|
तस्वीर सौजन्य : महानगरीय अपराध महाशाखाको फेसबुक पेज

काठमाडौं : सरकार र वैदेशिक रोजगारदाता कम्पनीले कोभिड-१९ संक्रमण नियन्त्रण गर्न लागू गरेको नीति नियम केही गैह्रजिम्मेवार निजी अस्पतालका लागि नेपाली ठग्ने धन्दा बनेको छ। 

वैदेशिक रोजगारीमा जाने नेपालीले ४८ घण्टाभित्र कोरोना परीक्षण गरेको नेगेटिभ पिसिआर रिपोर्ट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागमा देखाउनुपर्छ।

तर, सरकारी नियमको धज्जी उडाउँदै र स्वास्थ्यमा पर्ने गम्भीर प्रभावको बेवास्ता गरेर काठमाडौं र भक्तपुरका २ वटा निजी अस्पतालले स्वाब संकलन र परीक्षण नै नगरि नेगेटिभ पिसिआर रिपोर्ट दिएको प्रहरीले फेला पारेको छ। 

नेपाल प्रहरीको अपराध महाशाखाले अनुसन्धानपछि नक्कली पिसिआर रिपोर्ट बनाउने ती दुई अस्पतालका ४ जना कर्मचारी प्रक्राउ गरेको छ।

यससँगै भक्तपुरको मध्यपुर थिमिस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिमा यस्तो आपराधिक क्रियाकलाप भइरहेको खुलासा भएको हो। 

व्यक्तिको स्वाब संकलन र परीक्षण नगरि पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने तीनकुनेस्थित कान्तिपुर र थिमिस्थित नागरिक अस्पताल राष्ट्रिय प्रयोगशाला र प्रहरीको टोलीले तालाबन्दी गरेको छ।

बिचौलिया, अस्पताल व्यवस्थापन र कर्मचारीको मिलेमतोमा स्वाब संकलन र परीक्षण नै नगरि नेगेटिभ पिसिआर रिपोर्ट बनाएर नागरिकको स्वास्थ्यमाथि नै खेलबाड गरिरहेको पाइएको हो।

दुवै अस्पतालले कोरोना महामारीको दोस्रो लहरका वेला पनि उपचारमा आएका बिरामीलाई थला पर्ने गरि कुस्त रकम असुलेका थिए। 

अहिले प्रतिव्यक्ति ८ देखि १८ हजार रूपैयाँसम्म असुलेर दुवै अस्पतालले पिसिआर रिपोर्ट बेचेको महानगरीय अपराध महाशाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।

ल्याब सञ्चालकद्वय र ल्याब चिकित्सक फरार

स्वाब संकलन र परीक्षणबिनै नेगेटिभ रिपोर्ट दिने तथा कोरोना पोजेटिभ रिपोर्टलाई समेत नेगेटिभ बनाउने कान्तिपुर र नागरिक अस्पतालका ४ जना ल्याब कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। 

नक्कली रिपोर्टसहित मंगलबार छुट्टाछुट्टै पक्राउ परेका उनीहरूलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा हाल ललितपुर ग्वार्को बस्ने धनुषा विदेह नगरपालिका-४ का २५ वर्षीय रोसनकुमार छिट्टान, हाल काठमाडौं गौशाला बस्ने छिरेश्वर नगरपालिका-१ का वर्षका २५ को नागेन्द्र यादव छन्। 

यस्तै, प्रहरीले हाल भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-५ का वर्षका २९ का माधव मैनाली र हाल भक्तपुर कौशलटार बस्ने सर्लाही बलरा नगरपालिका-७ का २४ वर्षीय नागरिक हस्पतालका ल्याब प्रबन्धक प्रसन्नकुमार झालाई पक्राउ गरेको छ।

नक्कली पिसिआर रिपोर्ट बनाउन संलग्न दुवै अस्पतालका ल्याब सञ्चालक भावेश मिश्र र निर्मल गिरी भने फरार रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए। 

‘यीबाहेक अन्य पनि संलग्न रहेको आशंका छ,’ प्रहरी प्रवक्ता उपरीक्षक कोइरालाले भने, ‘रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरूको पनि खोजी भइरहेको छ। रिपोर्ट बनाउन दिनेहरू पनि दोषी पाइए कानुनबमोजिम कारबाही हुन्छ।’

अपराधमा संलग्नहरू पक्राउ परे पनि ती दुई अस्पतालले बेचेका यस्ता नक्कली पिसिआर रिपोर्टको यकीन तथ्यांक नभएको र अनुसन्धानकै क्रममा रहेको जानकारी कोइरालाले दिए। 

प्रहरीले दुवै अस्पतालबाट पिसिआर रिपोर्ट छाप्न प्रयोग भएको कम्प्युटर मनिटर १ थान, सिपियू ३ थान र ल्यापटप १ थान बरामद गरेको छ। 

साथै प्रहरीले पिसिआर दर्ता रजिस्टरहरू, नक्कली पिसिआर रिपोर्टहरू, नगद बुझेका रसिद प्याडहरू र मोबाइल ५ थानसमेत बरामद गरेको छ।

अपराधी पक्राउ गर्न प्रहरीको यस्तो जुक्ति

केही दिनअगाडि काठमाडौंमा विदेश जानेहरूको स्वाब संकलन नगरी कुस्त रकम लिएर पिसिआर रिपोर्ट दिएको गोप्य सूचना प्रहरीमा पुग्यो।

