|

सन् २०२२ मा कोरोना भाइरसका विभिन्न स्वरूपको पछिल्लो अवतार ओमिक्रोन समेतको संकटका कारण थलिएको वैश्विक अर्थतन्त्रमा तात्विक सुधार कसरी होला? यस प्रश्नको उत्तर त कोरोना भाइरससँग मात्रै पो छ कि?

पहिले भाइरसको प्रकृति बुझ्ने प्रयास गरौँ। हरेक जीव आफ्ना शाखा-सन्तान फैलाउन चाहन्छ, भाइरस पनि सोही चाहन्छ। भाइरसहरू बदलिँदो वातावरणसँगै आफू पनि बदलिन सक्छन्। भ्याक्सिनहरूको विकास हुँदै जाँदा तिनीहरूलाई नियन्त्रण गर्न अलि सजिलो हुँदै जान्छ। जीव वैज्ञानिकहरू के पनि मान्यता राख्दछन् भने भाइरसहरू धेरै कडा, ज्यानमारा प्रकृतिका हुने हो भने त तिनीहरूकै अस्तित्व पनि समाप्त हुन्छ।

ज्यानमारा भाइरसहरू नियन्त्रण गर्न कडा बन्दाबन्दी लागू गर्नुपर्ने हुन्छ। सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ। यसको स्पष्ट अर्थ हो आफ्नो छोटो जीवनचक्रका क्रममा भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना कम हुँदै जान्छ।

होस्ट अर्थात् आश्रयदाता नपाएपछि भाइरसहरू थुक, सिँगान जस्ता शरीरबाट निसृत हुने तरल र अर्ध तरल पदार्थमार्फत एक व्यक्तिबाट अर्कोमा फैलिने सम्भावना ज्यादै कम हुने हुँदा सन्तानले डाँडाकाँडा ढाकेको देख्नै नपाई मर्छन्।   

भारतको ‘संबृद्धि’ बाट फाइदा उठाउने किसिमका जति हावा गफ गरे पनि त्यस्तो संवृद्धिबाट फाइदा उठाउन आवश्यक संस्थागत क्षमता हामीसँग छैन। छिमेकी देश भारत र चिन धनी हुँदा हामी पनि धनी हुन्छौँ भनी मान्ने हो भने त हामीले यतिखेर सम्बृद्धिको सगरमाथामा राष्ट्रिय झण्डा गाडिसकेका हुन्थ्यौँ।

सामान्य रूघाखोकीको भाइरस पनि कोरोना भाइरस परिवारकै भाइरस हो। स्पेनी फ्लुको बेलादेखि नै यो भाइरस सक्रिय छ। यो क्रमश: कमजोर हुँदै गइरहेको छ। तर‚ पनि यसले हामीलाई दुःख दिन त छोडेको छैन।

नेचर पत्रिकामा प्रकाशित दि इवोल्युशन अभ सिजनल फ्लु वाइरसेज शीर्षकको लेखमा वेलिस्लावा एन पेट्रोवा र कलिन ए रसल लेख्छन्स् मौसमी फ्लु भाइरसहरूले बर्सेनि मानव जनसंख्याको ५-१५% लाई संक्रमित पार्छन्। जसका कारण विश्वभर करिब ५ लाख व्यक्तिको मृत्यु हुन्छ।

पेट्रोवा र रसलले मौसमी फ्लु भाइरसहरू निरन्तर उत्परिवर्तित भइरहन्छन्। यसै कारण अघिल्लो संक्रमण वा खोप अभियानमार्फत विकसित रोग प्रतिरोधक क्षमताको यी भाइरसहरूमाथि असर हुँदैन भनेर थपे। हो, यही कारण प्रत्येक वर्ष मौसमी फ्लुका प्रकोपहरू दोहोरिइरहन्छन्। प्रत्यक्ष सम्पर्क, स्वास-प्रश्वासका क्रममा निस्कने थुकका छिटा र फोमाइटसमार्फत यी भाइरसहरू एक व्यक्तिबाट अर्कोमा सर्दै जान्छन्।

