|

काठमाडौं :  पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभनमा भिजिट भिसामा विदेशिनेको संख्या बढेको।

म्यानपावर व्यवसायी, एजेन्ट र दलालले आकर्षक तलब सुविधाको लोभमा पारेर धेरैलाई विदेश पठाउने र जानेहरू त्यहाँ अलपत्र पर्ने गरेका छन्।

तर, यसरी जाने कतिपयले भने भिजिट भिसालाई वर्किङ भिसामा परिणत गरी रोजगारीको वैधानिकता पाउने गरेका पनि छन्। 

सन् २०२१ मा २१ हजार नेपाली भिजिट भिसामा विदेश गएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगार कार्यालयले पनि भिजिट भिसामा विदेशमा जानेहरूमध्ये अधिकांश अलपत्र पर्ने गरेको र केहीले रोजगारीको वैधानिकता पाउने गरेको जनाएको छ।

भिजिट भिसामा गएकामध्ये ५ हजार ३ सय ९७ जनाले चालू आवको ६ महिनामा वैधानिकता प्राप्त गरेको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले जानकारी दिए।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति जारी भएका १ सय १६ श्रम गन्तव्यमध्ये युएईले त्यहाँ गएकामध्ये आधाभन्दा बढी नेपालीको गैरश्रमिक भिसालाई श्रमिक भिसामा परिणत गरी वैधानिकता दिएको छ। 

युएई गएकामध्ये ३ हजार २ सय ७९ जनाको गैरश्रमिक भिसालाई त्यहाँको सरकारले श्रमिक भिसामा परिणत गरेपछि उनीहरूले श्रम स्वीकृति लिएका छन्।

कतारमा ७ सय ८३ जनाको, कुवेतमा ८५ जनाको गैरश्रमिक भिसा श्रमिक भिसामा परिणत भएको कार्यालयले जनाएको छ।

भिजिट वा अन्य भिसामा विदेश गएर रोजगार अनुमति प्राप्त गरेपछि विभागबाट कानुनी रुपमा नै सो देशमा रोजगारीका लागि जान सकिने प्रावधान छ।

भिजिट भिसामा गएर रोजगारीका लागि वैधानिकता पाउनु पनि पुनः श्रम स्वीकृतिजस्तै हो।

पहिला भिजिट भिसामा विदेश गएकाले भिसा श्रमिक भिसामा परिणत भएपछि नेपालमा नै आएर वैधानिकता लिने गरेका छन्।

कार्यालयका अनुसार गएका दुई वर्षयता गैरश्रमिक भिसामा युएई गएर रोजगारीको अनुमति लिएर नेपाल आइ वैधानिकीकरण गरेर फेरि युएई जानेको संख्या अन्य देशको तुलनामा धेरै रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.