|
फाइल फोटो

चितवन : कुनै समय चितवन तोरी खेतीका लागि प्रसिद्ध थियो। बीचका समयमा खासै यसतर्फ किसानले चासो दिएका थिएनन्। तर‚ पछिल्लो वर्ष विस्तारै उनीहरू यसतर्फ आकर्षित हुँदै गएका छन्।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ। गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २६० हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको थियो।

कार्यालयका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष तोरी खेती गर्ने कृषकको संख्या बढेको छ। उनले भने, ‘यस वर्ष तोरी खेतीका लागि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेको छ यसले कृषकलाई आकर्षित गर्‍यो।’   

गहुँ लगाउने किसानहरू तोरी खेतीतर्फ आकर्षित भएका कारण तोरी खेती गर्ने किसान बढेको र छिटो उत्पादन लिने बाली भएकाले तोरी खेतीमा कृषक आकर्षित भएका पुनले बताए। उनले भने, ‘तोरी खेती गरे पछि अन्य बाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ।’

अघिल्लो वर्ष चितवनमा तोरीको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिक टन रहे पनि यो वर्ष दुई प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयले गरेको छ। कार्यालयका योजना अधिकृत उमराज अर्याल निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले तोरी खेती गर्न थालेका छन्। जंगली जनावरले खासै नोक्सान नपुर्‍याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरी खेतीमा आकर्षित भएका हुन। उनले भने, ‘तोरी बालीलाई हात्ती, गैँडा र चित्तलले खासै मन नपाउने भएकाले यसतर्फ कृषक बढ्दै गएका छन्।’

माडी नगरपालिका-३ की रसपतिया चौधरी तीन वर्षदेखि तोरी खेती गर्दै आएकी छन्। त्यसअघि गहुँ खेती गर्ने उनी जंगली जनावरका कारण खेती गर्न मन लाग्न छोडेको भए पनि माइतीले तोरी लगाउन सल्लाह दिएपछि खेती गरेको बताउँछिन्। उनले भनिन्‚ ‘जनावरले मकै, गहुँलगायतका बालीमा नष्ट गर्न थालेपछि तोरी लगाउन सुरु गरेँ।’ उनले अहिले एक बिघा क्षेत्रफलमा तोरी खेती गर्दै आएकी छन्।

अहिले माडी-३ वैराष्ठ क्षेत्रमा अधिकांश स्थानमा तोरी खेती गरिएको छ। निकुञ्जसँग नजिक रहेकाले पनि यस क्षेत्रका किसान तोरी खेतीमा आकर्षण बढेको जागृति कृषक समूहका अध्यक्ष ओमप्रकाश महतोले बताए। उनले भने, ‘निकुञ्जबाट नजिक रहेकाले जनावरले क्षति नपुर्‍याउने बालीको रुपमा तोरी खेती गरिएको हो।’

महतोले अहिले १२ कट्ठा क्षेत्रफलमा तोरी खेती गरेका छन्। यहाँका कृषक अहिले समूहगतरुपमा तोरी खेती गर्दै आएका छन्। समूह निर्माण गरेर तोरी खेती गर्नेको संख्या बढेको उनले बताए।

अहिले यस क्षेत्रमा मात्रै २०० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको ज्ञान केन्द्रका योजना अधिकृत अर्यालले जानकारी दिए। खकृषि ज्ञान केन्द्र चितवनबाट प्रथम वर्ष सञ्चालन गरिएको तोरी ब्लकको कार्यक्रमले समेत कृषकलाई यस खेतीतर्फ आकर्षण बढाएको उनले बताए। चितवनमा मोरङ–२, प्रीति, प्रगति र चितवन स्थानीयजस्ता जातका तोरी लगाइँदै आइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.