भ्याक्सिनहरू मौसमी फ्लुको प्रकोप रोक्न प्रभावकारी छन्। तर‚ उत्परिवर्तित भइरहने भाइरसहरूसँग जुझ्न ती भ्याक्सिनहरूलाई नियमित रूपमा अपडेट गरिरहनुपर्छ। मौसमी फ्लुको कारण प्रत्येक वर्ष मानव जीवनको ठूलो क्षति हुने गरेको तथ्यांक प्रस्तुत गरियो। यसले वैश्विक अर्थतन्त्रमा पनि ठूलै क्षति पुर्‍याउने गरेको स्पष्टै छ।

अब कोरोना भाइरस महामारीका कारण वैश्विक अर्थतन्त्रमा परेको असरबारे थोरै चर्चा गरौँ। बिबिसीको अनलाइनमा प्रकाशित कोरोना भाइरसस् हाउ द प्यान्डेमिक ह्याज चेञ्ज्ड द वर्ल्ड इकोनमी शीर्षकको लेखमा लोरा जन्स, ड्यानियली पालुम्बो र डेविड ब्राउन लेख्छन् ‘कोरोना भाइरस महामारी विश्वका प्रत्येकजसो देशमा फैलिइसकेको छ।‘

जन्स, पालुम्बो र ब्राउन लेख्छन्- स्टक बजारहरूमा कम्पनीहरूका शेयरहरूको खरिद तथा बिक्री गर्ने गरिन्छ। यी बजारहरूमा ठूला परिवर्तनहरू हुँदा शेयरहरूको मूल्यमा तलमाथि हुँदा निवृत्तिभरण तथा व्यक्तिगत बचत खाताहरूमा असर पर्न सक्छ।

कोरोना भाइरस संकटका शुरूका महिनाहरूमा कोरोना भाइरस संक्रमण बढ्दै गर्दा एफटिएसइ, डाओ जन्स इन्डस्ट्रियल तथा निक्की (अन्तर्राष्ट्रिय शेयर बजारहरू) को मूल्य धेरै घटेर गयो। कोरोना भाइरसविरुद्धको पहिलो खोपको घोषणा भएसँगै मुख्य एसियाली तथा अमेरिकी स्टकहरू तंग्रिएका छन्। तर‚ एफटिएसइ अझै पनि ऋणात्मक क्षेत्रमै छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका तथ्यांकहरू पेश गर्दै उनीहरूले लेखेका छन्: सन २०१९-२० मा सबै मुख्य अर्थतन्त्रहरूमा बेरोजगारीको दर बढेको छ। यसै गरी सन् २०१९-२०२० मा अधिकांश देशहरू आर्थिक मन्दीले ग्रस्त रहेको मुद्रा कोषका तथ्यांकहरूले पनि देखाएका छन्।

उक्त लेखमा उल्लेख छ- सन् २०२० मा चीनमा मात्र त्यस्तो मुख्य अर्थतन्त्र रह्यो‚ जसले आर्थिक वृद्धि हासिल गर्न सक्यो। त्यस वर्ष चीनको आर्थिक वृद्धि २.३ प्रतिशत रह्यो। सन् २०२१ मा ५.२५ को वैश्विक आर्थिक वृद्धि हुने प्रक्षेपण मुद्रा कोषले गरेको छ।

तर‚ यो वृद्धि समान नहुने निश्चित छ। भारत र चीनजस्ता देशहरूका कारण यो आर्थिक वृद्धि भएको देखिनेछ। स्मरणीय छ, २०२१ मा भारत र चीनको आर्थिक वृद्धि क्रमश: ८.८ र ८.२५ हुने प्रक्षेपण मुद्रा कोषले गरेको छ।

आतिथेय (हस्पिटालिटी) उद्योग, पर्यटन, भ्रमण, किनमेल आदि जस्ता जीवनका धेरै क्षेत्रहरूलाई यस महामारीले नकारात्मक असर पारेको छ। तर‚ भ्याक्सिन उत्पादनमा संलग्न औषधि कम्पनीहरू भने मालामाल भएका छन्।

