|

काठमाडौं : बेलायत र चीनबाट ६१ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान स्वरुप आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग , व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका अनुसार जनवरीभित्रै उक्त खोप नेपालमा आउन लागेको हाे। 

चीनले ४० लाख डोज साइनोभ्याक र बेलायतले २१ लाख डोज एस्ट्राजेनेका खोप अनुदानस्वरुप दिन लागेको हो। बेलायतले दिने एस्ट्राजेनेका खोप नेपालमा प्रयोगमा आइसकेको भएपनि चीनले दिन लागेको साइनोभ्याक खोप नेपालमा पहिलो पटक आउन लागेको खोप हो।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले पहिले ०.५ एमएलको सिंगल डोजका लागि अनुमति भएपनि हाल १ एमएलको डवल डोजको लागि अनुमति आएको हुँदा अब खोप आउँदा १ एमएलको डवल डोजवाला खोप आउने बताए।

साइनोभ्याक खोपलाई औषधि व्यवस्था विभागले यसअघि नै आपतकालिन प्रयोगको लागि अनुमति दिइसकेको छ। 'यो खोप भेरोसेल जस्तै हो, पहिलो डोज भेरोसेल लगाएकाले दोस्रो डोजको रुपमा साइनोभ्याक प्रयोग गर्न मिल्छ', चौरसियाले भने।

यसअघि पनि चीनले खोप अनुदान दिदै आएको थियाे। भारत सरकारले अनुदान स्वरूप दिएको १० लाख कोभिसिल्ड खोपबाट नेपालमा गत वर्ष माघ १४ गतेबाट  कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो।

केही महिना खोप आपूर्तिमा ढिलाइ भए पनि पछिल्लो समय नेपालमा कोरोनाविरुद्धको विभिन्न कम्पनीले उत्पादन गरेको खोप नेपालमा नियमितरूपमा आइरहेको छ।

हालसम्म नेपालमा चार करोडभन्दा बढी डाेज खोप आइसकेको छ भने २ करोड ९४ लाखभन्दा बढी खोप लगाइसकिएको छ। नेपालमा कोभिडविरुद्ध भेरोसेल, कोभिसिल्ड, एस्टाजेनेका, जाेनसन, फाइजर, मोडर्ना लगायतका खोपहरू लगाइएको छ ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.