|

धनकुटा : साउदी अरबमा रहेका श्रीमान् रामकुमार लिम्बूसँग हरेक दिनजसो विष्णुमायाले कुरा गर्थिन्। विष्णुमायालाई फोनमार्फत सुखदुःख रामकुमारसँग साट्ने बानी परिसकेको थियो।

बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो विष्णुमायाको परिवारमा।

विसं २०६० सालमा साउदी अरब उडेका छथर जोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार लिम्बू छुट्टीका वेला घर आउजाउ गरिरहन्थे।

पोहोर साल घर आउने कुरा थियो तर कोरोना महामारीले गर्दा उनी आउन पाएका थिएनन्।

सधैँजस्तै गत असोज २६ गते पनि विष्णुमायालाई साउदी अरबबाट फोन आयो तर त्यो फोन रामकुमारको थिएन। रामकुमारको मृत्युको खबर सुनाउने युवराज कार्कीको फोन थियो।

रामकुमारको मृत्युको खबरले विष्णुमायाको जीवनमा कहालीलाग्दो पहिरो गयो। मृत्युको खबर पाएकी विष्णुमायाको आँखा ओभाएका छैनन्।

उनी विगत १८ वर्षदेखि साउदीस्थित ‘आइद दाहिम अल हमाद एन्ड पार्टनर्स ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनी’मा लेबर काम गर्दै आइरहेका थिए। बाटोमा लेबर काम गर्ने क्रममा गाडी आउँदा गाडीलाई साइड दिने क्रममा पुलबाट झर्दा उनी गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा मृत्यु भएको कुरा साउदीमा नै रहेका उनका साथी युवराज कार्कीले फोनमार्फत आफूलाई जानकारी गराएको मृतककी श्रीमती लिम्बुले बताइन्।

‘मृत्यु हुनुभन्दा एक हप्ताअघि भिडियो कलमा फोन गरेर निको भएर चाँडै घर फर्किन्छु भन्नु भएको थियो’, गहभरि आँसु पार्दै उनले भनिन्, ‘त्यसको एक हप्तापछि एक्कासी मृत्युको खबर सुन्नु पर्‍यो। लोग्नेको मृत्युको खबर सुन्दा सपना जस्तै लागेको छ।’

विदेशमा श्रीमान् बितेको चार महिना बितिसक्दा पनि शव नआएपछि विष्णुमाया अहिले चिन्तामा छिन्। साउदी अरबमा मृत्यु भएका आफ्ना श्रीमान्को शव नेपाल ल्याउन पहल गरिदिन सरकारसमक्ष अनुरोध गरेकी छिन्।

मृतकका श्रीमती र १४ वर्षका एक छोरा छन्। छोराको नाम रविन लिम्बू हो। उनीहरू अहिले मोरङको सुन्दरहरैचा–६ गछियामा सुकुम्बासी जग्गामा बस्दै आइरहेका छन्। जीविकोपार्जनका लागि गछिया खोलामा बालुवा चाल्ने काम गर्दै आइरहेको मृतककी श्रीमतीले बताइन्।

मृतकका साढु दाइ कमलकुमार राईले गत कात्तिकमा शव नेपाल ल्याइदिन वैदेशिक रोजगार बोर्डको सचिवालयलाई निवेदन दिएका थिए।

उनका अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले गत कात्तिक ८ गते नेपाली राजदूतावास रियाद, साउदी अरबलाई पत्र काटेर रामकुमार लिम्बूको शव नेपाल पठाउन आवश्यक सहयोगका लागि अनुरोध समेत गरेको बताए।

साउदीबाट शव आउन ६ देखि ८ महिना समय लाग्ने र शव आउनुभन्दा २४ घण्टाअघि परिवारलाई खबर आउने जानकारी बोर्डले आफूहरूलाई गराएको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.