सूचनाकै आधारमा प्रहरीले अनुसन्धान शुरु गर्‍यो। 

अनुसन्धान क्रममा तीनकुनेस्थित कान्तिपुर अस्पताल र थिमिस्थित नागरिक अस्पतालका ल्याबमा ललितपुर ग्वार्को बस्ने बिचौलिया रोशनकुमार छिट्टानमार्फत नक्कली रिपोर्ट बनाउने पत्ता लागेको उपरीक्षक कोइरालाले जानकारी दिए। 

प्रहरीले विभिन्न गोप्य स्रोतमार्फत वैदेशिक रोजगारीमा जान लागेका एक व्यक्तिको पासपोर्ट बिचौलिया रोशनमार्फत् अस्पतालमा पठाए। तर,  वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिलाई पठाएनन्।

यसरी पासपोर्ट मात्र पठाउँदा पनि अस्पतालले पिसिआर रिपोर्ट नेगेटिभ बनाएर दियो। त्यो नक्कली रिपोर्टका लागि प्रहरीले बिचौलियालाई ८ हजार रूपैयाँ बुझाएको थियो। 

यसपछि प्रहरीले फेरि दुवै अस्पतालमा ४र५ वटा पासपोर्ट बिचौलियामार्फत पठायो। ती सबैको पनि रिपोर्ट नेगेटिभ नै बनाएर दुवै अस्पतालले दिएको उपरीक्षक कोइरालाले बताए। 

लगत्तै नेपाल प्रहरी र टेकु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको संयुक्त टोलीले नागरिक अस्पताल र कान्तिपुर अस्पतालको ल्याबमा छापा मार्‍यो। 

फिल्मी शैलीमा पटक-पटक प्रहरीले गरेको छड्के पत्तो नपाएका दुवै अस्पतालका ४ जना ल्याब कर्मचारी अन्ततः मंगलबार पक्राउ परे। उनीहरु अहिले थुनामा रहेको प्रहरीले जनाएको छ।

उनीहरूले सम्बन्धित व्यक्तिको स्वाब र परीक्षणबिनै पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने, ल्याबका विशेषज्ञ चिकित्सकहरूले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्तारक्षर प्रयोग गर्न दिने, पिसिआर रिपोर्ट पोजेटिभ देखिएकालाई पनि रिपोर्टको मिति तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यस्तै, बिचौलियाले आफ्नै स्वाब लगि ल्याबमा दिएर विभिन्न व्यक्तिका नाममा रिपोर्ट बनाइदिने, विदेश जानेहरूलाई नक्कली रिपोर्ट बनाइदिएर मोटो रकम असुल गर्ने गरेको प्रहरीले जनाएको छ।

क्युआर कोडबाट स्क्यान गरेर हेर्न मिल्ने गरी उनीहरूले सक्कलीजस्तै रिपोर्ट बनाउने गरेको महाशाखाका प्रवक्ता उपरीक्षक कोइरालाले बताए। 

उपरीक्षक कोइरालाका अनुसार खाडी मुलुक जानेहरूसँग थोरै रकम र अष्ट्रेलिया, युरोप जानेहरूसँग उनीहरूले १८ हजार रूपैयाँसम्म लिएको पुष्टि भएको छ। 

‘यसमा को(को संलग्न छन्रु कतिले नक्कली रिपोर्ट लिए त्यो यकिन छैन,’ उनले भने, ‘यो प्रारम्भिक अनुसन्धान हो, विस्तृत अनुसन्धानबाट सबै खुल्छ।’

प्रहरीका अनुसार नक्कली रिपोर्ट बनाउन लगाउनेहरूको भने पहिचान खुलेको छैन।

पर्खाइ प्रशासनको कडा अनुगमनको

यस्ता किसिमका गैह्रजिम्मेवार र आपराधिक गतिविधिले जिल्ला कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्रको भूमिकामाथि नै गम्भीर चुनौती थपिएको छ। 

तर, कोरोना संक्रमण नियन्त्रण गर्न अनेक आदेश जारी गरेको प्रशासनको फितलो अनुगमन र निगरानीले जनस्वास्थ्यमा गम्भीर खेलबाड भएको आरोप जिल्ला हाँक्ने प्रशासक स्वीकार्दैनन्। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अनुगमन भएकै कारण यो घटना बाहिरिएको बताए।

‘निगरानी गरिराखेकै छौं हामीले। बदमासी गर्नेहरूले बदमासी गर्न नसक्ने भन्ने भएन, हामीले सकेसम्म बदमासी हुन नपाओस् भनेर अनुगमन गरिरहेका छौं,’ फितलो अनुगमन र निगरानीबारे उनले भने, ‘कुनै एक घटनामा कसैले बदमासी गर्यो  भन्दैमा डिसिसिएमसी नै प्रभावकारी भएन भन्ने होइन।’

अझै पनि गलत गतिविधि गरिरहेको आशंकामा केही व्यक्ति र संस्था निगरानीमा रहेको प्रजिअ रिजालले बताए। 

जनस्वास्थ्यजस्तो संवेदनशील विषयको बेवास्ता गर्दै ठगी धन्दामा लागेका यी दुई अस्पताल त यस्ता घटनाका प्रतिनिधि पात्र मात्र हुन्।

यस्ता ठगी धन्दा चलाइरहेकाहरूलाई कानुनी दायरामा ल्याउन प्रशासनले प्रभावकारी अनुगमन गर्ने हो, हेर्न बाँकी नै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.