|

काठमाडौं : सरकारी तथ्यांकले नेपालमा गत पुस २१ देखि कोरोनाको संक्रमण फेरि बढेको देखाए पनि माघको तेस्रो साता शुरु हुँदा घट्न थालेको छ।

पुस २० गतेसम्म २ सयको आसपासमा रहेको संक्रमितको संख्या २१ गतेदेखि दोब्बरले दैनिक रुपमा ह्वात्तै बढ्दै गएको थियो।

यससँग देशमा कोरोनाको तेस्रो लहर शुरु भएको मानिएको थियो।

पुस तेस्रो साता बढ्दै गएको संक्रमितको संख्या माघ १२ गतेदेखि भने केही घट्न थालेको छ।

माघ ६ गते एकैदिन १२ हजार ३ सय ३८ जना संक्रमित भेटिएका थिए। त्यस दिन २७ हजार ४ सय ९७ जनाको परीक्षण भएको थियो।

कोरोना संक्रमितको यो संख्या नेपालमा कोरोना संक्रमण महामारी सुरु भएयताकै उच्च हो।

यस्तै माघ १२ गते ८ हजार ४ सय ५४ जना, १३ गते ८ हजार १७ जना, १४ गते ६ हजार ८ सय २७ जना, १५ गते ४ हजार ९ सय ४ जना र माघ १६ गते ३ हजार ५ सय ४० संक्रमित थपिए।

तथ्यांकले हाल नेपालमा दैनिक संक्रमितको संख्या केही दिनयता ८ हजारभन्दा मुनि नै रहेको देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले यो साता संक्रमण दर ४ प्रतिशतले कमी भएपनि साताभरिको संक्रमणदर ४० प्रतिशतभन्दा माथि नै रहेको बताएकी छन्।

‘यो साता संक्रमणदरमा ४ प्रतिशतले कमी आए पनि हाम्रोमा संक्रमणदर अझै ४० प्रतिशतभन्दा माथि नै छ,’ उनले भनिन्।

के तेस्रो लहर टरेकै हो त?

पछिल्ला केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम भने अझै कायमै रहेको प्रवक्ता डा मिश्राको भनाइ छ।

यता मन्त्रालयकै व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्र मरासिनीका अनुसार   परीक्षण गर्दा पुष्टि भएकाभन्दा धेरै संक्रमित समुदायमा रहेको छन्।

'समुदायमा जति संक्रमण छ, त्यसअनुसार परीक्षण भएको छैन,' उनले भने।

अस्पतालमा जाने संक्रमितको संख्या घट्न थाल्यो

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा जस्तो उपचारका लागि अस्पताल जाने संक्रमितको संख्या अहिले छैन। 

माघ पहिलो साता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६/७ जना कोरोना संक्रमित उपचारका लागि जाने गरेकोमा दुई/तीन दिनयता यो संख्या अझै घटेको अस्पतालले जनाएको छ।

अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीले केही दिनयता दैनिक २/३ जनाभन्दा बढी संक्रमित उपचारमा नआएको बताए।

'यो पटक सुरु देखि नै उपचारमा आउने संख्या एकदमै थोरै थियो, माघको पहिलो साता एक/दुई दिन ६/७ जना आएका थिए तर अहिले त दैनिक उपचारमा आउने संख्या अझै थोरै छ,’ उनले भने।

ओमिक्रोन छिटो फैलिने र त्यहीअनुसार नै छिटो तल झरेको विदेशतिर देखिएको हुँदा विस्तारै संक्रमण ओरालो लागेको हुन पनि सक्ने भण्डारीले बताए।

पछिल्ला केही दिनयता छिमेकी देश भारतमा पनि कोरोना संक्रमितको संख्या विस्तारै घट्दै गइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.