लेखका अनुसार मोडर्ना, नोभाभ्याक्स तथा अस्ट्राजेनेकाको शेयर मूल्यमा वृद्धि भएको छ। तर‚ फाइजरको शेयर मूल्य भने घटेको छ। सरकारहरूले कोभिड भ्याक्सिन तथा उपचारका अन्य विकल्पहरूका लागि ठूलो रकम गर्दा त्यसको प्रत्यक्ष फाइदा औषधि र भ्याक्सिन निर्माता कम्पनीहरूलाई भएको छ।

महामारी फैलिँदै गर्दा सरकारहरू यससँग जुझ्न लकडाउनका नयाँ कदमहरू लागू गर्दैछन् भने राष्ट्रिय अर्थतन्त्रहरू र व्यवसायहरू क्षतिको आँकलन गर्दैछन्। सन् २०२२ मा यस महामारीले मात्रै होइन, अन्य विविध संकटहरूले समेत विश्व अर्थतन्त्रमा असर पार्ने देखिँदैछ।

यस वर्षको सुरूमै रूस र युक्रेनबीच विवाद चुलिएको छ। यस विवादमा अमेरिका र बेलायतलगायतका पश्चिमा देशहरू रूसविरुद्ध मोर्चाबन्दी गर्दैछन्। विवाद लम्बिँदै र गहिरिँदै गयो भने रूसबाट युरोपमा र अन्य देशहरूमा हुने तेल तथा ग्यासको निर्यात प्रभावित हुनेछ। रूसलाई तह लगाउन अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनले आर्थिक नाकाबन्दी लगायो भने त्यसको असर विश्व अर्थतन्त्रमा पर्ने नै छ।

पेट्रोलियम पदार्थको निर्यातकर्ता खाडी क्षेत्र अहिले पनि अशान्त छ। यमनका हुथी विद्रोहीहरूले संयुक्त अरब इमिरेट्समा आक्रमण गरिरहेका छन्। इमिरेट्स यसै गरी अशान्त रहने हो भने पेट्रोलियम पदार्थको उत्पादन तथा निर्यात थप प्रभावित हुने निश्चित नै छ। मुलत: ग्यास, डिजल, पेट्रोल तथा हवाई इन्धनको बलमा सञ्चालित विश्व अर्थतन्त्रमा यसको गम्भीर असर पर्ने देखिन्छ।

त्यसमाथि हाम्रो छिमेक भारत‚ पाकिस्तान र चीनको सम्बन्ध पनि शान्त छैन। लद्दाख, कश्मीरलगायतका सीमा विवादले कुरूप मोड लिने सम्भावना छँदैछ। विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतबीच अशान्ति कायम रहिरहे वा युद्ध नै भयो भने त्यसको असर वैश्विक अर्थतन्त्रमा पर्ने नै छ। भारत-पाकिस्तान सम्बन्ध बिग्रँदै गयो भने पनि कम्तिमा पनि दक्षिण एसियाली उपमहाद्वीपमा ठूलै असर पर्नेछ।

यसै गरी महाशक्ति हुन लालायित आर्थिक शक्ति चीन एउटा पूर्ण आँधीको सामना गर्दैछ भनिँदैछ। रियल स्टेट संकट (एवरग्रान्ड), पेट्रोलियम पदार्थहरूको अभाव, मूल्यवृद्धिको सम्भावना, महामारी नियन्त्रण गर्नका लागि प्रयोग गरिने लकडाउनलगायतका उपायहरूका कारण चीनको अर्थतन्त्रमा मात्रै प्रभाव पार्ने छैन‚ विश्व अर्थतन्त्रलाई नै यसले गम्भीर असर पार्ने देखिन्छ। ताइवानसँगको विवाद चुलिँदै गयो भने रूस, अमेरिका, बेलायत, जापानलगायतका अन्तर्राष्ट्रिय शक्तिहरू एक वा अर्को पक्षको समर्थनमा उभिने सम्भावना छ।

अफगानिस्तान संकटका कारण भोकमरी जन्य परिस्थितिका कारण लाखौँ नागरिक विस्थापित हुँदैछन्। यसको असर भारतसँग खुला सीमामार्फत जोडिएका नेपालजस्ता कमजोर देशहरूमा बढी नै पर्ने देखिन्छ। सीमा नजोडिएको भए पनि म्यानमारलगायत देशहरूबाट विस्थापितहरूको व्यवस्थापन गर्न बाध्य, कोरोना संकटका बेला आफ्नै जनतालाई सुरक्षित राख्न संघर्ष गरिरहेको बेला नेपालको अवस्था के होला?

