|

काठमाडौं : सरकारले वार्षिक ६ लाख आम्दानी नभएका नेपाली नागरिकलाई भिजिट भिसामा जान रोक लगाएकाे छ। 

गृह मन्त्रालयले आठ बुँदे निर्देशन जारी गर्दै भिजिट भिसामा जान कम्तीमा खाडी मुलुकबाहेक दुई देश भ्रमण गरेकाे हुनुपर्ने र वार्षिक ६ लाख आम्दानी र त्यसको आधा अर्थात् तीन लाख खातामा रकम भएको हुनुपर्ने जनाएकाे छ। आजबाट १८ देशमा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको सरकारले यस्तो नयाँ नियम ल्याएको हो। 

कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै भिजिट भिसामा विदेश गएका नेपाली विभिन्न देशमा अलपत्र पर्न थालेका छन्। यसलाई मध्यनजर गर्दै  रोक लगाएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। 

पछिल्लो समय  भिजिट भिसामा विदेश गएका नेपालीहरु काम गरी बस्ने गरेका छन् । यसरी विदेशमा रहेका श्रमिकलाई महामारीको समयमा अझ धेरै समस्या पर्ने गरेकाे छ। त्यसैले भिजिट भिसामा रोक लगाएको मन्त्रालयले जनाको छ।

मन्त्रालयका अनुसार  विरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि भिजिटमा जान दिने भएको छ।  तर त्यसका लागि पनि नेपाली दूतावासको सिफारिसपत्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएपछि मात्र जान पाइनेछ।

वैदेशिक रोजगारी व्यवसाय प्रवर्द्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि भिजिटमा जान दिइनेछ।  त्यस्तै नेपालमा सामान आयत–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने निर्णय भएको छ।

गत शुक्रबार गृहले ओमिक्रोनको कारण देखाउँदै पूर्ण रुपमा भिजिट भिसामा अनिश्चित कालिन रोक लगाएको थियो। सरकारको निर्णयको चौतर्फी आलोचना भएपछि यसलाई सच्चाउँदै नयाँ नियम ल्याएको हो।

वैदेशिक रोजगारीको प्रलोभनमा परी म्यानपावर, एजेन्टमार्फत भिजिट भिसामा  विदेश गई अलपत्र पर्ने गरेका छन्।  जसलाई व्यवस्थित बनाउन लागिएको मन्त्रालयले जनाएको छ। 

सरकारको निर्णय अनुसार मलेसिया, खाडीका इराक, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत, कतार र बहराइन तथा खाडी नजिकका एसियाली राष्ट्र साइप्रस, इजिप्ट, इरान, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, टर्की, यमनमा अब भिजिट भिसामा  जान रोक लगाइएको छ। 

पछिल्लो केही महिनामा मेनपावर मार्फत नै भिजिट भिसामा ठूलो संख्यामा नेपाली ती देश गएका थिए। पछिल्लो समय आकर्षक तलब सुविधाको लोभमा परी  भिजिट भिसामा विदेशिनेको संख्या बढ्दाे छ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२१ मा मासिक १० हजार नेपाली भिजिट भिसामा खाडी तथा मलेसिया जाने गएका छन्। यसरी आकर्षक तलब सुविधामा भिजिट भिसामा जानेहरू समस्यामा पर्ने गरेको गृह मन्त्रालयले जनाएको छ। 

भिजिट भिसामा विदेश गएका ७० प्रतिशत नेपाली रोजगारी गरी विदेशमा नै बस्ने गरेका छन्। कति बस्छन् र कति स्वदेश फर्कन्छन् भन्ने तथ्यांक सरकारसँग छैन। जतिबेला समस्या हुन्छ त्यतिबेला मात्र सरकारले थाहा पाउने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। ​

धेरै कमाउने लोभले ठगिन्छन् नेपाली 

मोरङ घर भएका नवीन घिमिरे रोजगारीको खोजीमा थिए। नेपालमा भने जस्तो  रोजगारी पाएनन्। गाउँका  धेरैजसो युवाहरु विदेशिए काले आफू पनि वैदेशिक रोजगारीमा जाने सोच बनाए। पर्याप्त तलब सुविधाको प्रलोभनमा परी ५ महिना अगाडी दुबईका लागि उडे।

भिजिट भिसामा दुबई जानका लागि ४ लाख तिर्नु परेको उनले सुनाए। त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायले सबै प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जान समय लाग्ने र तलब कम हुने भन्दै भिजिट भिसामा जान सुझाव दिए। 

