाले अफिजले गोल गर्दै मनाङ–मर्स्याङ्दीलाई जित दिलाए।

आइतबारको खेलमा सुरुवातबाट नै मनाङ–मर्स्याङ्दीले पुलिसलाई दबाबमा राखेको थियो। गोल गर्ने केही सुनौला अवसर मनाङ–मर्स्याङ्दीले गुमाएको थियो।

खेलको म्यान अफ दी म्याच पनि मनाङ–मर्स्याङ्दीका अफिज बनेका छन्।

पुलिस क्लबले भने यसअघिका खेलहरूमा आयोजक सहारा क्लब र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा आइपुगेको थियो।

खेल नकआउट प्रणालीमा खेलाइएका कारण यो हारसँगै पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको छ।

मनाङ–मर्स्याङ्दीले माघ ११ गते हुने क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

माघ ११ मा त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच खेल हुँदैछ।

यसअघि २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ साल गरी ६ पटक आहा–रारा गोल्डकपको विजेता पुलिस क्लब बनेको थियो।

मनाङ-मर्स्याङ्दी पनि २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ गरी ६ पटक नै विजेता बनिसकेको छ।

पुलिस क्लबले २०६१ र २०६२ मा उपविजेतामा चित्त बुझाउँदा मनाङ-मर्स्याङ्दीले २०५८, २०६३, २०६७, २०७० र २०७१ मा गरी ५ पटक उपविजेतामा चित्त बुझाइसकेको छ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार रूपैयाँ र उपविजेताले ५ लाख १ हजार रूपैयाँ प्राप्त गर्नेछन्।

माघ १५ गतेसम्म पोखरा रङ्गशालामा चल्ने प्रतियोगितामा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ।

सोमबारको खेल आहा–रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लब र मच्छिन्द्र क्लबबीच हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.