|

टिकटकमा ७० वर्षीया एक आमा अहिले भाइरल छिन्। उनले विभिन्न गीतमा खुलेर नाचेको दृश्य साँच्चै लोभलाग्दो लाग्छ। केही समयअघि (सायद) बिबिसीले ती आमाको कथा लेखेको थियो। आफ्नो भिडियो चौतर्फी भाइरल भएपछि उनी खुसी छिन्।

उनले आफूलाई बच्चैदेखि नाच्न खुबै मन पर्ने भए पनि बाल्यकालमा भएको विवाह, त्यसपछि कर्मघरको काम, बच्चाको लालनपालन, समाजको लाजले गर्दा  खुलेर कहिल्यै नाच्न नपाएको दुखेसो पोखेकी थिइन्।

उमेरको उतरार्द्धमा भने उनले आफूलाई रोक्न सकिनन्। उनी बेफिक्रीसाथ नाच्छिन्। उनको अनुहारमा देखिने सन्तुष्टिको रङ देख्दा स्वयं इन्द्रेणी पनि लोभिँदो हो।

दिनकै चुलो र चौकाभन्दा बाहिर निस्किन नपाउने ती आमा जस्तै धेरै दिदी-बहिनीहरूले आफ्नो भान्साकोठालाई रंगमञ्च बनाएका छन्। आफ्नो कलामार्फत लाखौँ भ्युज र प्रशंसक कमाएका छन्। टिकटक नहुँदो हो त उनीहरूको आफ्नो क्षमता भान्साकोठामा नै सीमित हुन्थ्यो। ती आमाको जीवन जस्तै।  

त्यसबेला ती आमालाई नाच्नका लागि खुला गरिदिएको भए उनको क्षमता संसारले देख्थ्यो। विडम्बना समाजको बन्धनमा परेर उनको क्षमता कतै विलीन भयो।

१५ सेकेन्डको डायलगमा हजारौँले फरक-फरक तरिकाले अभिनय गर्न सक्दा रहेछन्।  यति मात्र होइन एउटा गीतमा पनि सयौँले फरक-फरक तरिकाले कोरियो  दिन सक्छन्। एउटा गीत अनेक नाच। टिकटक हेर्दै गर्दा म मान्छेको क्षमता देखेर चकित हुन्छु।

टिकटक बनाउन रहर लागेर पनि ढंग नपुग्नेले कोसिस गरिरहेका छन्। आफ्ना फोटोमा अडियो जोड्ने हामी जस्ता मनुवाहरू पनि टिकटकमा देखिन्छन्।

अलिकति ढंग मलाई पनि हुँदो हो त भन्दै मोबाइल स्क्रोल गरिबस्छु। टिकटक हेर्दै जाँदा मोबाइल यति धेरै स्क्रोल गरिँदो रहेछ कि हिसाब गर्ने हो भने दिनको कम्तीमा दुई चार किलोमिटरको यात्रा ँलाले गर्छ।

अचेल टिकटकमा के भेटिँदैन? घरका व्यथादेखि परदेशका पीडासम्म, प्रेम प्रस्तावदेखि विछोडसम्म, करेसाबारीदेखि शौचालयसम्म। जन्मिँदै गरेको बच्चाको आवागमनको प्रतीक्षामा रहेका परिवारको खुसीदेखि आफ्ना दु:खहरू यसमै छन्।

मान्छेले आफ्नो हाँसो, खुसी, पीडा, आँसु, मिलन र विछोड पनि टिकटकमा छताछुल्ल छ। टिकटक नहुँदो हो त मान्छे कति गुम्सिँदो हो। धन्न खुलेर बाँच्न पाएको छ मान्छे। समय निकालेर आफूलाई हलुका बनाएकै छ।

कोही आफ्ना भावना समित शब्दमा उत्कृष्ट तरिकाले उतारिदिन्छन्। मलाई उनीहरूका भावना कुनै बौद्धिक लेखकले लेख्ने वाक्य संरचनाभन्दा सुन्दर लाग्छन्।

गायनमा अब्बल रहे पनि आफ्नो बन्द कोठाभन्दा बाहिर निस्किन नपाएका कतिपय गायक गायिका पनि टिकटक लाइभमा गीत सुनाइरहेका छन्।

अभिनयमा पोख्त कलाकारहरू यता टिकटकमा व्यस्त छन्। कलाको सामान्य ज्ञान नहुनेको जमात चलचित्रमा आएर चलचित्रकै हुर्मत त लिइरहेका छैनन्? जस्तो सोच्न थाल्छु। मन हो! केके सोचिन्छ, सोचिन्छ।

मान्छेहरूले आफ्नो भिडियोलाई भाइरल बनाउनकै लागि गर्ने हर्कत पनि समय सुहाउँदो छ। समय र प्रविधिले सहज बनाएपछि यसलाई उपयोग किन नगर्ने? चर्चा र प्रसिद्धि कसलाई मन पर्दैन? के तपाईंलाई कसैले मलाई चिनिदेओस् भन्ने लोभ लाग्दैन? यो लेख पढिरहनु भएका व्यक्तिले छातीमा हात राखेर भन्नुस्- लाग्दैन भन्नुहुन्छ भने तपाईं आदर्श फ्याँकिरहनु भएको छ।

ठन्डा पानी पिउनुस्।

आफ्नो अभिनयको क्षमता देखाउन १५ सेकेन्ड नै काफी भएपछि मान्छेलाई अरू के चाहियो? अभिनयको भोकले मुम्बईमा २३ वर्ष संघर्ष गरेका संजय मिश्रले टिकटक हेर्दा के सोच्दा हुन्?