सोहीअनुसार आफू विदेश जान तयार भएको घिमिरेले बताए। आकर्षक तलबको आशमा विदेशिएका घिमिरे यतिवेला दुबईमा अलपत्र परेका छन्। उनीसँगै १ सय १८ जना नेपाली अलपत्र अबस्थामा रहेको युएईस्थित नेपाल दूतावासले जनाएको छ। यतिवेला उनीहरु  नेपाल फर्कने पर्खाइमा छन्।  

त्यस्तै केहिदिन अगाडी पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुईजनालाई महानगरीय प्रहरीले पक्राउ गर्याे। भिजिट भिसामा पोर्चुगल पठाउने भन्दै रकम उठाई फरार भएका  बागलुङ गल्कोट–६ का २८ वर्षीय सोती मगर र सर्लाही बागमती–१ का समीर काकीलाई पक्राउ गरेको थियो। 

कोटेश्वरमा युनिवर्ल्ड इन्टरनेसनल टुर्स एण्ड ट्राभल्स प्रालि सञ्चालन गरी  वर्किङ भिसामा पोर्चुगल जान प्रतिव्यक्ति चौध लाख लाग्छ भनी उता पुगेपछि राम्रो होटल तथा कम्पनीमा काममा लगाइदिन्छु भन्दै ठगी गरेका थिए। प्रतिव्यक्ति ४ देखि ७ लाखसम्म  उठाएका थिए। 

 भिजिट भिसा कसलाई?

विदेशमा रहेका कुनै आफन्त या यात्रामा जानु परेको खण्डमा प्रयोग गरिने भिसा नै  भिजिट भिसा हो। देश अनुसार भिजिट भिसा फरक–फरक अवधिका लागि दिइने गरे छ।  

भिजिट भिसाका लागि सबभन्दा महत्वपूर्ण दुईतर्फी हवाई टिकट र यात्रा गर्ने व्यक्तिसँग १ हजार अमेरिकी डलर अनिवार्य हुनुपर्छ। कानुन अनुसार भिजिट भिसामा गएका कुनै पनि व्यक्तिले सम्बन्धित देशमा पुगेपछि आम्दानी मूलक काम गर्न पाउँदैनन्। तर, पछिल्लो समय भिजिट भिसामा विदेश गई दलालमार्फत काम गरी बस्ने गरेको पाइन्छ। यसरी बस्ने नेपालीलाई महामारीको समयमा समस्या पर्ने गरेको छ। 

बढ्यो आकर्षण

पछिल्लो समय भिजिट भिसामा गएर वर्किङ भिसाको रुपमा  परिणत गरि रोजगारीमा बस्ने गरेको पाइने भएपछि विदेशिने संख्या बढेको हो।  वैदेशिक रोजगारीमा जान सरकारी प्रक्रिया पूरा गर्न लामो समय लाग्ने भन्दै भिजिट भिसाको आकर्षण बढेको सरोकारवाला बताउँछन्।

धेरै तलबको लोभले भिजिट भिसामा जानेको संख्या बढेको वैदेशिक रोजगार विज्ञ सोम लुईँटेल बताउँछन्। युएई सरकारले कहिलेकाहीँ भिजिट भिसालाई वर्किङ भिसाको रूपमा परिणत गर्ने सुविधा दिने गरेकाले दलालले सोही प्रावधानको फाइदा उठाइरहेका छन्।

विवादमा भिजिट भिसा 

लामो समयदेखि चर्चामा रहेको  भिजिट भिसाका विषयमा सरकारले पटकपटक छलफल गर्याे। सो विषयको समास्या समाधान गर्नका लागि भन्दै  छानबिन समिति पनि बने। तर,समस्या समाधान हुनुको सट्टा अझ बढ्दै गएको छ। 

एक वर्षअघि अध्यागमनले भिजिट भिसामा विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाको हकमा वडाको सिफारिस र परिवारको मञ्जु रीनामा चाहिने बतायो।  तर सो विषय विवादमा पर्याे। त्यस लगत्तै बनेको समितिले भिजिट भिसामा जानेको हकमा १५ लाख बराबरको बीमा र अभिभावकको स्वीकृत अनिवार्य  गर्न सुझाब दिएको थियो। तर,सो विषय पनि व्यवहारिक बन्न सकेन। यसरी  भिजिट भिसालाई व्यवस्थित गर्न नसक्दा समस्या ज्यूँ को त्यूँ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.