|

काठमाडौं : समयसँगै मानिसले अभिव्यक्तिका विभिन्न माध्यम आविष्कार गर्दै आएका छन्। चित्र, मूर्ति हुँदै अक्षर मानिसको अभिव्यक्तिको बलियो माध्यम बनेर आयो। 

मानिसहरू लेखेर आफ्ना भावना अभिव्यक्त गर्न थाले। आस्थाका कुरा, कसैको जीवनी, काल्पनिक कथा, जानकारीमूलक सामग्री सबै किताबको रूपमा वर्षौं बाँच्न थाले। 

हजारौँ वर्षपछि हामीले देखेका, भोगेका पलको एउटा सानो अंश जस्ताको तस्तै कैद गर्ने प्रविधि विकास भयो। जसलाई हामीले तस्वीर भन्यौँ। पछि तस्वीर चलाउने प्रविधिको विकास भयो। घटनाहरू भिडियोमा कैद हुन थाले। त्यसैमार्फत कथा पनि भन्न थालियो।

सोही प्रविधिबाट धेरै कालजयी फिल्म बने। जुन अहिलेको युगको सबैभन्दा बलियो अभिव्यक्तिको माध्यम बनेको छ। फिल्मले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न थालेको छ। 

विस्तारै अभिव्यक्तिका दुईवटा माध्यमको संयोजन हुन थाल्यो। लेखेर गरिएको अभिव्यक्तिलाई पुनः सिर्जना गरेर फिल्ममार्फत देखाउन थालियो। 

विन्स्टन ग्रुमको 'फरेस्ट गम्प', कोरम्याक म्याककर्थीको 'ट्‌वेल्भ इयर्स अफ स्लेभ', पेट्रिक सस्काइन्डको 'पर्फ्युम', जे. आर. आर. टल्किनको 'द लर्ड अफ द रिङ', सिल्भिया नसारको 'अ ब्युटिफुल माइन्ड', थोमस केनेलीको 'सिन्ड्लर्स आर्क', केन केइसीको 'वन फ्ल्यु ओभर द कुकुज नेस्ट', मारियो पुजोको 'गड फादर', डेनिस लेहानको 'सटर आइल्याण्ड' होस् या जेसिका ब्रडरको 'नोम्याडल्याण्डः सर्भाइभिङ अमेरिका इन द ट्‌वेन्टी फर्स्ट सेन्चुरी'मा आधारित फिल्म होस् सबै पुस्तकमा आधारित फिल्म हेर्नैपर्ने फिल्मको सूचीमा पर्छन्। 

यी लगायत सयौँ पुस्तकमा आधारित फिल्मले दर्जनौँ निर्देशक तथा कलाकारलाई मात्र स्थापित गरेका छैनन्, पुस्तकका लेखकलाई समेत अर्को उचाइमा पुर्‍याएका छन्।

तर नेपालमा भने अपवाद बाहेक कुनै पनि पुस्तकमा आधारित फिल्म अन्तरराष्ट्रियस्तरमा पुग्न सकेका छैनन्। अन्तरराष्ट्रियस्तरमा मात्र नभएर त्यस्ता फिल्म नेपालमै पनि असफल सावित भएका छन्। चाहे त्यो व्यावसायिक रूपमा होस्, चाहे समीक्षात्मक रूपमा। 

उसो त पुस्तक र फिल्म दुई फरक दुनियाँ हुन्। एउटा सर्जकले कथा, उपन्यास वा कुनै पनि कृति लेख्दा कल्पनाले भ्याए जति गहिरो र फराकिलो संसार बनाउन सक्छ। 

फिल्ममा धेरै सीमितता हुन्छ। एउटा निर्देशकले दिमागमा कुनै दृश्यको कल्पना गर्दा त्यो दृश्य देखाउन कत्तिको सम्भव छ भनेर सोच्नुपर्ने हुन्छ। तर, एउटा लेखकको कल्पना न आर्थिक अभावमा रोकिन्छ, न कुनै प्रविधिले फरक पार्छ, न त गुरुत्त्वाकर्षण बलले खुम्चाउन सक्छ।

एउटा लिखित सिर्जनालाई फिल्ममा ढाल्न सिर्जनाअनुसार फरक फरक चुनौतीको सामना गर्नुपर्छ। एउटा निर्देशकसँग आफूले देखाउन खोजेको दृश्य जस्ताको त्यस्तै देखाउन नसक्नुका पछाडि धेरै कारण हुन सक्छन्।

अझ नेपाल जस्तो विकासोन्मुख देशमा अर्थ र प्रविधि मुख्य चुनौतीको रूपमा आउँछन्। त्यसैले गर्दा पनि निर्माताहरू पुस्तकमा आधारित रहेर फिल्म बनाउन हच्किन्छन्।

​केही फिल्म बनेका छन् तर तीनले पूर्ण रूपमा पुस्तकलाई न्याय गर्न सकेका छैनन्। 

यहाँ तीनवटा नेपाली फिल्मको बारेमा जानकारी दिइएको छ जो प्रसिद्ध पुस्तकमा आधारित रहेर निर्माण भए तर ती फिल्मको अस्तित्व भने पुस्तकको नामले मात्र जोगायो। 

