एक वर्षमा ७२ हजार भिजिट भिसामा विदेशिए

|

काठमाडौं : सरकारले भिजिट भिसामा खाडीका देश तथा मलेसिया जान वार्षिक ६ लाख रूपैयाँ आम्दानी र ३ लाख रूपैयाँ खातामा देखाउनुपर्ने प्रावधान लागू गरेको छ।

पछिल्लो समय भिजिट भिसामा विदेशमा गई अलपत्र पर्ने नेपालीको संख्या बढेसँगै यो नियम लागू गरिएको गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार मलेसिया, खाडीका इराक, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत, कतार र बहराइन तथा खाडी नजिकका देश साइप्रस, इजिप्ट, इरान, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, टर्की जानेहरूका लागि यो नियम ल्याएको हो।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनु पर्छ। वैदेशिक रोजगारीमा गएका श्रमिक अलपत्र परे वा मृत्यु भए सरकारले उद्धार या शव ल्याउने व्यवस्था गर्छ।

धेरै जना छिटो र धेरै कमाउने प्रलोभनमा म्यानपावर, एजेन्टमार्फत भिजिट भिसामा  विदेश गई अलपत्र पर्ने गरेका छन्।

त्यसलाई रोक्न यो नियम लागू गरेको मन्त्रालयको भनाइ छ। पछिल्लो समय भिजिट भिसामा विदेश गएका नेपाली उतै काम गरी बस्ने गरेका छन्।

यसरी विदेश जाने श्रमिक महामारीका समयमा अझ धेरै समस्यामा पर्ने गरेका छन्। त्यसैले भिजिट भिसामा रोक लगाएको मन्त्रालयले जनाएको छ।

विश्वभरि कोरोनाको नयाँ भेरिएन्ट तीव्र गतिमा फैलिएसँगै भिजिट भिसामा विदेश गएका नेपाली विभिन्न देशमा अलपत्र पर्न थालेका छन्।

यसैलाई मध्यनजर गरी रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

कतिपय यसअघि पनि भिजिट भिसामा गएर उतै बस्ने गरेका थिए। ठूलो संख्यामा अलपत्र परेको समाचार आएको थिएन।

प्रवक्ता पोखरेलले भने, ‘विदेशमा अलपत्र परेका नेपालीलाई कसरी उद्धार गर्ने विषयमा श्रम मन्त्रालय, दूतावास, अध्यागमन विभागसँग छलफल भइरहेको छ।’

कति जान्छन् भिजिट भिसामा ?

पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर मानव तस्करी भएको गृह मन्त्रालयको अध्ययनले देखाएको छ। 

नेपालीहरू भिजिट भिसामा सबैभन्दा धेरै युएई र कुवेत जाने गरेका छन्।

यी देशमा भिजिट भिसामा जाने नेपालीहरू आफैँ नभएर म्यानपावर, एजेन्ट र कन्सल्टेन्सीमार्फत जाने गरेका छन्। यसरी गएका नेपाली समस्यामा परेको पाइएको छ।  

अध्यागमन विभागका अनुसार एक वर्षमा ७२ हजार नेपाली भिजिट भिसामा विदेश गएका थिए। विभागका अनुसार सन् २०२१ मा ७२ हजार ९४ जना भिजिट भिसामा विदेश गएका थिए।

सन् २०२१ को जनवरी, फेब्रुअरीमा कोरोनाका कारण उडान बन्द भएकाले विदेशिनेको संख्या शून्य छ। 

मार्चमा ७ हजार ८ सय ८०, अप्रिलमा ८ हजार २ सय ७, मेमा १ हजार ५ सय ६० जना भिजिट भिसामा विदेश गएको तथ्यांकले देखाएको छ।

त्यसैगरी जुन र जुलाईमा भिजिट भिसामा जानेको संख्या शून्य छ।

अगस्टमा १ सय ४२, सेप्टेम्बरमा १२ हजार ४ सय ३०, अक्टोबरमा १३ हजार ५ सय १२, नोभेम्बरमा १२ हजार ८ सय ५१, डिसेम्बरमा १५ हजार ४ सय १२ जना नेपाली भिजिट भिसामा विदेश गएका थिए।

यसरी गएका नेपाली कति फर्किए भन्ने तथ्यांक सरकारसँग छैन।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने, ‘सरकारसँग विदेश गएकाको मात्र तथ्यांक छ, फर्किएकाको तथ्यांक छैन। त्यसैले कति नेपाली विदेशमा छन् भन्ने जानकारी हामीसँग छैन।’

