|

काठमाडौं : नेपालमा अवैध क्रिफ्टो करेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा ३७ करोड ६४ लाख ११ हजार एकसय बराबरको बिगो कायम गरी मुद्दा दायर भएको छ।

राजस्व अनुसन्धान विभागले मंगलबार काठमाडौँ जिल्ला अदालतमा गरेको मुद्दामा एउटा परिवारकै संलग्नता रहेको दाबी गरिएको छ। विभागका अनुसार कैलाली लम्कीचुहा-१०, स्थायी घर भई हाल काठमाडौँको कालो पुलमा बस्नै दिनेश खड्काको परिवारमाथि मुद्दा दर्ता गरेको हो।

खड्काले ई-स्क्रेलल र बाइनान्स नामको एपमार्तफ पैसाको कारोबार गर्थे। यो यस्तो एप मानिन्छ, जसमा डलरको कारोबार हुने गर्छ।  यस्तै, गत माघ ७ गते क्रिप्टो करेन्सी र बिट क्वाइनबाट वित्तिय कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गर्‍यो।  

महानगरीय अपराध महाशाखाको टोलीले मीनभवनबाट तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका- ११ कर्नास घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौं-११ थापाथली बस्ने २७ वर्षीय  दीपेनराज श्रेष्ठ छन्।

पक्राउ व्यक्तिहरू मध्येका राजन भट्टराईले हालसम्म ९७५ जनासँग एक हजार ९२६ पटक कारोबार गरेको तथा मंसिरदेखि पुससम्म लगभग २६ लाख रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ। अन्य दुई जनाले समेत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

हालसम्म ५ वटा अनुसन्धान, ४ वटा अदालतमा, एउटा अनुसन्धानमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी केही घटनाहरू भएको जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले  हालसम्म क्रिप्टोकरेन्सीका ५ वटा घटना अनुसन्धान भएको जानकारी दिए।

'एउटा भने अनुसन्धानका क्रममा छन् भने ४ वटा अदालतमा गइसकेको अवस्था छ', उनले भने। बैंकमा अस्वभाविक रकम देखिएको तर त्यसको कानूनी रुपमा रकमको स्रोत नदेखिएको खण्डमा प्रहरीले अनुसन्धानको दायरा ल्याउने प्रवक्ता महतोले जानकारी दिए।

'क्रिप्टोकरेन्सीको उजूरी विशेष गरि कहिलेकाहीँ राज्यका विभिन्न निकायबाट नै आउने गरेको छ। भौतिक रुपमा नभइ यो अनलाइनका रुपमा हुने भएकाले यसमा संग्लनलाई खोज्न असहज भएपनि कठिन भने छैन', प्रवक्ता महतोले भने।

राष्ट्र बैँकको चेतावनी

नेपाल राष्ट्र बैंकले गैर कानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने जनाएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टोकरेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो।

राष्ट्र बैंकले विज्ञप्तिमा भनेको छ, ‘हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीहरुको कारोबार तथा प्रयोग गर्न तथा त्यस्ता करेन्सीहरुसँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र ज्वइकल, क्राउड, सोमेक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा​ आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त भएको छ। सो सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ।’

नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपयुक्त बमोजिम गैरकानुनी वित्तीय औजारमा आवद्ध भइ कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले पैसा बाहिरी स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख छ। 

किन गैह्र कानूनी छ क्रिप्टोकरेन्सी?

विनिमयका माध्यमका रुपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्राका रुपमा यसलाई प्रयोग गरिन्छ। भर्चुअल करेन्सीको नाममा सर्वसाधारणलाई जोखिममा  पार्ने, उनीहरूको बचत डुब्ने, बढी लोभ देखाएर लगानी गर्न लगाउने देखिएकोले यसतर्फ सबै गम्भीर हुन राष्ट्र बैंकका प्रवक्ता डा, गुणाकर भट्टले आग्रह गरे।

'क्रिप्टोकरेन्सीको विशेषता भनेको डिजिटल वा भर्चुअल अर्थात् कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो। यसलाई नेपालको केन्द्रीय बैंकले मान्यता नदिएको कारणले यो धन्दा गैह्रकानूनी हो', प्रवक्ता भट्टले भने, 'विभिन्न एपमार्फत डलरको आदानप्रदान गर्ने भएकोले यो सोझै व्यक्तिको हातमा वा बैंकको खातामा पुग्छ।'

