विज्ञ भन्छन् : नर्सको अभाव हुनसक्छ

|

काठमाडौं : सरकारले वैदेशिक रोजगारीका लागि १० हजार स्वास्थ्य जनशक्ति (नर्स) लाई बेलायत पठाउने तयारी गरेको छ। यो विषयमा बेलायत र श्रम मन्त्रालयबीच समझदारी समेत भइसकेको छ। 

पहिलो चरणमा दुई हजार नर्स जाने बेलायतको तयारी छ। 

वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ। यसअघि जापान, इजरायललगायत मुलुकसँग नेपालले विशिष्टिकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ।

पहिलो चरणमा इजरायलमा केयर गिभरका रुपमा श्रमिक पठाएको छ। छिट्टै नेपाली श्रमिकलाई स्वास्थ्य क्षेत्रमा पनि पठाउने तयारी भइरहेको छ।  
 
नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्ने र छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग बेलायत सरकारले बताएको श्रम मन्त्रालयले जनाएको छ।

सरकारले वैदेशिक रोजगारीको नयाँ गन्तव्य खोजिरहेको थियो। गन्तव्य मुलुक खोजी रहँदा श्रमिक लैजाने प्रस्ताव आउनु नेपालका लागि अवसर भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल बताउँछन्। 

यसरी वैदेशिक रोजगारीको अवसर आउँदा नेपालमा न्यून पारिश्रमिकमा काम गर्दै आएका नर्सहरु विदेश पलायनको खतरा छ। नेपाल नर्सिङ संघका अनुसार नेपालमा नयाँ पुराना गरी १ लाख ३ सय लाइसेन्स प्राप्त नर्स रहेका छन्। जसमध्ये २८ हजार वैदेशिक रोजगारीको शिलशिलामा अहिले नै विदेशमा छन्।

१५ हजार नर्स सरकारी र १५ हजार निजी क्षेत्रमा आबद्ध छन्। 

तथ्यांक अनुसार बाँकी नर्सहरु वेरोजगार देखिएका छन्। तर बेरोजगार देखिएका नर्सहरू पनि पूर्णरुपमा बेरोजगार  नभएको संघको भनाइ छ। नर्सिङ संघकी अध्यक्ष मानकुमारी राईका अनुसार उनीहरु बिना दरबन्दी,कम पारिश्रमिकमा काम गर्दै आएका छन्। 

कम पारिश्रमिकमा काम गर्दै आएका स्वास्थ्यकर्मी आकर्षित तलब सेवा सुविधा पाउँदा विदेशिने निश्चित छ। 

यसरी सरकारले दक्ष जनशक्तिलाई देशमा रोजगारीको सुनिश्चितता गर्न नसक्दा समस्या भएको संघको भनाइ छ। सरकारले नेपालमा उत्पादन भएका नर्सलाई विदेश पठाउन नहुने अध्यक्ष राईको भनाइ छ।

संकटका समयमा नेपालमा खटेका नर्सलाई तलब, सेवा सुविधा थप गरी स्वदेशमा नै राख्नु पर्ने उनको भनाइ छ। उनले भनिन्,‘सरकारले  यति नै नर्स पठाउने भन्ने आधिकारिक धारणा संघमा आएको छैन। तर,दक्ष जनशक्ति विदेश पठाउँदा नेपालमा जनशक्ति अभाव हुन्छ।’ 

यतिबेला कोरोना भाइरस विश्वभरी महामारीको रुपमा फैलिएको छ। नेपालको दक्ष जनशक्ति विदेश पलायन हुँदा नेपालको स्वास्थ्य क्षेत्रमा संकट पैदा हुने विज्ञहरुले बताउँदै आएका छन्।  

विश्व नै कोरोना महामारीबाट गुज्रिरहेको अवस्थामा दक्ष जनशक्ति विदेश पठाउन नहुने जनस्वास्थ्य विज्ञ शरदराज वन्त बताउँछन्। स्वास्थ्यकर्मी आवश्यक पर्ने बेलामा सकारले स्वास्थ्यकर्मी विदेश पठाउन नहुने उनको भनाइ छ।

‘हाम्रो जस्तो विकासोन्मुख देशले निकै लामो समय लगाएर तयार गरेको दक्ष जनशक्ति विदेश पठाउनु हुँदैन,’उनले भने ।

आर्थिक हिसाबले हेर्दा नेपाली नर्सको नेपालमा भन्दा विदेशमा राम्रो अवसर छ। विदेश जानका लागि नर्स पढेको भन्ने 'ट्रेन्ड' जस्तै चलेको छ। उनीहरु आफूखुसी रोजगारीको खोजीमा विदेशिएका छन् तर सरकारले नै पठाउँदा विदेशिनेको लर्काे हुन्छ। जसका कारण भोलि स्वास्थ्यकर्मी नै अभाव हुने दिन आउने जनस्वास्थ्य विज्ञ वन्तको भनाइ छ।  ​

अवसरको खोजीमा विदेशिन बाध्य 

पछिल्लो समय आकर्षक तलब सुविधाको लोभमा परि नेपाली नर्सहरु अवैध बाटो हुँदै विदेशिने गरेका छन्। सरकारले स्टाफ नर्सको मासिक पारिश्रमिक ३० हजार तोकेको छ। तर,निजी क्षेत्रमा काम गर्न नर्सले ८ देखि १० हजारमा काम गर्नुपरेको गुनासो आउने गरेको नर्सिङ संघले जनाएको छ। 

राम्रो कमाइ हुने आसले विचौलियामार्फत् बेलायत पुगेका नेपाली नर्सको समस्यामा परेको नेपाल नर्सिङ संघकी अध्यक्ष राईले बताइन्। सरकारबाट यकिन तथ्यांक आएको छैन। तर,नेपाली नर्सले विदेशमा दु:ख पाएको मौखिक जानकारी आएको राईले बताइन्।  

लाखौं खर्च गरेर नर्सिङ पढेकाहरू रोजगारी अभाव तथा थोरै तलबमा काम गर्नुपर्ने भएकाले राम्रो कमाइको लोभले विदेशिने गरेका छन्। विचौलियाले विभिन्न बाहनामा राम्रो कमाइ हुने भन्दै विदेश पुर्‍याएर अलपत्र पार्ने  गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.