|

जुम्ला : चिसोले कठाङ्ग्रिएर जुम्लामा दुईजनाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका- ७ वारा गाउँका ४२ वर्षीय मुन रावत र तातोपानी-८ की ३७ वर्षीया देवी शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले रावतको गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र देवीको सेतो चिनी कोर्न जाँदा वडा नम्बर ८ इमिल्चामा मृत्यु भएको जानकारी दिए।

तातोपानी-८ मा करिब ५५ जना मानिस हिउँमा फसेको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए। उनले हिउँमा फसेकाहरू जडीबुटी (खिरौलो) कोर्न गएका सर्वसाधारण भएको भन्ने खबर आए पनि यकिन नभएको बताए।

‘वडाध्यक्षसँग समन्वय भइरहेको छ‚’ उनले भने‚ ‘हिउँमा फसेकाहरु ऐडी ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका खबर प्राप्त भएको छ।’

प्रहरी नायब उपरीक्षक चन्दले पनि हराएको भन्ने खबर पाएपछि बुझ्दा ओडारमा बसेको खबर प्राप्त भएका बताए। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले पनि सर्वसाधारण हिउँ फसेको खबर प्राप्त भएकाले हेलिकोप्टरबाट खाद्यान्न पठाउने तयारी भइरहेको बताइन्।

‘हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था छैन‚’ प्रजिअ प्रसाईंले भनिन्‚ ‘उनीहरू सकुसल भएकाले खाद्यान्नको  पुर्‍याउने तयारी भइरहेको छ।’

नेपाली सेनाको नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले सुर्खेतबाट हेलिकोप्टर आउने र खाद्यान्न लिएर त्यस क्षेत्रतिर लाग्ने तयारी भएरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.