जिल्ला सचिव भन्छन् : साथीहरूले सामान्य सहयोग मागे होलान्

|

धनगढी : सुदूरपश्चिमका पहाडी तथा तराईका जिल्लाहरूमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्दा आतंक मच्चाएको छ।

विभिन्न जिल्लाका विभिन्न सामुदायिक वन, कर्मचारी, जनप्रतिनिधि तथा संस्थाबाट विप्लवका कार्यकर्ताले चन्दा असुल्न थालेका हुन्।

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमै पनि विप्लवका कार्यकर्ताले चन्दा असुलीको आतंक फैलाएका छन्। उनीहरूले जिल्लाको भजनी नगरपालिकास्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहबाट ३ लाख, सरस्वती सामुदायिक वन उपभोक्ता समूहबाट दुई लाख, सयपत्री सामुदायिक वन उपभोक्ता समूह भजनी–९, डोङपुरबाट २ लाख ५० हजार, जनज्योति र सोनिया सामुदायिक वन उपभोक्ता समूह भजनी–९, डोङपुरबाट १ लाख २० हजार, घोडताल सामुदायिक उपभोक्ता समूह भजनी–९ पचमुडियाबाट ५० हजार रुपैयाँ चन्दा भन्दै असुल गरेको खुलेको छ।

पार्टीका कार्यकर्ताहरुले लेटरप्याडमा आर्थिक सहयोग गरिदिन भन्दै पत्र दिन थालेका छन्। ‘हामीलाई सहयोग गर्न पत्र पठाएका थिए, थोरै रकम दिन खोज्दा तोकेरै दुई लाखमाथि दिन भनेर दबाब दिए। हामीले बाध्य भएर रकम दियौँ,’ एक उपभोक्ता समितिका अध्यक्षले भने।

सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले स्थलगत अनुगमनका क्रममा पनि सामुदायिक वनबाट चन्दा आतंकको गुनासो आएको जनाएको छ। समितिका सभापति हर्कबहादुर कुँवरले सामुदायिक वनहरुमा विप्लव कार्यकर्ताको चन्दा आतंक रहेको गुनासो आएको बताए।

उनले भने, ‘हामीले चुरे, भजनी र चुरे फेदीका सामुदायिक वनहरुको स्थलगत अनुगमन गरेका हौँ। केही सामुदायिक वनका पदाधिकारीले चन्दा मागिएको गुनासो सुनाएका छन्। हामीसँग प्रमाण सुरक्षित छ।’

साथीहरूले सामान्य सहयोग मागे होलान्

यता, नेपाल कम्युनिष्ट पार्टी कैलालीका सचिव दिपेन्द्र चलाउनेले पनि चन्दाबारे गुनासो आएको बताए। ‘साथीहरुले सामान्य सहयोग मागेका हुन सक्छन्,’ उनले भने, ‘चन्दा आतंक नै मच्चाएको कुरामा सत्यता नहोला। जिल्ला नेतृत्वबाट त्यस्तो कुनै निर्देशन भएको छैन।’

बझाङमा  वडाध्यक्ष कुटिए

बझाङमा पनि विप्लव समूहका युवाहरुको समूहबाट वडाध्यक्ष कुटिएका छन्। जिल्लाको बित्थरचिर गाउँपालिका–८ का अध्यक्ष जयबहादुर मल्ल युवाको समूहबाट कुटिएका हुन्। उनलाई मोसोसमेत दलिएको छ। 

आइतबार साँझ १०-१५ जना युवाहरुको समूह वडा कार्यालयभित्रै प्रवेश गरेर कर्मचारीहरूमाथि हातपात गर्दै वडाध्यक्षलाई कुटपिट गरेको बताइएको छ। एक लाख पाँच हजार रुपैयाँ माग गरेका युवाहरुले अध्यक्षमाथि कुटपिट गरेको बझाङ प्रहरीले बताएको छ। उनी उजुरीका लागि प्रहरीमा जाँदैछन्। रुपैयाँ नदिए ज्यानमार्ने धम्कीसमेत दिएको उनले बताए।

उनीहरू नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ता रहेको वडाध्यक्षले बताए। वडाध्यक्ष मल्लले भने, ‘१०-१५ जनाको समूह थियो। कार्यालयमै प्रवेश गर्दै कालोमोसो लगाए। कुटपिट गरे। के गर्ने? गाउँलेले बचाए।’ हतियारसहित उनीहरूको आएको उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.