तर विदेशमा नेपाली अलपत्र परेको खबर आइरहेका छन्। अलपत्र नेपालीको उद्धार गर्न छलफल भइरहेको मन्त्रालयले जनाएको छ।

श्रम स्वीकृति लिएर गएका कामदार अलपत्र परे वा समस्यामा परे वैदेशिक रोजगार बोर्डले उद्धार गर्न सक्थ्यो।

वैदेशिक रोजगार बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले भने, ‘भिजिटमा गइ अलपत्र परेकालाई बोर्डले उद्धार गर्न सक्दैन, त्यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन।’

त्यसका लागि सरकारले नै पहल गर्नुपर्ने हुन्छ।

आकर्षक रोजगारीको लोभमा अलपत्र

आकर्षक रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई पुगेका १ सय १८ जना नेपाली अलपत्र परेका छन्।

त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायले भिजिट भिसामा रोजगारीको प्रलोभनमा पारेर उनीहरूलाई युएई लगेका थिए।

युएई लैजान उपाध्यायले प्रतिव्यक्ति ६ लाख रूपैयाँसम्म असुलेका थिए।

गत पुसमा धादिङको नीलकण्ठ नगरपालिकाका १९ जना भिजिट भिसामा युएई पुगेका थिए।

भिसाको समय सकिएपछि र रोजगारी नपाएर उनीहरू अलपत्र परे। नीलकण्ठ नगरपालिकाको सहयोगमा उनीहरूको उद्धार गरिएको थियो।  

गत वर्षबाट भिजिट भिसामा युएई गएर अलपत्र परेका ५ हजारभन्दा बढी नेपालीलाई युएईस्थित नेपाली दूतावासको पहलमा स्वदेश फर्काइएको थियो।

भिजिट भिसामा गएका ९० प्रतिशत नेपाली त्यही देशमै काम गर्दै बस्ने गरेको सरकारको तथ्यांकले देखाएको छ।

पर्यटन भिसामा गएका दक्ष व्यक्तिले रोजगारी पाउँछन् भने अदक्ष व्यक्ति समस्यामा परेर स्वदेश फर्किनुपर्ने श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए।

स्वदेश फर्काउन सरकारको पहल

सबैभन्दा बढी नेपाली भिजिट भिसामा युएई जाने गरेको सरकारको तथ्यांकले जनाएको छ। 

सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र नेपालीका समस्या समाधान गर्न पहल थालेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि युएईका राजदूत साइद हमदान अल-नाकीसँग यस विषयमा छलफल गरेका थिए।

म्यानपावर कम्पनी, कन्सल्टेन्सी, ट्राभल सञ्चालक, बिचौलिया तथा लामो समयदेखि युएईमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीले नै नक्कली मागपत्र बनाउनेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका थिए।

राजदूत साइदले युएई गएर समस्यामा परेका नेपालीको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

के हो भिजिट भिसा ?

विदेशमा रहेका कुनै आफन्त या यात्रामा जानु परे प्रयोग गरिने भिसा भिजिट भिसा हो।

देशअनुसार भिजिट भिसा फरक–फरक अवधिका लागि दिइने गरे पनि युएईले ३ महिनाका लागि दिन्छ।

भिजिट भिसाका लागि सबभन्दा महत्वपूर्ण दुईतर्फी हवाई टिकट र यात्रा गर्ने व्यक्तिसँग १ हजार अमेरिकी डलर हुनु अनिवार्य मानिन्छ।

कानुनअनुसार भिजिट भिसामा गएका कुनै पनि व्यक्तिले सम्बन्धित देशमा पुगेपछि आम्दानीमूलक काम गर्न पाउँदैनन्।

तर, युएई सरकारले कहिलेकाहीँ भिजिट भिसालाई वर्किङ भिसामा परिणत गर्ने सुविधा दिने गरेकाले दलालले सोही प्रावधानको फाइदा उठाएर नेपालीलाई ठगीरहेका छन्।

सेटिङ मिलाएर भिजिट भिसालाई वर्किङ भिसामा परिणत गर्न सफल भए समस्या नआउने तर त्यसो हुन नसके जानेले सास्ती खानु पर्छ।

पछिल्लो समयमा भिजिट भिसाबाट ठूलो संख्यामा नेपाली विदेश गइरहेका छन्।

तर, भिजिट भिसामा कति विदेशिए भन्ने एकिन तथ्याङ्क नभएको अध्यागमन विभागले जनाएको छ।

कुन प्रयोजनका लागि गएको र कहिले फर्कियो भन्ने  विवरण नहुने हुँदा समस्या भएको विभागका महानिर्देशक भट्टराईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.