|

विराटनगर :  माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पाँचदलीय गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ भने राप्रपाले पनि आफ्ना २ उम्मेदवारलाई प्रतिस्पर्धाको मैदानमा उतारेको छ।

निर्वाचनको माहोल तातिरहेको बेला सरकारी कागजात कीर्ते मुद्दामा दोषी देखिएकी एमालेकी सांसद गुलेफुन खातुन मतदान प्रक्रियामा सहभागी होलिन् कि नहोलिन् भन्ने चासो सबैलाई बढेको छ।

खातुन समानुपातिकतर्फकी सांसद हुन्।

सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवानाको फैसला सुनाएपछि उनी फरार छिन्।

उनी लामो समयदेखि प्रदेशसभाको बैठकमा सहभागी नभएकाले उनीबारे जानकार नरहेको मोरङ प्रहरीको दावी छ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा ३ पदका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ।

सत्तारुढ गठबन्धनका तर्फबाट खुलामा कांग्रेसका गोपाल बस्नेत, महिलामा एकीकृत समाजवादीकी जयन्ती राई र अल्पसंख्यकतर्फ जनता समाजवादीका हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी एमालेबाट खुलातर्फ गुरु बराल, महिलामा सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका छन्।

राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गराएका छन्।

राप्रपाको प्रदेशसभाका एक सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी ४ जनाको मतभार १ सय २० रहेको छ।

स्थानीय तहका अध्यक्ष र प्रमुख, उपाध्यक्ष र उपप्रमुख तथा प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३ सय ६४ मतदाता छन्।

निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता हुनेमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारवाही गरेपछि उनको पद रिक्त छ भने १ सय ३७ स्थानीय तहतर्फ २ सय ७४ मतदाता हुनेमा २ जनाको निधन भएका कारण २ सय ७२ जना मतदाता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.