खुशीको कुरा के भने हाम्रोमा कुशल नीति निर्माताहरू, विषयविदहरू, योजनाविद्हरूको कमी छैन। राजनीतिक इच्छाशक्तिको कमी छैन। विगतका अनुभवहरूले पूर्वतयारीमा कमी भएको तथा कामभन्दा गफ धेरै हुने गरेको भने देखाएका छन्।

स्मरणीय के छ भने अफगानिस्तानमा मात्रै खाद्य संकटग्रस्त छैन। विश्वभर नै खाद्य पदार्थहरूको मूल्यवृद्धि भइरहेको छ अनि यसविरूद्ध प्रदर्शनहरू भइरहेका छन्। नेपालमै पनि महामारीका बेला रोजगारी गुमाएकाहरू खाना माग्दै टोलटोल भौँतारिएको हामीले देखेकै हौं।

नेपालसँग खुला सीमा जोडिएको भारतमा महामारीले कुन रूप लेला? भारतमा महामारी भयावह रूपमा फैलियो भने नेपालको खैरियत छैन भन्ने बुझे हुन्छ।

भारतको ‘संमृद्धि’बाट फाइदा उठाउने किसिमका जति हावा गफ गरे पनि त्यस्तो संमृद्धिबाट फाइदा उठाउन आवश्यक संस्थागत क्षमता हामीसँग छैन। छिमेकी देश भारत र चीन धनी हुँदा हामी पनि धनी हुन्छौँ भनी मान्ने हो भने त हामीले यतिखेर संमृद्धिको सगरमाथामा राष्ट्रिय झण्डा गाडिसकेका हुन्थ्यौँ।

संस्थागत क्षमता नहुँदा संमृद्धिबाट फाइदा उठाउन नसके पनि छिमेकी संकटमा पर्दा आफू पनि संकटमा आकण्ठ डुब्न बाध्य हुनुपर्दो रहेछ भन्ने त महामारीले नै देखाएको छ। भारतमा महामारी चरमचुलीमा पुगेको १५ दिनदेखि १ महिनाभित्र नेपालमा पनि महामारी चरमचुलीमा पुग्ने गरेको हालका ट्रेन्डहरूले, तथ्यांकहरूले देखाएका छन्।

महामारी नियन्त्रण गर्न विश्वभर लकडाउन, सटडाउन लगाइँदा विप्रेषणमा निर्भर नेपालजस्त देशहरूमा विप्रेषण प्रवाहमा थप असर पर्ने सम्भावना छँदैछ। उल्लिखित संकटहरूका कारण सन् २०२२ मा वैश्विक अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने देखिन्छ। नेपालजस्ता अनौपचारिकताको बाहुल्य भएको संकटापन्न, अस्थिर अर्थतन्त्रमा छिमेकमा वा समग्र विश्वमा देखिएका संकटको गम्भीर असर पर्न सक्छ।

खुशीको कुरा के भने हाम्रोमा कुशल नीति निर्माता, विषयविद्, योजनाविद्हरूको कमी छैन। राजनीतिक इच्छाशक्तिको कमी छैन। विगतका अनुभवहरूले पूर्वतयारीमा कमी भएको तथा कामभन्दा गफ धेरै हुने गरेको भने देखाएका छन्। जे होस्, उहाँहरूको विज्ञता, तत्परता तथा तयारी आसन्न संकटहरूसँग जुझ्नका लागि पर्याप्त हुने नै छ भन्ने आशा गरौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.