|

काठमाडाै‌ : वर्षौंदेखि जनवादी गीत,संगीत र कलाको माध्यमबाट कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ५ स्रस्टालाई सम्मान गरेको छ। नेकपाले जनवादी गायकहरु रायन श्रेष्ठ,जेवी टुहुरे,खुशीराम पाख्रिन,जीवन शर्मा र कवि पुर्णबिरामलाई खादा ओढाएर जनही २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्‍यो। 

सम्मान ग्रहण गर्दै राल्फा आन्दोलनका एक हस्ती रायन श्रेष्ठले आफु ओखलढुंगाबाट त्यतिबेलाको काठमाडौंमा गीत गाउनकै लागि आएको समय स्मरण गरे। उनले रामेश श्रेष्ठसँगै रेडियो नेपालमा गीत गाउन जाँदा उनले गाएको गीतलाई राजावादीहरुले फेर्न लगाएको संझना गरे।  उनले अरु कम्युनिष्ट पार्टी जस्तो विकृतिको दलदलमा नफसी आन्दोलनलाई अघि बढाउन नेकपालाई आग्रह गरे। 

'गाँउ-गाँउबाट उठ बस्ती-बस्तीबाट उठ' जस्ता लोकप्रिय र चर्चित गीत गाएका जनगायक रायनले ०१७ सालमा राजा महेन्द्रले 'कु' गरेर प्रजातन्त्रको हत्या गरेको र आफ्ना जनवादी गीतहरु सेन्सरमा परेको गुनासो गरे। उनले देशमा गणतन्त्र आइसक्दा पनि जनवादी गायकहरुको सडकमै रहेको गुनासो गरे। ' आजसम्म पनि म सेन्सरमै छु। यो देशमा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र नै आएपनि जनवादी गायकहरु सडकमै रहन्छन्। आज पनि जनताका गीतले रेडियो नेपाल र नेपालका टेलिभिजनहरुमा स्थान पाएका छैनन्,' उनले भने। 

उनले अहिलेका कम्युनिष्ट पार्टीहरु जिँउदो लाश जस्तै भएको आरोप लगाए। अर्का जनगायक जेवी टुहुरेले कम्युनिष्ट पार्टीहरुभित्र बलियो एकता हुने हो भने यो देशको मुहार परिवर्तन गर्न सकिने धारणा राखे। उनले 'जनता सबै देशलाई, देश-जनतालाई कोही पनि आफ्नो हुन्‍न भ्रष्टाचारीलाई ' बोलको गीत प्रस्तुत गरे।

अर्का जनगायक खुशीराम पाख्रिनले 'युवाहरु हो, यो देश तिम्रै हो, नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो' बोलको गीत प्रस्तुत गरे। माओवादी शान्तिप्रक्रियामा आएपछि आन्दोलन छिन्‍नभिन्‍न भएको उनको गुनासो थियो। उनले कलाकारको आँखामा अनिश्चित भविश्य देख्दा आफूलाई रुन मन लाग्‍ने बताए।

अर्का जनवादी गायक जीवन शर्माले पुरानो परम्परा तोडिएको र कलाकारलाई सम्मान गर्ने पार्टी पनि यो देशमा रहेछ भन्‍ने प्रमाणित भएको भन्दै खुसी व्यक्त गरे। शर्माले जनवादी सत्ता ल्याउनका लागि निरन्तर क्रान्तिमा लाग्‍न नेताहरुलाई सुझाव दिए। शर्माले 'सीमली छाँयामा'  बोलको गाउन थालेपछि हलमा ठुलै हुटिङ सुरु भयो।

त्यसपछि एकैपटक कवि पूर्णविरामले जोशिलो आवाजमा 'अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ' शीर्षकको कविता सुनाए। उनको कविता सुनेपछि हलमा उपस्थितहरु स्तब्ध बनेका थिए। 
 

विप्लवले के भने? 
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट आन्दोलनमा लागेर सांस्कृतिक क्षेत्रबाट योगदान गरेका योद्धालाई आन्दोलन सफल भएपछि सडकमा छोडिदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। उनले भने ,'उहाँहरु कम्युनिष्ट आन्दोलनको धरोहर हो, पार्टीको संकीर्ण घेराभन्दा माथि उठेर उहाँहरुको सम्मान हुनुपर्छ।'

क्रान्ति र परिवर्तनका लागि सिंगो जीवन समर्पित गरेका कलाकारहरुलाई राज्यले उचित सम्मान दिन नसकेको उनले बताए। उनले कलाकारहरुको उचित सम्मानको दायित्व आफ्नो काँधमा आएको बताए।  

महासचिव विप्लवले आन्दोलन हुँदासम्म आर्थिक हिसाबले समान हैसियतमा रहेता पनि आन्दोलन सफल भएपछि नेता मालिक बन्‍ने र कायकर्ताहरु आफ्नो गुजारा चलाउनका लागि नेताको दैलो चाहार्नुपर्ने अवस्था कम्युनिष्ट आन्दोलन विचलनको भद्धा स्वरुप भएको तर्क गरे। 

अहिलेको सरकार र नेताहरु विदेशी इशारामा चलेको आरोप लगाउँदै नेता विप्लवले स्थानिय तह निर्वाचनले देशका समस्याहरु समाधान गर्न नसक्ने जिकिर गरे। बेरोजगारी, वेथिति र असमानताको अन्त्य नहुँदासम्म यो देशको समस्या समाधान नहुने भन्दै उनले एकीकृत क्रान्तिको वकालत गरे।

आफूहरु कम्युनिष्ट आदर्श र नैतिक मुल्य मान्यता सहितको राजनीति गर्न खोजिरहे पनि सत्ता र शक्तिको आडमा आफ्नो पार्टीमाथि दमन भइरहेको उनको गुनासो छ। शक्ति र अहंकार प्रदर्शन गर्दै आफूहरुमाथि दमन भइरहे बन्दुक बोकेर मुकाविला गर्न तयार रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.