|

पर्सा : वीरगन्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीहरूलाई ५० प्रतिशतसम्म कर छुट दिने प्रतिवद्धता जनाएको छ।

कोरोनाबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीहरूको दबाबपछि बल्ल महानगरपालिका ५० प्रतिशतसम्म कर छुट दिन प्रतिवद्ध भएको हो। कोरोना भाइरसको कारण प्रभावित वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी पेशाबाट पलायन हुन थालेका थिए।

एक अर्बभन्दा बढी लागत धरापमा पर्न थालेको समयमा बल्ल महानगर सम्पति कर र व्यवसाय करमा ५० प्रतिशत छुट दिन सहमत भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए।

महानगरपालिकालाई आग्रह र दबाब दिँदा आइतबार महानगरपालिका नगरप्रमुख विजयकुमार सरावगी कर छुट दिन प्रतिवद्ध भएको उनले बताए। आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ को व्यवसाय करमा ५० प्रतिशत छुट दिने सरावगीले बताए। सम्पति करमा पनि जरिवाना नलिई ५० प्रतिशत छुट दिने उनको भनाइ छ।

तर आगामी चैत मसान्तभित्र ती व्यवसायीहरूले आफूले बुझाउनु पर्ने कर बुझाइसक्नु पर्ने उनको भनाइ छ। चैतपछि भने महानगरले कर छुट दिन नसक्ने महानगरप्रमुख सरावगीले तर्क गरे।

प्रस्तावित नीतिमा कर छुट दिन सकारात्मक हुँदा पनि राजश्व नीतिमा होटल तथा व्यवसाय क्षेत्र केही कर्मचारीको कारण छुटेको उनको भनाइ छ। सम्पति र व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिने व्यवसायीहरुको ज्ञापन पत्र बुझ्दै आइतबार वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले सकारात्मक भएका हुन्।

महानगरले आफ्नो प्रस्तावित राजश्व नीतिमा होटल तथा पर्यटन व्यवसायीलाई कर छुट दिने भनी सुरुमा उल्लेख गरेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.