टिकटकमा अभिनय गर्न जान्नेले पनि भिडियो बनाएकै छन्। नजान्नेले पनि बनाएकै छन्। लाइक, कमेन्ट र सेयर गनेर खुसी छन्। मान्छेका आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगार भन्ने सामान्य सिद्धान्त छ। अब भने लाइक,कमेन्ट र सेयर पनि थप्ने बेला भएको छ।

मान्छेले सन्तुष्टि लाइक कमेन्ट सेयरमा भेट्टाउन थालेको छ। भिडियोमा सयौ वा हजारौँको भ्युजमा पनि मान्छेले सन्तुष्टि भेटेको छ। ठिकै छ सन्तुष्टिभन्दा के छर ठूलो यो दुनियाँमा?

टिकटकमा मान्छेले केबल मनोरञ्जन मात्र भेट्टाइरहेको छैन। टिकटकमा आफ्नो क्षमता देखाएरै करिअर निर्माण गरेका छन्। कसैले आफ्नो प्रोडक्टको विज्ञापन पनि गरेका छन्। गीतका सर्जकले आफ्ना गीत, मोडलले आफ्ना नाच, पत्रकारले आफ्नो समाचार, फोटोग्राफरले आफ्ना फोटाट्याटु हाउसले आफ्नो पसल, किसानले आफ्नो उत्पादन आदि आदि भिडियोमार्फत...।

अहिले चर्चामा रहेको अर्को कुरा चाहिँ टिकटकमार्फत डलरको खेती। नेपालीहरूले यसलाई ठेट भाषामा चाहिँ भिख मागेको भन्दा रहेछन्।

कसैले प्रविधिलाई प्रयोग गरेर घर व्यवहार चलाउँछ भने यो त झन गज्जबको कुरा हो। यदि कुनै कलाकारले कोरोनाको यो संकटमा स्टेज कार्यक्रममा गएर जोखिम मोल्नुभन्दा टिकटकमा बसेर गीत गाउँछ र कुनै दर्शकले मन पराएर दुई चारवटा गिफ्ट दिन्छ भने के आपत्ति? भौतिक रूपमा पनि धेरै कलाकारलाई उनीहरूका प्रशंसकले गिफ्ट दिइरहेको हामीले पढिरहेका छौँ।

स्टेज कार्यक्रम पनि कुनै कलाकारले नि:शुल्क गाउने पक्कै होइन। त्यहाँ पनि दर्शक पैसा तिरेर मनोरञ्जन लिन्छन्। कसैले जोक सुनाएर पनि गिफ्ट पाइरहेका छन् (जोक भन्ने कि आफू जोकर हुने भन्ने कुरा अर्को हो)।

 टिकटकमा फलोअर्स बढाइदिने खेल खेलाउँदा रहेछन्। कसैलाई सानो रकम दिएर आफ्ना फ्यान बढाउन गिफ्ट दिन्छ भने के फरक पर्‍यो? भलै यसको फलोअर्स जोगाउने कुरा उनीहरूको आफ्नो व्यक्तिगत कुरा हो।

डलर तिरेर आफ्ना उत्पादन भाइरल गर्ने जमानामा कसैले चस्मा गिफ्ट गरेर फलोअर्स बढाउँछ भने तेस्रो पक्षले टाउको किन बजार्नुपर्‍यो? सामाजिक सञ्जालले हामीलाई बिगार्‍यो पनि भनिरहेका छौँ। तर, कसैले यसैलाई प्रयोग गरेर दुई चार रुपैयाँ कमायो भने पनि कुरा काट्न छोड्दैनौँ। हामी नेपालीलाई चाहिएको के? कहिलेकाहीँ सोचिल्याउँदा दिमागको पारो यत्तिकै पनि बढ्छ।

पैसाका लागि हत्या, अपहरण तथा शरीर बन्धकका घटना बढिरहेको छ। कम्तीमा अहिले टिकटकमा डलर कमाउन लागि परिरहेका व्यक्तिले पैसाकै लागि कुनै अपराध गरेका छैनन्। हाललाई यसमा नै खुसी हुनुस्। माग्ने कुरामा कति गिर्ने र कति उत्रने भन्ने कुरा तीनै व्यक्तिको अधिकारको कुरा हो। दिने खुसी छ, लिनेले घरबार चलाइरहेको छ भने हामी तमासा हेर्नेको टाउको किन दुख्‍नुपर्‍यो?

पढ्दै जाँदा यो ब्लग टिकटकको पक्षपोषण  भइरहेको जस्तो लाग्न सक्छ। सामाजिक सञ्जाल मैले चलाउने कि, सामाजिक सञ्जालले मलाई चलाउने भन्नेबारे सचेत चाहिँ हुनुपर्छ। सामाजिक सञ्‍जाल यसै पनि मल्टिनेसनल बजार हो। यसका आफ्नै सकारात्मक र नकारात्मक पक्ष हुन्छन्। एकबारको जुनीमा कति नकारात्मक कुरा खोजी बस्नु?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.