|

पर्सा : सीमापारिबाट उज्यालो हुनासाथ साइकलमा फलफूल लिएर सीमावारि नेपाली बजार वीरगन्जमा आउने र यहाँका फलफूल व्यवसायीको वर्तमान खासै सन्तोषजनक छैन।

चिसो मौसम र कोरोना कहरले फलफूल बिक्रीमा मन्दी छाएपछि उनीहरूको वर्तमान खासै सन्तोषजनक नभएको हो।

ग्राहकसँग अहिले गर्मी सिजनमा झैं टाठो भएर उनीहरु अलि बोल्दैनन्। बरु सकेसम्म भाउ मिलाएर दिन खोज्छन्। वीरगन्जको माईस्थान मन्दिर अगाडि लस्करै फलफूल बिक्री गर्न बसेका सीमावारि– पारिका फलफूल व्यवसायीको दिनचर्या अहिले लामो समय ग्राहक कुर्नमै बितेको छ। 

दुवैतर्फका व्यवसायीको उपस्थिति

साइकलमा फलफूल बेच्न बस्ने व्यवसायीहरु पहिले स्थानीय थिएनन्। प्रायः अधिकांश सीमापारिबाटै आएका फलफूल व्यवसायीको बोलवाला थियो। तर, ८-१० वर्षयता भने वीरगन्ज बजारमा नेपाल तर्फका पनि केही व्यवसायी साइकलमा फलफूल लिएर बेच्न थालेको स्थानीयले बताए। पहिले जाडो वा गर्मी सिजनमा बिक्री ८-१० केजीको मात्र फरक पर्ने सीमापारिबाट साइकलमा फलफूल बेच्न वीरगन्ज आएका पुराना व्यापारीमध्ये एकले बताए। पटना छेउ घर बताउने उनले नाम बताउन चाहेनन्। 

सिजन अनुसारको फलफूल बिक्री गर्न पारिबाट आउने मात्र नभई वीरगन्ज क्षेत्रकै पनि ठेला र साइकलमा फलफूल बेच्ने व्यवसायीको अहिले बिक्री घटेको छ। ‘चिसो मौसम र कोरोनाको कारण सबै मानिस फलफूल खरिद गर्न आउँदैनन्’ साइकलमा फलफूल बेच्न बसेका दिलजीत कुमारले भने। ‘पहिले दैनिक ४०-५० केजीसम्म बिक्री हुन्थ्यो। अहिले १० देखि १५ केजीसम्म मुस्किलले बिक्री हुन्छ’ वीरगन्जको माईस्थान चोकमा साइकलमा फलफूल राखेर बसेका उनको भनाइ छ।

सुरुमा निकै खुलेर कुरा गरेका उनले नाम सोधेपछि आफू केही दिनको लागि मात्र बेच्न बसेको भनी कुरा बंग्याउन थाले। अलि अगाडिको अर्को साइकलतर्फ स्थानीय पत्रकार सन्तोष मिश्रले देखाउँदै, ‘त्यो तपाईको बुबा होइन?’ भनी सोध्दा हो भन्दै उनी नतमस्तक भए। दिलजीतका बाबु वर्षौंदेखि साइकलमा फलफूल राखी बिक्री गर्ने पुराना व्यापारी हुन्।

परिवारको खर्च टार्न मुस्किल

उता, वीरगन्जको घण्टाघर छेउ बिपी उद्यान र मीना बजारमा साइकल र ठेलामा फलफूल बिक्री गर्दै आएका अन्य फलफूल व्यवसायीले पनि हिउँदको सिजनमा राम्रो व्यापार नभएको बताए।

‘अहिले त परिवारको खर्च चलाउन नै धौ–धौ पर्छ’ बिपी उद्यानमा भेटिएका सिकेन्दर प्रसादले भने, 'बिक्री राम्रो भएपछि अहिलेको घरायसी खर्चको सर–सापटी मिलाउनुपर्छ' उनले बताए।

घाम लाग्न थालेपछि भने दैनिक बिक्री बढ्ने र आफूहरुलाई घरायसी खर्च चलाउन खासै गाह्रो नहुने उनको भनाइ छ।

मनलाग्दी साइकल राख्‍न नपाउने

आर्थिक नगरी वीरगन्जको मुटु माईस्थान चोक र मन्दिर आसपासमा पहिले भारतबाट साइकलमा फलफूल लिएर आएका फलफूल व्यवसायी जताततै बस्थे। अहिले भने ट्राफिक प्रहरीले जहाँ पायो त्यही बस्न नदिँदा अलि सचेत भएर बस्न थालेका छन्। पहिले वीरगन्जको घण्टाघर, आदर्शनगर, बिर्ता बजार लगायतका ठाउँमा पनि पारिकै व्यापारीको बाहुल्यता थियो। अहिले भने नेपालीहरू पनि व्यवसाय गर्न थालेका छन् स्थानीय मुना गुप्ताले भने।

वीरगन्ज मात्र नभई सीमावारि नेपाली बजारमा साइकलमा फलफूल तथा ठेलामा चटपटे, पानीपुडी, समौसा, बदाम, बतासा लगायतका खाद्य सामग्री बेच्ने व्यवसायी पनि अधिकांश नेपाली नभएको वीरगन्जको घण्टाघरमा भेटिएका खुसीलाल चौधरीले बताए। अहिले यस्ता प्रायः सबै व्यवसायी नेपाली भएका छन्।

फलफूलको व्यवसाय चाहिँ चिसो र कोरोनाको कारण अहिले निकै कमी भएको फलफूल किन्न आएका उनले पनि तर्क गरे। हुन त अरू व्यवसाय पनि राम्रो त छैन। तर, फलफूलको चाहिँ चिसोले झन् नचलेको हुन सक्ने चौधरीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.