|

काठमाडौं : निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। १९ सिटका लागि सातै प्रदेशमा मतदान हुने तालिका छ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको जानकारी दिए। मतदान सकिएपछि दलहरूको बैठक बसेर भोलि नै मतगणना गरिने पौडेलले बताए। उनका अनुसार कुनै अवरोध नभए भोलि नै मत परिणाम सार्वजनिक गरिने छ।

आयोगले मतदानका लागि आठवटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ। सात प्रदेशमा कुल दुई हजार २५ जनामतदाता छन्। यस निर्वाचनमा ५३२ प्रदेशसभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्।

राष्ट्रिय सभाका २० सदस्यको चार वर्षे कार्यकाल आगामी फागुन २१ मा सकिँदैछ। जसमा नेकपा (एमाले)का आठ, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का चार–चार, नेपाली कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । २० मध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुने छन् भने १९ जना मतदान प्रक्रियाबाट निर्वाचित हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.