|

बर्लिन : दक्षिणपश्चिम जर्मनीको हाइडलबर्ग विश्वविद्यालयको व्याख्यान हलमा सोमबार सशस्त्र व्यक्तिले गोली प्रहार गर्दा एक महिलाको मृत्यु हुनुका साथै तीनजना घाइते भएका छन्।

यसपछि आक्रमणकारीले आफ्नै हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

क्षेत्रीय प्रहरी प्रमुख सिगफ्राइड कोलमारले १८ वर्षीय संदिग्ध आक्रमणकारी उक्त विश्वविद्यालयमा जीवविज्ञानका विद्यार्थी भएको जानकारी दिए।

संदिग्ध व्यक्ति जर्मन नागरिक हुन् र उनको कुनै पुलिस रेकर्ड छैन। उनले गोली हान्नुअघि ‘मानिसहरूलाई सजाय हुनेछ’ भन्दै आफ्ना बुबालाई ह्वाट्सएपमार्फत सन्देश पठाएको बताए। 

आक्रमण किन भयो भन्ने हालसम्म थाहा हुन नसकेको कोलमारले बताए। आक्रमणकारी विगतमा मानसिक रोगबाट पीडित भएको खुलासा गरिएको छ।

प्रहरी अधिकारीले आक्रमणकारीको शव बाहिर फेला पारेका थिए। उनका साथबाट दुई थान राइफल र १०० राउन्ड गोली समेत बरामद भएको छ।

आक्रमणमा मारिएकी महिला २३ वर्षीया जर्मन नागरिक भएको प्रहरीले पहिचान गरेको छ। घटनामा १९ र २१ वर्षीया दुई जर्मन महिला र २० वर्षीय जर्मन मूलका इटालियन पुरुष घाइते भएका छन्।

जर्मन चान्सलर ओलाफ शुल्जले घटनाप्रति दुःख व्यक्त गरेका छन्। हाइडलबर्ग फ्र्यांकफर्टबाट दक्षिणमा स्थित छ र लगभग १ लाख ६० हजार बसोवास गर्छन्। उक्त विश्वविद्यालय जर्मनीको सबैभन्दा प्रसिद्ध विश्वविद्यालयहरूमध्ये एक हो।

-एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.