|

त्यतिबेला गुल्मी जिल्लाको खड्गकोट गाविस (हाल कालीगण्डकी गाउँपालिका) को कोरेङ गाउँमा बिजुली पुगिसकेको थिएन। मान्छेहरू अँध्यारो काट्न टुकी, पानस बाल्थे, अगुल्टो लिएर हिँड्थे।

आफ्नो स्कुले जीवन त्यही अँध्यारोमा बिताएका दिनेश ढकाल अहिले त्यो ठाउँको पहिचान बनेका छन्। ​कोरेङ गाउँ 'कालो केशमा' गाउने केटाको गाउँ भनेर चिनिन थालेको छ।

टुकीकै प्रकाशमा पढे पनि उनको पढाइ अब्बल थियो। जसले गर्दा उनले घरमा धेरै काम गर्नु परेन। तर, घाँस काट्दा कहिलेकाहीँ हात काटेको अनुभव उनीसँग छ, आफ्नो हातमा गोबरको गन्ध उनी अझै पनि महशुश गर्न सक्छन्। 

सानैदेखि जिज्ञासु दिनेश धेरै समय रेडियो नाटक, समाचार, गीत सुनेर बिताउँथे।

घरिघरि कसैले नसुन्ने गरी गुनगुनाउँथे पनि। तर, ३ महिनाअघि सार्वजनिक भएको उनको पहिलो गीत 'कालो केशमा रेलिमई'लाई लाखौँले सुने र मन पनि पराए। 

उनकै शब्द, संगीत र स्वर रहेको उक्त गीतलाई यू-ट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ।

प्रस्तुत छ, कालो केशमा रेलिमई र यसका गीतकार, संगीतकार तथा गायक दिनेश ढकालको सांगीतिक यात्रा समेटिएको सामग्री 

च्याप्टर नेपाल आइडल प्रि-अडिसन

एउटा मात्र गीत गाएका दिनेशलाई अहिले गायकको रुपमा लाखौँ दर्शकले चिन्छन्। देश तथा विदेशका साँस्कृतिक कार्यक्रमबाट दिनेशलाई निमन्त्रणा आउँछ, राष्ट्रिय स्तरका रियालिटी शोमा उनको गीत गाइन्छ। 

उनको सांगीतिक यात्राको एउटा महत्वपूर्ण च्याप्टर रियालिटी शो 'नेपाल आइडल' पनि हो। जहाँ उनी प्रि-अडिसनबाटै बाहिरिएका थिए। 

'छानिन्छु कि छानिन्नँ भनेर त्यस्तो केही सोचेकै थिइनँ। पहिलो कुरा त जजहरूमा को बस्ने हो? उनीहरूको मुड कस्तो हुने हो? मेरो मुड कस्तो हुने हो? कस्तो गाउने हो? भन्ने हुन्छ,' नेपाल आइडलबाट त्यसरी बाहिरिनुलाई त्यतिबेला पनि सामान्य रुपमा लिएको उनी बताउँछन्। 

उनी भन्छन्, 'रियालिटी शोलाई त्यति ठूलो कुरा मान्दिनँ। अहिले आएर सोच्दा अडिसनसम्म चाहिँ जान दिनुपर्ने हो जस्तो लाग्छ। तर ठिकै छ, ठूलो कुरै भएन।' 

उनले गीत गाउनुको उद्देश्य कुनै रियालिटी शोको ताज पहिरिनु मात्र कहिल्यै थिएन। संगीत उनको भाषा थियो।

नेपाल आइडलबाट बाहिरिएपछि उनी आफूलाई निखार्नतिर लागे। 

'कुनै म्युजिक कलेज गएर पढिँन। दुई महिना लुम्बिनी कला केन्द्र बुटवलमा गएर सिकेँ। त्यसलाई नै निरन्तरता दिन चाहिँ सकिनँ। तर, सिकाइको क्रम भने जारी नै रह्यो।' 

चमेलीको तेल माया बम्बई जाने रेल

दिनेश आफूभित्र बलिरहेको संगीतको ज्योती देख्न सक्थे तर त्यसलाई कसरी जोगाइराख्न, अझै चम्किलो कसरी बनाउने भन्ने उनलाई ठ्याक्कै थाहा थिएन।

त्यस्तैमा उनले मुम्बईस्थित शंकर महादेवन एकेडेमीको बारेमा सुने। उनलाई त्यहाँ गएर संगीत पढ्न छटपटी हुन थाल्यो।

सबै मेसो मिलाए र सपनाको झोला बोकेर उनी मुम्बई हानिए। 

उनलाई चर्चित गायक बन्छु, गीत गाएर खुब पैसा कमाउँछु भन्ने त थिएन तर एउटा राम्रो गायक बन्छु भन्ने चाहिँ थियो।

गोरखपुरबाट रेल चढ्दा उनी उत्साह र बेचैनीले भरिएका थिए। 

उनलाई लागेको थियो 'यो रेलले मलाई मेरो सपनाको सहरमा पुर्‍याउने छ र म एक-एक गर्दै आफ्ना सबै सपना पूरा गर्नेछु।'

