|
सेप्टेम्बर २०१९ मा संयुक्त राष्ट्रसंघको ७४ औँ महासभालाई सम्बोधन गर्दै तत्कालीन इरानी राष्ट्रपति हसन रुहानी। -एपी

संयुक्त राष्ट्रसंघ : इरानले संयुक्त राष्ट्रसंघको महासभामा मतदान गर्न पाउने भएको छ। इरानले १९३ सदस्यीय महासभामा मतदान गर्न पाउने राष्ट्रसंघले सोमबार जनाएको छ।

राष्ट्रसंघको नियमित परिचालन बजेटमा पर्याप्त रकम तिरेको बताउँदै उसले मतदान अधिकार पाएको राष्ट्रसंघले जानकारी दिएको हो।

संयुक्त राष्ट्रसंघको बडापत्रमा अघिल्ला दुई पूरा वर्षका लागि आफूले भुक्तान गर्नुपर्ने रकम बराबर वा त्योभन्दा बढी रकम तिर्न बाँकी सदस्यहरूले आफ्नो मतदानको अधिकार गुमाउने उल्लेख छ।

राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले जनवरी १२ मा महासभामा जारी गरेको पत्रअनुसार आठ देशले आफ्नो मताधिकार गुमाएका थिए।

तीमध्ये तीन देशहरू, सुडान, एन्टिगुवा र बार्बुडा र रिपब्लिक अफ कंगोले गत हप्ता आफ्नो बक्यौता तिरेर आफ्नो मताधिकार सुरक्षित गरे। गिनी र भानुआतुले पनि हालै मतदानको अधिकार पाएका छन्।

गुतेरेसको पत्रअनुसार मतदानको अधिकार पाउन आवश्यक न्यूनतम भुक्तानी इरानका लागि १ करोड ८४ लाख १२ हजार ४३८ अमेरिकी डलर थियो।

इरानले अमेरिकी प्रतिबन्धबाट मुक्त भएको इरानी बैंक कोष प्रयोग गरेर १ करोड ८० लाख डलरभन्दा बढी रकम भुक्तान गरेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जानकारी दिएको छ।

पेट्रोलियम पदार्थ किनेबापत दक्षिण कोरियामा दुईवटा बैंकमा इरान सरकारको ७ अर्ब अमेरिकी डलर छ। अमेरिकाले नाकाबन्दी लगाएर उक्त रकम प्रयोग गर्न दिएको थिएन। अमेरिकाले नाकाबन्दी लगाएका कारण राष्ट्रसंघलाई आफूले दिनुपर्ने रकम दिन नसकेको इरानले बताउँदै आएको थियो।

इरानले राष्ट्रस‌ंघलाई दिनुपर्ने आफ्नो रकम भुक्तान गरिदिन अमेरिकाको मित्र दक्षिण कोरियालाई अनुरोध  गर्दै आएको थियो। 

युनाइटेड स्टेट्स ट्रेजरीसँगको परामर्शपछि उक्त भुक्तानी गरिएको हो। अमेरिकी नेतृत्वमा राष्ट्रस‌ंघले इरानमा नाकाबन्दी लगाउँदै आएको छ।

नाकाबन्दीका कारण इरानको पेट्रोलियम पदार्थ बेच्न पाउँदैन। साथै इरानी सरकार र जनताले विदेशमा रहेको आफ्नो सम्पत्ति पनि प्रयोग गर्न पाउँदैनन्। यसले इरानी अर्थतन्त्र ध्वस्त भएको छ। 

यो कदम इरानसँगको सन् २०१५ को आणविक सम्झौतामा अमेरिका पुनः सामेल हुने सम्भावित संकेत हो। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१८ मा यो सम्झौता भंग गरेका थिए। 

-एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.