आम सोझा सर्वसाधारणलाई छोटो समयमा धेरै मुनाफा दिने भन्दै विभिन्न व्यक्तिले उनीहरूको रकम असुलेर यसमा लगानी गर्ने गरेको पाइएको उनले बताए।  यो गलत काम विरुद्ध सर्वसाधारणलाई सुसूचित बनाउन, वित्तिय साक्षरताको टुलका रुपमा बैंकले विज्ञप्ती जारी गरिसकेको छ।

'क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी वा हाइपर फण्डको नाममा नेपालबाट रकम बाहिरिन सक्ने,विदेशमा काम गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले कमाएको रेमिट्यान्स पनि विदेशमै परिचालन हुन सक्ने,दीर्घकालमा सर्वसाधारणकै रकम गुम्न सक्नेप्रति बैंक गम्भिर रहेको प्रवक्ता भट्टले थाहाखबरलाई बताए। 

विश्वका विभिन्न मुलुकमा यसलाई लागू गरेपनि नेपालमा भने तत्कालै लागू हुन नसक्ने प्रवक्ता भट्टले बताए। 'नेपालको सन्दर्भमा हाम्रो अर्थतन्त्रको विशेषता, हाम्रो विदेशी विनिमय सञ्चिति लगायत तमाम विषयहरु हेर्नुपर्छ', उनले भने, 'क्रिप्टोकरेन्सी प्रचलनमा ल्याउँदा कति कारोबार हुन्छ? नेपाललाई कति जोखिम हुन्छ भन्ने हो। रेकर्ड नहुने कुराको जोखिम अत्याधिक हुन्छ। यसले नेपाल भित्रिने रेमिट्यान्समा पनि असर पर्न सक्छ।'​

'सर्वसाधारण पनि सचेत हुनुपर्छ'

क्रिप्टोकरेन्सीको हकमा केहि मान्छेहरू ठगिएको भन्ने सुचना राष्ट्र बैंकले पनि प्राप्त गरेको छ। क्रिप्टोकरेन्सीलाई राज्यले कानूनी मान्यता नदिएको कारणले यसतर्फ आकर्षण गराउने गिरोहलाई कानूनको दायरामा ल्याउने, नेपालमा कानुन कार्यान्वयनमा लागेका व्यक्ति वा संस्थाले यसलाई चासोको रुपमा हेरिरहेका ब्यूरोका प्रवक्ता महतोले बताए।

यो नेटवर्किङ प्रकृतिको व्यवसाय छ। यसमा मान्छेलाई प्रलोभनमा पार्ने, कतिपय विषयमा आम सर्वसाधारणलाई थाहा नै नहुने महतोले जानकारी दिए।

'आम नागरिकले पनि आफ्नो पैसा कहाँ लगानी गरिरहेको छु। कुनै मान्छे आएर आफ्नो बचत रकम हामीलाई दिनुस् हामी केहि दिनमा यसलाई निश्चित भन्दा बढि मुनाफा दिन्छौं भन्छ भने त्यसमा केहि न केहि गडबढि छ भन्ने जान्दा हुन्छ', ब्यूरोमा प्रवक्ता महतोले भने। नागरिकले पनि केहि रकमको लोभमा यसमा फस्न नहुनेतर्फ आफू सचेत रहन प्रहरीले सचेत गराएको छ।

केहि रकमको लोभमा सर्वसाधारणले आफूसँग मौज्दात रहेको सुन, घरहरू धितो राखेर पैसा लगानी गर्ने गरेको भेटिएको राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले बताए। 'यो कुनै सरकारले निकालेको सुरक्षण पत्र पनि होइन। कुनै पनि बैंक वा कम्पनीले निकालेको सेयर पनि होइन्।  जसमा लगानीको कुनै आधार नै छैन। लगानीको प्रमाण नै छैन भने त्यो त व्यक्तिलाई जोखिममा पारिहाल्छ', उनले भने।

नेपालमा अनुमानित कति व्यक्ति यसमा संग्लन छन् भन्ने विषय एकिन भन्न नसक्ने प्रवक्ता भट्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.