सेतो बाघ
वि.सं.२००६ मा पहिलो उपन्यास 'वसन्ती' सार्वजनिक भएको २४ वर्षपछि वि.सं.२०३० मा इतिहासविद् तथा उपन्यासकार डायमनशमशेर राणाले आफ्नो दोस्रो उपन्यास 'सेतो बाघ' लेखे। जसलाई अहिलेसम्मकै उत्कृष्ट नेपाली ऐतिहासिक उपन्यास मानिन्छ। 

आधा दर्जनभन्दा बढी उपन्यास लेखे पनि राणाको पहिचान 'सेतो बाघ' बन्यो। २०४२ सालको काण्डमा आधारित उपन्यास अंग्रेजी, जर्मन, फ्रेन्च, चिनियाँ, जापानी लगायतका भाषामा समेत अनुवाद भयो। 

राणाकालमा आफ्नै दाजुभाइबीच हुने शक्ति संघर्षको कथा रहेको उपन्यासमा आधारित रहेर निर शाहले फिल्म बनाए। जुन ऐतिहासिक विधामा फिल्म बनाउन गरिने एकदमै कम प्रयासमध्येको एउटा प्रयास मात्र सावित भयो।

त्यतिवेला नेपाली उद्योगका लागि ठूलो बजेट झण्डै एक करोडमा निर्माण भएको फिल्ममा ५० भन्दा बढी कलाकारको अभिनय रहेको छ। निर्माणअघि फिल्मको खुब चर्चा भयो तर फिल्मले चर्चाअनुसारको सफलता भने पाउन सकेन।

यद्यपि 'सेतो बाघ' उपन्यासमा आधारित फिल्म भएका कारण र इतिहासको जानकारीका लागि आज पनि दर्शक  'सेतो बाघ' फिल्म हेर्ने गर्छन्। 

'सेतो बाघ'लाई युट्युबमा झण्डै ३० लाख पटक हेरिएको छ। 

तीनघुम्ती
विश्वेश्वरप्रसाद कोइरालाका कालजयी कृतिमध्येको एक हो 'तीनघुम्ती'। वि.सं. २०२५ सालमा प्रकाशित उक्त कृति र पात्रका बारेमा आज पनि उत्तिकै चर्चा हुन्छ। 

उपन्यासकी मुख्य पात्र इन्द्रमायाको जीवनका महत्त्वपूर्ण तीन निर्णयलाई केन्द्रीय विषयवस्तु बनाएर लेखिएको उक्त उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको छ। उपन्यासकी पात्र इन्द्रमायालाई आजसम्म पनि नेपाली साहित्यको सबैभन्दा बोल्ड नारी पात्रहरूमा गनिन्छ। 

सोही कृतिमा आधारित रहेर बनाइएको फिल्म ६ वर्षअघि प्रदर्शनमा आएको थियो। बाबुराम ढकालको निर्देशनमा बनेको फिल्मले न व्यावसायिक रूपमा सफलता हात पार्न सक्यो न त समीक्षकबाट सकारात्मक प्रतिक्रिया नै पाउन सक्यो। 

उपन्यासमा चित्रित परिवेश निर्माण गर्न फिल्म असफल रह्यो। सँगै निर्देशन, अभिनय जस्ता कुरामा पनि प्रश्न उठ्यो। त्यतिमात्र नभएर फिल्मलाई उपन्यासको अपव्याख्या गरेको आरोप समेत लाग्यो।

समर लभ
सुविन भट्टराईको पहिलो उपन्यास समर लभ निकै चर्चित भयो। सर्वाधिक विक्री भएको पुस्तकमध्येमा पर्ने 'समर लभ' सुविनलाई लेखकको रूपमा स्थापित गर्ने कृति समेत हो। 

'समर लभ'को सफलतापछि सुविनका 'साया', 'मनसुन' र 'प्रिय सुफी' जस्ता उपन्यास पनि बजारमा आए। तीमध्ये 'साया' 'समर लभ'कै दोस्रो भाग हो। सुविनको समर लभ पुस्तकलाई नेपाली पठन संस्कृतिमा ट्रेन सेटरका रूपमा अर्थ्याउने गरिन्छ। 

तर, सोही पुस्तकमा आधारित फिल्म भने फ्लप सावित भयो। मुस्कान ढकालको निर्देशनमा बनेको फिल्म एक हप्ता पनि हलमा टिक्न सकेन। समीक्षकले फिल्ममा कास्टिङदेखि पटकथा, निर्देशन र अभिनय सबै पक्षमा कमजोरी देखाए। 

निर्माण टोलीले 'समर लभ'पछि यसको दोस्रो भाग सायामा पनि फिल्म बनाउने घोषणा गरेको थियो‚ जुन घोषणामै सीमित भयो। 

यी बाहेक पनि पुस्तकमा आधारित धेरै फिल्म छन् जो पुस्तकको लोकप्रियताले गर्दा मात्रै चर्चामा आए भने केही प्रयासबाट राम्रो नतिजा पनि आए जसको उदाहरणमा 'वासुदेव', 'झोला' लगायतका फिल्मलाई लिन सकिन्छ। 

एकदमै कम फिल्म बन्ने नेपाली फिल्म उद्योगमा पुस्तकमा आधारित रहेर फिल्म बनाउने प्रयास हुनु प्रशंसनीय काम हो तर जुन पुस्तकमा आधारित रहेर फिल्म बनेको छ‚ त्यसलाई न्याय नहुनु चाहिँ सर्जक र सिर्जनाका लागि दुःखको कुरा हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.