हुन पनि उनको यात्रा मुम्बई पुगेर सपना पूरा गरेर जीवन बदलेका कलाकारबाट नै त प्रभावित थियो।

'तर, मुम्बई हामीले सोचेको जस्तो सजिलो कहाँ रहेछ र? मान्छे नै मान्छेको भीड भए पनि एक्लो भइने रहेछ। बिरानो लाग्ने रहेछ। अनि शंकर महादेवन एकेडेमी हाम्रो पहुँचभन्दा धेरै माथिको कुरा रहेछ,' उनी सम्झन्छन्, 'म यही गर्छु भनेर मेन्टल्ली तयार भएर प्लान गरेर, त्यसमा दृढ भएर गएको भए सकिन्थ्यो पनि होला। धेरैले गरेका पनि छन्। म जोशमात्र लिएर अलिकति काँचो हिसाबले गएँ।' 

'जसरी पनि गर्छु भनेर गएको भए हुन्थ्यो होला। भएन ठीकै पनि भयो। मलाई पश्चाताप पनि छैन। कुनै कुराको पनि हुँदैन। म पश्चातापभन्दा पनि त्यसले सिकाएको पाठ लिनुपर्छ भन्ने मान्छु।'

मुम्बईका बारेमा केही नबुझी गएका दिनेशले त्यहाँ पुगेर एउटा कुरा यो शहर मेरा लागि होइन भन्ने बुझे। सपनाको शहरमा उनको एउटा सपना भने पूरा भयो।

'त्यहाँ ४ महिना काम गरेँ। काम गरेको पैसाले गितार किनेँ। आफैंले कमाएर गितार किन्ने सपना भने पूरा भयो। म्युजिक पढ्ने सोचले गएको थिएँ गितारमात्र बोकेर आएँ।'

त्यही गितारको तारबाट उनले संगीत बुन्न सिके। त्यही गितारले उनीभित्रको गीतकार बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्यो। त्यही गितारले 'कालो केशमा रेलिमई' कम्पोज भयो। 

ती दिन सम्झिँदै उनी भन्छन्, 'मुम्बईको कथा गीतमा पनि जोडिएको छ। चमेलीको तेल माया बम्बई जाने रेल कैले हाँसो कैले आँशु पिरतीको खेल। एउटा सिर्जना भनेको आफ्नै यात्राहरू, आफ्नै अनुभूतिहरू, आफ्नै कथाहरू सुनाउनु न हो।'

आफूभित्रको गीतकार र संगीतकार खोतल्दा

उनले गीत त पहिलेदेखि नै गाउँथे तर आफैँले लेखेको गीत गाउँला त्यो पनि आफैँले भरेको संगीतमा त्यो उनले कहिल्यै सोचेका थिएनन्। 

पहिलो लकडाउन जतिबेला बाहिर गर्नका लागि धेरै कुरा थिएन, उनले आफूभित्र चिहाए। लेख्नका लागि आफैँलाई कलम दिए, आफैँले सोधे 'लेख्न सक्छस्?'

उनले लेखे। गीतमात्र होइन गीतसँग सँगसँगै संगीत पनि आफैँ बग्यो। आफूभित्र एउटा गीतकार र संगीतकार नदेखिने गरी हुर्किरहेको रहेछ भन्ने कुरा पनि उनले त्यतिबेलै थाहा पाए। त्यसमा मुम्बईबाट ल्याएको गितारले अहम् भूमिका खेल्यो।

उनी भन्छन्, 'मैले लेख्न सक्दोरहेछु भन्ने लागेको त्यतिबेलै हो। कालो केश पनि त्यतिवेलै लेखिएको गीत हो। गीतलाई एउटा नयाँ मेलोडी दिने, कम्पोज गर्ने भन्ने कुरा त झन् कहिल्यै सोच्दै नसोचेको कुरा थियो। तर, गर्दो रहेछु। त्यतिबेलै थाहा भयो।' 

सपना र जिम्मेवारीको सन्तुलन

आफूलाई गीत गाउँछु भन्ने थाहा हुँदा हुँदै पनि, आफूले गाएको सुन्नेहरूले मन पराउँदा पराउँदै पनि दिनेश गीत नै गाएर जीवन बिताउन सकिन्छ भन्नेमा दुविधामै थिए।

'पन्ध्र सोह्र वर्षको उमेरमा त्यो काँचो दिमागले तपाइ जे सपना देख्नुहुन्छ म यो गर्छु भनेर त्यो नै तपाईको अल्टिमेट चाहना हुन्छ जस्तो लाग्छ। मलाइ त्यतिबेला लागेको थियो म कुनै दिन गायक बन्छु भन्ने।' उनी भन्छन्, 'तर गाउँको केटो एसएलसी दिएर सहर पसेपछिको संघर्ष जस्तो हुन्छ मेरो पनि त्यस्तै भयो। सपना मात्र हुँदैन जिम्मेवारी पनि हुन्छ भन्ने कुराको बोध भयो। त्यसको सन्तुलन मिलाउन सकिएन कि के भयो केही समय गाह्रो भयो।' 

