घाइते : १ हजार ६ सय ८७ जना ! दोषी : सडक, चालक, सवारी र मौसम !

|

सुर्खेत : कर्णाली प्रदेशको हुम्लाबाहेक बाँकी ९ वटै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्। तर कुनै पनि जिल्लामा सडकको अवस्था गतिलो छैन। 

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमै सडकका खाल्डाखुल्डीले यात्रामा सकस हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ भने जिल्लाका बाँकी अन्य क्षेत्रमा गतिलो सडकमा यात्रा गर्नु कल्पना मात्र बनेको छ।

कर्णालीका सबै जिल्ला सदरमुकाम आसपास क्षेत्रमा कालोपत्रे तथा 'पिचजस्तो' देखिने सडक मात्र छ।

तर स्थानीय तहसम्म पुग्ने ग्रामीण क्षेत्रका सबै सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा दुर्घटनाको जोखिम उच्च छ। 

यहाँका कच्ची, साँघुरा र अप्ठ्यारा नयाँ-नयाँ सडक नै मान्छेका काल बन्न थालेका छन्। कर्णालीमा भएका अधिकांश सवारी दुर्घटनाको कारण सडक नै बन्न थालेका छन्।

तथ्यांकअनुसार कर्णालीमा पछिल्लो ३ वर्षभित्र ४ सय २२ जना मानिसको सडकमै ज्यान गएको छ भने १ हजार ६ सय ८७ जना घाइते भएका छन्।

कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतका अनुसार २०७५ साउनदेखि ०७८ मंसिरसम्म विभिन्न प्रकारका ८ सय ४१ वटा सवारी दुर्घटना हुँदा ४ सय २२ जनाले ज्यान गुमाउनु परेको हो।

तीमध्ये चालू आवको साउनदेखि मंसिरसम्म मात्र १ सय ८ जनाको सवारी दुर्घटनामा ज्यान गएको छ।

‘कच्ची सडक, तीव्र गति, थोत्रा सवारी, चालकको लापरवाही र खराब मौसमका कारण दुर्घटना बढेका हुन्,’ प्रदेश ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले भने, ‘ट्राफिक नियमको उल्लंघन गर्दा पनि सवारी दुर्घटना बढेको छ। यस विषयमा हामीले ठाउँठाउँमा सचेतनाका कार्यक्रम गर्दै आएका छौं।’

कुन जिल्लामा कति ?

प्रदेश ट्राफिक कार्यालयका अनुसार २०७५ साउनदेखि ०७८ मंसिरसम्म सुर्खेतमा ३ सय २९ सवारी दुर्घटना हुँदा १ सय ५ जनाको मृत्यु भएको छ भने ६ सय १२ जना घाइते भएका छन्।

यस्तै सल्यानमा १ सय ४७ सवारी दुर्घटना हुँदा ६६ को मृत्यु, ३ सय ३९ घाइते, रुकुमपश्चिममा ५९ दुर्घटना, ३९ मृत्यु, १ सय ३५ घाइते, जाजरकोटमा ५६ दुर्घटना, ४५ मृत्यु, १ सय २१ घाइते र दैलेखमा १ सय १४ दुर्घटना, ४६ मृत्यु, २ सय ५६ जना घाइते भएका छन्।

त्यस्तै कालिकोटमा ४९ दुर्घटना, २८ मृत्यु, ५९ घाइते, जुम्लामा ४५ दुर्घटना, २२ मृत्यु, ७१ घाइते, मुगुमा २० दुर्घटना, ४५ मृत्यु, ४० घाइते, डोल्पामा १६ दुर्घटना, १५ मृत्यु, २८ घाइते र हुम्लामा ६ दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.