उनले जीविकोपार्जनका लागि धेरै वटा काम गरे। तर, यही काम म जीन्दगीभर गर्न सक्छु, यसैले मेरो सबै आवश्यकता पूरा हुन्छ, नभए पनि म चित्त बुझाउन सक्छु भन्ने जस्तो कुनै काम भएन। 

सबै तिरबाट थाकेर अन्तिम पटक भनेर उनले बेल्जियमको लागि भिसा लगाए त्यो पनि क्यान्सिल भयो। अहिले त्यो घटना सम्झिँदा उनी 'त्यता भएन त्यही भएर यता लाग्न पाइयो। राम्रै भयो' भन्छन्। उनी भन्छन्, 'हरेक सफलताको पछाडि एउटा संघर्षको कथा त हुन्छ नै। त्यो सामान्य कुरा हो। संघर्ष भन्दा पनि म त्यसलाई प्रोसेस भन्न रुचाउँछु।'

कालो केश रेलिमई पछि

'गाउँमा राम्रै परिवारको राम्रै पढिराखेको केटा काम केही गर्दैन म्युजिक भन्छ के भन्छ गितार बोकेर हिँड्छ समाजले सजिलै एसेप्ट गर्दैन। सुरुवात गाह्रै थियो।' उनी भन्छन्, 'मान्छेले हेर्ने दृष्टिकोण अर्कै थियो। अहिले उनीहरूको बोलीमा व्यवहारमा परिवर्तन पाउँछु।' 

उनी कालो केशलाई आफ्नो जिन्दगीको कोशेढुंगा त मान्छन् तर यो नै सबथोक होइन भन्ने उनले बुझेका छन्। उनी भन्छन्, 'यो जीवनकै एउटा माइलस्टोन त हो तर धेरै गर्न बाँकी छ। मेरो शब्द, संगीत, स्वरले अलि लामो समयसम्म म्युजिकमा केही गर्नुपर्छ भन्ने लागेको छ। पहिले म एक्लै थिएँ कतै बसेर लेख्थेँ। मेरा अडियन्स सिमित थिए। पछि मास बढेर गएपछि एक खालको प्रेसर एक खालको उत्साह सबै चिज हुँदो रहेछ।' 

गीत चलेपछि दिनेशलाई पनि लाखौँ दर्शकले चिन्न थाले। प्रत्यक्ष देख्दा फोटो खिचाउने रहर गर्न थाले। अटोग्राफ माग्न थाले। एउटा सेलिब्रेटीको जीवनमा घट्ने सबैजसो रोमाञ्चक घटनाहरू दिनेशको जीवनमा पनि घट्न थाले। 

यसलाई आफूले सामान्य रुपमै लिएको उनी बताउँछन्। तर, एउटा घटना छ जसले उनलाई पनि भावुक बनाउँछ। 

उनी सुनाउँछन्, ''तपाईको गाउँमा एकजना गीत गाउने केटा छ रे हो?' भनेर अर्को गाउँको एकजना आन्टीले बाटोमा भेट्दा हाम्रो आमालाई सोध्नु भएछ। हाम्रो आमाले 'गाउने केटाहरू छन्' भन्नुभएछ। अनि 'कालो केश गाउने मान्छे तपाईंको गाउँको हो?' भनेर त्यो आन्टीले सोध्नुभएछ। अनि आमाले 'मेरै छोरो हो' भनेर भन्नुभएछ। आमाले सुनाउनु भएको। यसले म आफै पनि इमोसनल भएको थिएँ।'

‘काली गण्ड तीर’

पहिलो गीतबाट नै लोकप्रिय बनेका दिनेश आफ्नो दोस्रो गीत 'काली गण्ड तीर'को तयारीमा रहेका छन्। जसमा उनी पश्चिमको आँधिखोला, कालीगण्डकी जस्ता नदी र त्यहाँका संस्कृती तथा जीवनशैलीलाई देखाउन चाहन्छन्। अबको दुई तीन महिनामा गीत दर्शकसम्म पुर्याउने लक्ष्य रहेको उनी बताउँछन्। 

पहिलो गीत नै दर्शकले यति धेरै मन पराइ दिएपछि दोस्रो गीतका लागि चुनौती थपिने उनी बताउँछन्। तर प्रेसर भने नलिने उनको भनाइ छ। उनी भन्छन्, 'म खास च्यालेन्जको हिसाबले मात्र हेर्छु। प्रेसर भनेको बाँधिने कुरा हो। म आफूलाई एक्सप्लोर गर्न चाहन्छु। च्यालेन्ज छ मान्छु तर प्रेसर लिदिनँ।'

तस्वीर: दिनेश ढकालकाे फेसबुकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.